साढे ७२ करोड खर्चेर भैंसेपाटीमा यस्तो बन्दैछ प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास



काठमाडौं । ललितपुरको भैंसीपाटिस्थित सैंबु आवास क्षेत्रमा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालय निर्माण भइरकेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका अनुसार २०७६ असोज २७ गते केसी समानान्ततर जेभीसँग आयोजनाको ठेक्का सम्झौता भएको थियो । अहिले आयोजनाको निर्माणको भौतिक प्रगति ३० प्रतिशत भएको छ ।

२७ रोपनी १२ आना जग्गाको क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनको लागत ७२ करोड ४७ लाख ९४ हजार रुपैयाँमा रहेको छ ।

ठेक्का सम्झौता भएको दुई वर्षभित्र आयोजनाको निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

निर्माणाधीन आवास क्षेत्रको मास्टर प्लान अनुसारको प्रदेश प्रमुख/मुख्य मन्त्रीको जग्गाको क्षेत्रफलमा बगैंचा, पोखरी, पार्किङ क्षेत्रलगायत हरियाली क्षेत्र बन्ने भएको छ । जसमा भीआइपी कोलोनीका लागि २७ रोपनी १२ आना जग्गामा १७ रोपनी ७ आनामा भवन (६२ प्रतिशत, ५ रोपनीमा आन्तरिक सडक (१८ प्रतिशत) ८ आनामा बगैंचा र पोखरी (१.८ प्रतिशत) र ४ रोपनी १२ आनामा पार्किङ्ग तथा हरियाली क्षेत्र (१७.११ प्रतिशत) रहने छ ।

सात वटा ब्लक

आवास क्षेत्रमा ७ वटा ब्लक बनाइने विभागले जनाएको छ । त्यसैगरी प्रत्येक ब्लकमा दुईवटा भवन हुनेछ । एउटा मुख्यमन्त्रीको र अर्को प्रदेश प्रमुखका लागि हुनेछ ।

विभागकाअनुसार १४ कोलोनी रहेको भवन सुविधासम्म हुने छ । त्यस्तै, परिसरभित्र प्रवेश गर्न सुरक्षा निकायलाई विशेष ध्यान दिइएको विभागको भनाइ छ ।

साथै, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बन्ने सबै भवन साढे दुई तल्लाको हुनेछ ।

निर्माण भइरहेको प्रत्येक मन्त्री निवासमा विभिन्न प्रयोजनका कोठाहरू हुनेछन् । जसमा भुईँतल्लामा प्रतिक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रदेश प्रमुखको कार्यालय र २५ जना क्षमताको बैठक हल हुनेछ । त्

यस्तै, पहिलो तल्लामा बैठक कक्ष, मुख्यमन्त्री वा प्रदेश प्रमुखको सुत्ने कोठासहित तीन कोठा र तेस्रो तल्लामा भान्साकोठा, पाहुना कोठा, परिवाका सदस्य सुत्ने कोठा र पूजा कोठा हुनेछन् ।

गत वर्षदेखि शुरु भएको आयोजनाका हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ भने १९ प्रतिशत आर्थिक प्रगति भएको शहरी आयोजनाले जनाएको छ ।


क्लिकमान्डु