नेपाल र भारत दुबैलाई एक अर्कोको सहयोग चाहिन्छः भारतीय विदेश सचिव श्रृंगला



काठमाडौं । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले नेपाल र भारत एकजुट भएर विकासका लागि लाग्नु पर्ने बताएका छन् ।

शुक्रबार राजधानीमा एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्सले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारत र नेपाल क्लैले काम गर्न गाह्रो हुने र यसका लागि दुबै देशका लागि एकअर्काको सहकार्य जरुरी भएको बताए ।

उनले भारतीय बजार नेपालका लागि जहिले पनि खुला रहेको भन्दै दुबै देशबीच सहकार्यको वातावरण हुनुपर्नेमा जोड दिए ।

सम्बोधनका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिएको ‘सबका साथ सबका विकास’ र प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को लक्ष्य एउटै भएको समेत बताए । त्यसैले सरकारले लिएको लक्ष्य पूरा गर्नका लागि पनि सबै एकजुट हुनुपर्ने बताए ।

नेपाल र भारतबीचको सम्बन्ध सुमधुर भएको बताउँदै भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृंगलाले दुई देशबीचको सम्बन्ध सहकार्यमुखी हुनुपर्ने बताए ।

उनले गत वर्षदेखि मोतिहारी–अमलेखगञ्जबीच शुरु भएको पेट्रोलियम पाइपलाइनका कारण ८० करोड नेपाली रुपैयाँ बचेको समेत उनले बताए । उनले जयनगर–कुर्ता रेलमार्गमा छिट्टै यातायात शुरु हुने समेत विश्वास व्यक्त गरे ।

श्रृंगलाले नेपालमा भूकम्प गएको समयमा सबैभन्दा शुरुमा भारतले सहयोग गरेको र भूकम्पबाट ध्वस्त भएको पूर्वाधार निर्माणमा पनि ठूलो सहयोग गरेको स्मरण गरे । उनले कोरोना भाइरसको महामारीबाट बच्नका लागि पनि दुई देश मिलेर लड्नुपर्ने बताए । उनले भारतमा कोरोना

भाइरसविरुद्धको भाइरस उपलब्ध भएसँगै नेपालमा पनि त्यो सहयोग उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

उनले सम्बोधनका क्रममा पर्यावरण, सामाजिक संरचना, डिजिटल बैंकिङसम्मका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।


क्लिकमान्डु