एक हप्तामा ३ लाख ६८ हजार जरिवाना !



काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गत हप्ताको (६ दिनमा) काठमाडौं, ललितपुर र भक्तपुरको विभिन्न व्यवसायीलाई ३ लाख ६८ हजार जरिवाना गरेको छ ।

व्यवसायीहरूले सरकारले तोकेको ऐन विपरित व्यापार गरेको, तोकेको मूल्यभन्दा बढी मूल्यमा वस्तु बिक्री गरेको र म्याद सकिएको खाद्यवस्तु बिक्रीलगायत अन्य विभिन्न कार्यमा संलग्नबाट उक्त जरिवाना गरिएको विभागले जनाएको छ ।

विभागले दैनिक बजार अनुगमन गर्ने गर्दछ । अनुगमन गर्दा व्यवसायीहरूले नियम विपरित कार्य गरेमा सिधै कारवाहीको दायरामा ल्याएको विभागको भनाइ छ । विभागले दैनिक रुपमा बजार अनुगमन गर्दा ६÷७ वटा व्यवसायीलाई कारवाहीको दायरामा ल्याई जरिवाना गरेको विभागले जनाएको छ ।

विभागका अनुसार सेवाग्राही, विभिन्न निकायका कर्मचारी र विभागको सिस्टममा आएको गुनासोलाई पहिलो प्राथमिकताको आधारमा अनुगमन गर्दै आएको छ । साथै, गुनासो नभएता पनि दैनिक रुपमा बजार अनुगमन गर्ने गरेको विभागले जनाएको छ ।

कुन दिनमा कति व्यवसायीलाई जरिवाना

विभागले तिहारपछि गत मंसिर ४ गतेबाट अनुगमन शुरू गरेको थियो । उक्त दिनमा पनि धेरै व्यवसायी कारवाहीमा परेका थिए । त्यसैगरी, मंसिरको दोस्रो साताको पहिलो दिनमै विभागले २१ वटा स्टोर तथा पसलमा अनुगमन गरेको थियो ।

जसमा विभागले ऐन विपरित व्यापार गर्दै आएको व्यवसायीलाई ५ हजारदेखि ५० हजारसम्म जरिवाना गरेको छ । विभागको तथ्याङ्क अनुसार गत आइतबार ८ वटा व्यवसायीलाई कारवाहीको दायरामा ल्याई १ लाख ११ हजार जरिवाना गरेको छ ।

कारवाही पर्नेमा ललितपुरस्थित रहेको नाइन पि एम स्टोरलाई ५० हजार, पी आर एम स्टोर, कालिका प्रोभिजन स्टोर र मेवल नेपाल प्रालिलाई १०÷१० हजार, महालक्ष्मी मिनि मार्टलाई २० हजार, न्यू त्रि मूर्ति सप्लायर्स फर्मलाई १ हजार र कृतिका एण्ड प्रशन्न स्टोर र अल्पेस लिक्वायर्स सपलाई ५÷५ हजार रुपैयाँ गरि उक्त दिनमै १ लाख ११ हजार जरिवाना गरेको छ ।

त्यसैगरी सोमबार विभागको अनुगमनबाट ९ व्यवसायीबाट ८७ हजार रुपैयाँ जरिवाना गरी कारबाहीको दायरामा ल्याएको छ । जसमा स्काई मार्ट सपिङ्ग सेन्टर प्रालिलाई १० हजार, ब्रदर्श स्टोर, मणीराम सेंजुको किराना पसल र बुद्ध खाद्यान्न स्टोरलाई ५÷५ हजार रुपैयाँ जरिवाना गरेको छ । त्यस्तै, शेखर ल्विकेयर सपलाई २ हजार, पाल्पाली स्टोर र सेल्वेज क्यास एण्ड क्यारी प्रालिलाई २०÷२० हजारका साथै हाम्रो सनराइज ट्रेडर्स र डि एल स्टोरलाई १०÷१० हजार जरिवाना गरेको छ ।

त्यसैगरी मंगलबार १८ वटा स्टोर अनुगमन गर्दा ७ व्यवसायीलाई ८५ हजार जरिवाना गरेको छ । जसमा भक्तपुरस्थित रहेको अनिल स्टोर, सप्लायर्स फर्म, हेम स्टोर, सुमिना टु किराना पसल छोरीको पसललाई ५÷५ हजार जरिवाना गरेको छ । त्यस्तै भेराइटी लिक्विड स्टोरलाई ५० हजार र शिवदती डेरी एण्ड गाई फार्मलाई १० हजार जरिवाना गरेको विभागको तथ्याङ्कमा उल्लेख गरेको छ ।

त्यसैगरी, दैनिक रुपमा गर्दै आएको अनुगमनबाट अन्य दिनमा झै बुधबार १३ वटा स्टोरमा अनुगमन गर्दा ९ वटा व्यवसायीलाई ५÷५ हजारको दरले जरिवाना गरेको छ ।

त्यस्तै, बिहीबार १३ वटा हार्डवेयर पसल र एउटा खाद्य किराना पसल गरी १४ वटा स्टोरमा अनुगमन गर्दा खाद्य स्टोरलाई १० हजार जरिवाना गरेको छ ।

साथै, मंसिरको दोस्रो साताको अन्तिम दिन शुक्रबार १३ वटा स्टोरमा अनुगमन गर्दा ३ जना स्टोरका व्यवासायीलाई १०÷१० हजारको दरले ३० हजार जरिवाना गरेको छ । उक्त दिन जरिवाना परेकोमा भक्तपुरस्थित रहेको श्री शिवम् फार्मेसी, च्यामासिंह मेडिकल हल, जगाती लिक्वयरल्यान्ड रहेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

करिब ३० हजारको खाद्य वस्तु नष्ट
त्यसैगरी विभागले गएको एक हप्ताको अवधिमा अनुगमनबाट करिब ३० हजार रुपैयाँ बराबरको खाद्य वस्तु नष्ट गरेको छ । विभागले अनुगमनको क्रममा म्याद सकिएको वा खाना अयोग्य खाद्य वस्तुलाई विभिन्न व्यवसायीको स्टोरलाई तत्काल नष्ट गर्न निर्देशन दिई २९ हजार ९ सय २२ रुपैयाँको खाद्य वस्तु नष्ट गरेको विभागको तथ्याङ्कले उल्लेख गरेको छ ।

जसमा गत मंसिर ७ गते ३ वटा व्यवसायीबाट २३ हजार १७ रुपैयाँको खाद्य वस्तु नष्ट गरिएको छ । त्यस्तै, मंसिर ८ गते ३ हजार ४ सय १० रुपैयाँ, मंसिर ९ गते ५ सय ६५ रुपैयाँ, मंसिर १० गते २ हजार ९ सय ३० रुपैयाँको खाद्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।

दैनिक चार टोली अनुगमनमा
नेपालीहरूको महान चाडपर्वमा दैनिक ७, ८ टोली बजार अनुगमन खटिएकोमा हाल भने ४ टोली मात्रै बजार अनुगमनमा खटिएको विभागका निर्देशक एवम् प्रवक्ता शिवराज सेढाईले जानकारी दिए । उनका अनुसार उक्त खटिएको टोलीले दैनिक रुपमा ३,४ वटा स्टोर तथा पसलमा अनुगमन गर्ने गरेको बताए ।

विभागबाट अनुगमन गर्नको लागि ११ बजेतिर बाहिर निस्कन्छन् भने ३ बजेतिर कार्यालय आउने गरेको उनले जानकारी दिए । साथै, पछिल्लो समय विभागले भक्तपुर तथा ललितपुरमा पनि तीब्र रुपमा अनुगमन शुरू गरेको उनी बताउँछन् ।

‘विगतका दिनमा धेरैजसो काठमाडौं र ललितपुरमा मात्रै बढी अनुगमन गर्ने गरेको थियो,’ उनले क्लिकमानडूसँग भने, ‘तर, पछिल्लो समय उपत्यकाको तीन वटै जिल्लामा उपस्थिति जनाएर अनुगमन भइरहेको छ ।’

साथै, विभागले फरक–फरक प्रकृतिका पसलहरूमा अनुगमन गर्दै ऐन विपरित व्यापार गरेमा कारवाहीको दायरामा ल्याउने उनको भनाइ छ ।


क्लिकमान्डु