चन्द्र ढकालले पनि मलाई नै सहयोग गर्नुहुन्छ, त्यसैले मेरो जित सुनिश्चित छः सौरभ ज्योति



उद्योगी व्यवसायीहरुको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४औं साधारणसभा यही मंसिर ११,१२ र १३ गते काठमाडौंमा हुँदैछ । साधारणसभाले अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई विधानअनुसार स्वतः अध्यक्ष चयन गर्दैछ । त्यसैले अहिलेको निर्वाचनको केन्द्रविन्दूमा बरिष्ठ उपाध्यक्ष रहेको छ ।

भावी अध्यक्ष गोल्छाले आफ्नो भनेको बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर प्रधानको टिमबाट देशकै पूरानो र ठूलोमध्येको एक व्यावसायिक घराना ज्योति समूहका सञ्चालक सौरभ ज्योति एसोसियटतर्फकोा उपाध्यक्ष पदमा चुनावी मैदानमा उत्रिएका छन् । एसोसियट उपाध्यक्षका उम्मेद्धार ज्योति सर्वसहमतिमा नेतृत्व चयन हुनुपर्ने धारणा राख्छन् । यसअघि उनले एसोसियट उपाध्यक्षमा चन्द्र ढकाललाई छाडेका थिए । तर अहिले ढकाल र ज्योति फरक फरक प्यानलमा छन् । ढकालको प्यानलबाट ज्योतिका प्रतिस्पर्धी छन् रामचन्द्र संघई । तैपनि बरिष्ठ उपाध्यक्षका उम्मेद्धार ढकालले चुनावमा आफूलाई सहयोग गर्नेमा ज्योति विश्वस्त छन् । 

यसबीचमा सर्वसहमतिका प्रयासहरु पनि भइरहेका छन् । अहिलेसम्म सहमति हुन नसक्नुको कारण के हो ? र, चुनावै भयो भने जित्नका लागि के कस्ता रणनीति अपनाएर अघि बढेका छन् । चुनाव जितेपछि के कस्ता काम गर्ने ठोस योजना छ ? यस्तै विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि पुष्प दुलाल र कमलकुमार बस्नेतले ज्योतिसँग गरेको कुराकानीः

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन अत्यन्तै नजिक आइसकेको छ । तपाईं एसोसिएटतर्फको उपाध्यक्षको उम्मेदवार हुनुहुन्छ । तयारी कस्तो छ ?

चुनाव आउन अब केही दिनमात्रै बाँकी छ । त्यसैले तयारी अन्तिम अवस्थामा छ । चुनावी दौरानमा मैले उम्मेदवारी घोषणा गरेको झण्डै ३ वर्षअघि हो । त्यसैले यो तयारी केही दिन वा केही महिनाको मात्रै होइन । ३ वर्ष लामो तयारी हो ।

हामीले डेढ वर्ष अगाडिदेखि नै टिम छनोट गरेर तयारी शुरु गरिसकेका थियौं । ३ वर्षअघि पनि मैले एसोसिएटमा उपाध्यक्षको उम्मेदवारी दिएको थिए । त्यो बेलामा सहमतिमा जाने भनेपछि चन्द्र ढकाललाई सहमतिका आधारमा मैले छाडेको हो । त्यो समयमा सबै साथीहरुले मिलेर जानु पर्छ भन्ने हिसाबले मैले उम्मेदवारी फिर्ता लिएको थिएँ । त्यो समयमा संस्था व्यक्तिभन्दा माथि हुनुपर्छ भन्ने हिसाबले संस्थाको हितका लागि मैले उम्मेदवारी छाडेको थिएँ ।

यसअघि तपाईंले चन्द्र ढकाललाई छाड्नु भएको थियो । तर अहिले तपाईंहरुको टिम फरक छ । चन्द्रजीले तपाईंसँग प्रतिस्पर्धा गर्न रामचन्द्र संघइलाई अघि सार्नुभएको छ नि ?

अवश्य पनि । त्यो समयमा चन्द्र दाईले मलाई तपाईं योग्य र सक्षम व्यक्ति भएकाले पनि अर्को पटक समर्थन गर्छु भनेर प्रतिबद्धता जनाउनु भएको थियो । र, त्यस हिसाबले पनि यसपटक पनि उहाँले मलाई समर्थन गर्छु भन्नु भएको छ । उहाँले आफ्नो प्रतिवद्धताअनुसार मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वस्त छु ।

अझै पनि सहमतिको सम्भावना बाँकी छ र ?

व्यवसायी भएपछि बोलीको पक्का हुनुपर्छ । कमिट्मेन्ट गरिसकेपछि त्यो पूरा गर्नैपर्छ भन्ने हुन्छ । र, मलाई के लाग्छ भने उहाँले मलाई नै समर्थन गर्नुहुन्छ ।

सर्वसहमतिका लागि यसअघि तपाईंले त्याग गर्नु भएको थियो । त्यसको मूल्यांकन हुन्छ भन्ने तपाईंको विश्वास हो ?

मेरो त्यागको मूल्यांकन अवश्य पनि हुन्छ भन्ने विश्वास छ । त्यागको मूल्यांकन भए पनि वा नभए पनि मेरो आफ्नो काम र योगदानको कदर अवश्य पनि हुन्छ । मैले महासंघमा १२ वर्षसम्म काम गरेको छु । त्यहाँ रहँदा मैले ‘रिजल्ट ओरियन्टेड’ काम गरेको छु । चन्द्र दाईको मात्रै होइन ९ सय २६ सयभन्दा बढी भोटरहरु हुनुहुन्छ, उद्योगी व्यवसायीहरु हुनुहुन्छ, उहाँहरुले मूल्यांकन गर्नुहुन्छ नै ।

र, जहाँसम्म सहमतिको वातावरणको विषय छ, त्यो अन्तिम घडीसम्म पनि जीवित नै रहन्छ । तर हामी सबै निर्वाचनको मैदानमा होमिइसकेको अवस्थामा सहमतिको वातावरण हामीले ल्याउने भन्दा पनि महासंघका पूर्वअध्यक्षहरुलाई त्यो जिम्मेवारी सुम्पेका छौं । त्यसैले अन्तिम घडीसम्म पनि त्यो आशा कायमै राखेका छौं ।

यद्यपि लाखौं सदस्य भएको महासंघ भएकाले निर्वाचनमा जाँदै गर्दा पनि प्रजातान्त्रिक र पारदर्शी प्रक्रिया भएकाले त्यहाँबाट छनोट भएर आउने व्यक्ति बढी योग्य भएको र सबै उद्योग व्यवसायीले छानेको व्यक्ति नेतृत्वमा आउँछ नै भन्ने मेरो विश्वास हो ।

महासंघमा १२ वर्ष के के गर्नुभयो ?

पहिलो ३ वर्ष प्रडक्टिभिटी क्वालिटीको सभापतिकारुपमा काम गरेको छु । त्यो समयमा गुणस्तर, मापदण्डका लागि काम गर्ने मौका पाएको थिएँ । अर्को कार्यकालमा एफएनसीसीआई नेशनल एक्सिलेन्स अवार्डका लागि २ पटक काम गर्ने मौका पाएँ । त्यसपछि मैले कर राजस्व समितिमा बसेर काम गर्ने मौका पाएँ । त्यस समयमा कर विभाग, बजेटको सिलसिलामा अर्थमन्त्रालयसँग समन्वय र सहकर्या गरेर सुझाव दिने काम गरेँ । र, यसपटक मैले बैंक, इन्स्योरेन्स र फाइनान्स समितिको सभापतिका रुपमा काम गर्ने मौका पाएँ । जसमा मैले मौद्रिक नीति व्यवसायीका मागलाई सुझावका रुपमा प्रस्तुत गर्ने मौका समेत पाएको थिए । र, मैले पाएको जिम्मेवारीलाई न्याय हुनेगरी काम गरेको छु ।

निर्वाचनमार्फत् छानिएर आउने व्यक्ति पक्कै पनि खारिएर आउँछ । तर यसपटक कोभिडका कारणले अवस्था सहज छैन । निर्वाचनका लागि भिडभाड गर्न नहुने अवस्था र कोभिडले अर्थतन्त्रमा पारेको असरका कारण अवस्था सहज छैन । यस्तो अवस्थामा व्यवसायीहरुबीच निर्वाचनका कारण तिक्तता आउने सम्भावना हुने भएकाले सर्वसम्मति नै गरेको भए निजी क्षेत्रमा थप एकता कायम हुन्थ्यो । र, भावी दिनमा काम गर्न सजिलो हुन्थ्यो नि होइन र ?

मेरो इच्छा पनि सहमित भएको अवस्थामा असाध्यै राम्रो हुने हो । तर त्यो सम्भावना छ कि छैन भन्ने कुरा रियालिटीमा हेर्नुपर्ने हुन्छ । तर के छ भने जुनसुकै प्यानल वा व्यवसायीले जिते पनि हाम्रो एजेन्डा मूख्य हो । अर्थतन्त्रलाई मेरुदण्डका रुपमा विकास गर्ने, रोजगारी सिर्जना गर्ने, विकास गर्ने, समग्र निजी क्षेत्रको नीतिका लागि लड्ने नै हो । त्यसकारण त्यसो भएकाले हामी सबैको एउटै एजेन्डा नै हो । निर्वाचनपछि हामी सबै एकठाउँ भएर अर्थतन्त्र जोगाउनका लागि लाग्छौं ।

अहिले कोभिडका कारण पनि अर्थतन्त्र जोगाउनु पहिलो चुनौती हो । अहिले अर्थतन्त्रका धेरै क्षेत्रहरु धराशायीमा परेको अवस्था छ । केही सीमित क्षेत्रबाहेक अन्य क्षेत्र प्रभावित भएका छन् । त्यसैले हामीले अर्थतन्त्रलाई ‘भी सेप’मा पुनरुत्थान गर्नुपर्ने अवस्था छ ।

महासंघको भावी अध्यक्ष शेखर गाल्छाज्यूले १० वर्षको रणनीति बनाइसक्नु भएको छ । त्यसका लागि नयाँ निर्वाचित कार्यसमितिले काम गर्ने हो । १० वर्ष रणनीति अन्तर्गत लिएको लक्ष्य प्राप्तीका लागि हामीले काम गर्ने हो ।

१० वर्षे रणनीति तपाईंहरुको प्यानलको हो कि शेखर गोल्छाले लिनु भएको हो ?

यो महासंघको रणनीनि हो । हुन त हामीले प्यानल गठन गर्ने समयमा पनि राजनीतिकबाट भन्दा पनि सोचका आधारमा बनाएका हौं । सोचसँगै एक्यबद्धता र काम गर्ने शैलीका कारण हामीले प्यान बनाएका हौं । रणनीति बनाउँदा हामीले अध्ययन अनुसन्धानका आधारमा तथ्यांक संकलन गरेर तयार पारेका हौं । फेरि यो १० वर्षको रणनीति भए पनि प्रत्येक ३/३ वर्षका लागि पनि छुट्टै लक्ष्य लिएका छौं ।

 उक्त १० वर्षे रणनीतिको मुख्य झलकहरु के के हुन् ?

पहिलो उद्देश्य र नतिजामुखी काम नै हो । त्यसबाहेक १० प्रतिशतको आर्थिक वृद्धिदर, हरेक वर्ष ४ लाख रोजगारी सिर्जना, आत्मनिर्भरता र स्वावलम्बन नेपालको परिकल्पना गरेका छौं । त्यसबोहक कृषि, ऊर्जा, पूर्वाधारको विकास सबैलाई समेटेर लैजाने गरी परिकल्पना गरेका छौं । नयाँ प्रविधि अपनाएर, डिजिटाइजेसन गरेर त्यो सपनालाई साकार बनाउने योजना बनाएका छौं । फेरि यो हाम्रो मात्रै एजेन्डा होइन, सबैको एजेन्डा हो ।

भावी अध्यक्ष शेखर गोल्छाले तपाईंहरुको प्यानललाई मेरो टिम भनेर भन्नु भएको छ । तपाईंहरुले जित्नु भएन भने उहाँलाई अप्ठ्यारो पर्ला नि ?

उहाँको टिम भनेको यो टिम होइन । उहाँको टिम भनेको महासंघको टिम हो । जोसुकै महासंघमा आए पनि सबैलाई समेटेर लैजानुहुन्छ । उहाँसँग त्यो क्षमता पनि छ । मात्रै के हो भने उहाँको मनसाय र हाम्रो मनसाय एउटै भएकाले महासंघलाई यहाँ लैजानुपर्छ है भन्ने हिसाबले काम गरेका हौं । हामी कामका कारणले एकजुट भएका हौं । र, कामकै कारणले हामीलाई उहाँले रुचाउनु भएको हो ।

साथै जो सुकै आए पनि उहाँको त्यो एजेन्डा नै कार्यान्वन हुने हो । त्यसैले पद ठूलो कुरा होइन । महासंघमा जानु भनेको त व्यक्तिगत स्वार्थ छाडेर सबैको हितमा काम गर्न जाने हो । लाखौं व्यवसायीहरु भएको महासंघ जस्तो संस्थामा गइसकेपछि सबैको हित र अर्थतन्त्र जोगाउनका लागि लाग्नु पर्छ । महासंघका सदस्यको हकहितका लागि लाग्नु पर्छ । व्यक्तिगत व्यवसायको स्वार्थ छाडेर निजी क्षेत्र, समाज र राज्यकै स्वार्थका लागि काम गर्नुपर्ने हुन्छ ।

तपाईंलाई भोट किन दिने ?

म सौरभ ज्योतिलाई भोट दिने होइन । भोट महासंघमा काम गरेर प्रमाणित गरिसकेको व्यक्तिलाई दिने हो । सबैभन्दा योग्य क्षमता भएको व्यक्तिलाई दिने हो । महासंघमा योगदान गरिसकेको व्यक्तिलाई दिने हो । मभन्दा कोही समक्ष छ भने म आजै म उम्मेदवारी फिर्ता लिन्छु । मलाई त हार्नुभन्दा पनि जित्नुको डर छ । हार्यो भने त आफ्नो यति ठूलो व्यवसाय छ त्यही हेर्यो बस्यो ।

व्यवसायमा सफल भए पनि संस्था चलाउनका लागि छुट्टै सीप चाहिन्छ । महासंघमा जानु भनेको कम्पनी चलाएजस्तो होइन । त्यहाँ त हाम्रो भिजनमा सबैलाई एकैठाउँमा ल्याएर काम गर्नुपर्छ । सबैसँग सहकार्य गरेर आफ्नो भिजन कन्भिन्स गराएर काम गर्नुपर्ने हुन्छ ।

तर जितेको अवस्थामा त धेरै काम गर्नुपर्छ । जिम्मेवारी बढ्छ । त्यसैले म बेस्ट पर्सनले भोट पाउनु पर्छ । त्यसैले म सदस्यहरुलाई के भन्छु भने मैले यसअघि पनि आफूलाई महासंघमा प्रमाणित गरिसकेको छु । त्यहाँ म सेवा गर्न र निजी क्षेत्रको विकासका लागि हितमा काम गर्नका लागि जाने हो ।

निर्वाचन जित्नु हुन्छ त ?

निर्वाचनमा जाने भनेकै जित्नका लागि हो । यद्यपि निर्वाचनमा गइसकेपछि हार जित हुने भइहाल्यो । तर जित्ने अपेक्षा गरेको छु । क्याल्कुलेसन गर्दा पनि राम्रो मतले जित्छु । म मात्रै होइन, मेरो टिमले नै अत्यधिक बहुमतले नै जित्नेमा म ढुक्क छु ।

कति मत आउँछ भन्ने आँकलन गर्नुभएको छ ?

यकिन गरेर ठ्याक्कै त भन्न सकिन्न । मैले विगतमा महासंघमा रहेर काम गरेर आफूलाई प्रमाणित गरेको आधारमा पनि मलाईं लाग्छ हामीले बहुमतले नै निर्वाचन जित्छौं ।

अन्तिम समयमा आएर तपाईंलाई कोरोना भयो, त्यसले निर्वाचनमा केही असर पार्छ कि ?

त्यस्तो छैन । कोरोना भए पनि मलाई लक्षण त्यस्तो थिएन । त्यसो भएकाले घरमै बसेर फोनबाट, अनलाइन मिटिङमार्फत कुराकानी भइरहेको थियो । त्यसकारण कोभिडका कारणले समस्या भएन ।

महासंघको इतिहास हेर्दा एसोसिएट उपाध्यक्ष नै अध्यक्ष बनेको देखिन्छ । त्यसकारण तपाईंलाई भावी अध्यक्षका रुपमा पनि हेरिएको छ । तपाईं युवा पनि हुनुहुन्छ । त्यसैले तपाईंसँग उद्योगी/व्यवसायी र सरोकारवालाहरुले बढी अपेक्षा गरेका छन् । यसलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

पक्कै पनि । म महासंघमा लामो समयसम्म रहेर काम गरिसकेको छु । त्यसभन्दा अघि नेपाल युवा उद्यमि मञ्च, नाडा र विभिन्न वस्तुगत संघमा पनि नेतृत्व गरिसकेको छु । त्यसैले पनि महासंघको अध्यक्ष भएर नेतृत्व गरौं भन्ने इच्छा छ । त्यसका लागि काम गर्दै अगाडि बढ्ने हो । एसोसिएसटमा रहँदा काम गर्न सकिएन भने अध्यक्ष हुन सकिन्न । अर्को कुरा म एक्लैले पनि गर्ने होइन, सबैको साथ र सहयोगका आधारमा काम गर्ने हो । म २०० प्रतिशत इफोर्ट दिएर काम गर्छु । ५४ वर्षको महासंघको इतिहासको गौरवलाई कायम राख्दै काम गर्छु ।

तपाईंहरुकोे प्यानलका अध्यक्ष गोल्छा, एसोसिएट र वस्तुगतको उपाध्यक्ष तीनैजना नेपाल अटोमोवाइल्स डिलर एशोसिएशन (नाडा)का पूर्वअध्यक्ष हुनुहुन्छ । त्यसैले तपाईंहरुको प्यानललाई गाडी व्यवसायीहरु महासंघमा हावी हुन खोजे भन्ने आरोप छ नि ?

यसमा दुई पक्ष छ । यसमा हामी नाडाबाट आएको भए पनि मेरो हकमा होन्डाको बिक्री ५० वर्षदेखि गर्दै आएका छौं । हामीले हजुरबुबाको पालादेखि नै उद्योगमा पायोनियर नै हो । हामी ट्रेडिङमा मात्रै नभएर उद्योगमा पनि उत्तिकै लगानी छ ।

दोस्रो कुरा के हो भने नाडा सबैभन्दा बढी राजस्व तिर्ने, सबैभन्दा डाइनामिक, ग्लामर सबैभन्दा बढी सक्रिय र पारदर्शी क्षेत्र पनि हो । त्यहाँ नेतृत्व गर्ने भनेको योग्य व्यक्तिले मात्रै सक्छ । फेरि हाम्रो लगानी ट्रेडिङमा मात्रै होइन अन्य क्षेत्रमा पनि उत्तिकै लगानी छ । त्यसैले त्यो ठूलो कुरा होइन । हाम्रो सेवा क्षेत्रमा पनि उत्तिकै लगानी छ ।

तपाईंहरुको प्यानलमाथि अर्को आरोप के छ नेवारहरुको मात्रै टिम भयो । बरिष्ठ उपाध्यक्ष किशोर प्रधान, तपाई, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र जिल्लानगर उपाध्यक्ष दिनेश श्रेष्ठ । पहिलो कुरा तपाईंहरुको टिम समावेशी देखिएन । र, दोस्रो कुरा यस्तो अवस्थामा मारवाडी समुदायको भोट कसरी तान्नुहुन्छ ?

नेपालमा के समस्या छ भने यसो हेर्दा नेवार र मारबाडी भनेपछि व्यवसायमै लाग्छ भन्ने छ । उद्यमशिलता भनेको जन्मजात नै ल्याउने होइन नि । अहिले त कलेजहरुम पनि उद्यमशिलताका विषयमा अध्यापन हुन थालेको छ । अब को के हो भन्ने तरिकाले हेर्ने हुँदैन । मुख्य विषय योग्यता नै हो । त्यसैले यस्ता विषयमा म विश्वास गर्दिन् । मेरा लागि सफल व्यवसाय र सफल उद्यमी हुनुपर्छ । यसमा पनि सफल व्यवसाय भए पनि संस्था चलाउनका लागि छुट्टै सीप चाहिन्छ । महासंघमा जानु भनेको कम्पनी चलाएजस्तो होइन । त्यहाँ त हाम्रो भिजनमा सबैलाई एकैठाउँमा ल्याएर काम गर्नुपर्छ । महासंघमा काम गर्नका लागि सबैसँग सहकार्य गरेर आफ्नो भिजन कन्भिन्स गराएर काम गर्नुपर्ने हुन्छ । त्यसमा आफू होइन सबैको विकासका लागि हुन्छ ।

महासंघको सुदृढिकरण भनेको नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमताको विकास गर्ने हो । हामी सचिवालयलाई निकै नै मबजुत बनाएर काम गर्छौं । सचिवालले डाटाबेस बनाउँछ । र, हामी तथ्यपरक धारणा लिएर सरोकारवाला निकायमा जान्छौं ।

जहाँसम्म समावेशिताको कुरा गर्दा मेरो टिममा मारबाडी पनि हुनुहुन्छ, महिला पनि हुनुहुन्छ । सबै क्षेत्रबाट हुनुहुन्छ । त्यसका लागि पनि हामीले योग्यताका हिसाबले हेरेका छौं । हाम्रो विधानले पनि दिएको छ । तर त्यसमा पनि योग्यता हेर्नुपर्ने हुन्छ । महासंघको पदमा पुग्दा पदलाई जस्टिफाइ गर्न सक्नुपर्ने हुन्छ । त्यसो भएपछि मात्रै विकास हुन्छ ।

निर्वाचनमा जाँदा तपाईंको प्यानलका केहीले हारेको अवस्थामा पछि सहकार्य कसरी गर्नुहुन्छ ?

निर्वाचनमा हारजित हुन्छ नै । तर मुख्य कुरा हाम्रो एजेन्डा हो । हिँजोका दिनमा मसँगै भएकाहरु अहिले विरुद्धमा हुनुहुन्छ भने भोलिका दिनमा आजसँगै भएका व्यवसायीहरु मसँगै लड्न सक्नुहुन्छ । यस्तो अवस्थामा निर्वाचनलाई त्यत्तिमा मात्रै सीमित राख्नुपर्ने हुन्छ । निर्वाचनमा हार जित भए पनि चन्द्र दाई र उमेश दाईलाई म उत्तिकै सम्मान गर्छु । जितेमा सहकार्य गरेर काम गर्छौ । हारेँ भने स्वीकार नै गर्ने हो ।

हिँजोका दिनमा चन्द्र ढकाललाई यहाँले छाडिदिनु भएको थियो । तर यसपटक प्यानल नै फरक पर्यो । यसले तपाईंको मनमा केही खिन्नता त भयो होला नि ।

उहाँको पनि केही बाध्यता होला । तर मलाई के विश्वास छ भने उहाँले जुन प्रतिबद्धता दिनु भएको छ त्यसमा मलाई सहयोग गर्नुहुन्छ भन्नेमा विश्वास छ । मैले उहाँका लागि छाडेका बेलामा पनि मलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । त्यसैले पनि उहाँको सहयोग मलाई नै हुनेछ भन्नेमा म विश्वस्त छु । मैले यसबीचमा पनि उहाँसँग कुरा गरेको छु । त्यसमा पनि मलाई सहयोग गर्नेमा उहाँ सकारात्मक नै हुनुहुन्छ ।

तर पछिल्लो समय महासंघ आन्तरिक झमेलामा फसेको देखिन्छ । कहिले विधान संशोधन त, कहिले अन्य आन्तरिक विवाद र चरम गुटबन्दी । अब तपाईंहरु नेतृत्वमा आउनु भयो भने यसलाई कसरी समाप्त गर्नुहुन्छ ?

यही कारणले नै हाम्रो प्यानल एकजुट भएर महासंघको निर्वाचनमा होमिएका छौं । त्यसैकारण हामीले उम्मेदवारी दावी गरेका हौं । हामीहरुले बाहिरीरुपमा हेर्दा राज्यसँग नीतिगत सुधारका लागि सहकार्य, समन्वय गर्ने हो भने आन्तरिकरुपमा सुदृढिकरण गर्नुपर्ने आवश्यक छ । त्यसैले हामीले सबैभन्दा पहिले स्पष्ट तरिकाले राजनीति अन्त्य गर्नका लागि हामीले राजनीति गरिरहेको हो ।

महासंघ व्यवसायीहरुको संस्था भएकाले प्रोफेशनल्ली चल्नुपर्छ । एकदम अब्जेक्टिभ ड्रिभन हुनुपर्छ । सबैलाई नतिजामुखी तरिकाले काम गर्नुपर्छ । त्यसका लागि महासंघमा सचिवालयदेखि लिएर सबै तहमा काम गर्ने तौरतरिकालाई नै परिवर्तन गर्नुपर्छ । सचिवालयमा डाटा सेन्टर नै राखेर हामीले काम गर्ने तरिकालाई परिवर्तन गर्छौ । त्यसमा विज्ञहरु राखेर प्रभावकारी बनाउने छौं । हामीले सबै काम गर्न सक्दैनौं, त्यसका लागि विभिन्न समितिहरु बनाएर काम गर्नेछौं ।

म एसोसिएटतर्फको उपाध्यक्ष भएर आइसकेपछि मेरो जिम्मेवारी राजगार परिषदमा हुनेछ । श्रम ऐन, सामाजिक सुरक्षासँग सम्बन्धित कामहरु बढी गर्नुपर्ने हुन्छ । मेरो विशेष ध्यान त्यहाँ जान्छ । त्यसबाहेक उद्योग, राजस्वलगायतका समितिहरु छन् । ती सबैलाई समेटेर मुख्य एजेन्डाका लागि नै काम गर्ने हो ।

त्यो भनेको निजी क्षेत्र, उद्योग व्यवसायीहरुले पाउनु पर्ने मानसम्मान र सुरक्षा नै हाम्रो प्राथमिकता हो । त्यो भनेको प्रोत्साहन हो । नीतिगत सुधार भइसकन, त्यसका लागि पहल गरेर सफल भएको अवस्थामा लगानी आउँछ । रोजगारी सिर्जना हुन्छ, कर र राजस्व बढी सिर्जना हुन्छ । त्यसैबाट आत्मनिर्भरताका लागि हामीले काम गर्न सक्छौं । त्यसैले हामीले प्रत्येक चरणमा हामीले सिस्टम अनुसार नै काम गर्छौ ।

म के स्पष्ट पार्न चाहन्छु भने हामी आन्तरिक विवादमा फस्ने होइन । आन्तरिक मामलामा समय कम दिएर आर्थिक विकास, समस्या समाधान, नीतिगत सुधारका लागि बढी ध्यान दिन्छौं ।

तपाईंहरुको प्यानलको मुख्य एजेन्डा नै महासंघको सुदृढिकरण र शुद्धिकरण बनाएको छ । शुद्धिकरण गर्ने भन्दै कुनै एक पूर्वअध्यक्षविरुद्ध तपाईंहरु गुटबन्दी गरेको भन्ने आरोप छ नि ?

कुनै व्यक्तिप्रति हाम्रो केही छैन । हाम्रो माया संस्थाप्रति हो । संस्था नै रहेन भने अध्यक्ष कहाँ रहन्छ र उपाध्यक्ष कहाँ रहन्छ । र, संस्थाको अस्तित्व के हो ? महासंघ किन छ त ? निजी क्षेत्रको विकास र हक हितका लागि , उद्योग व्यवसायलाई प्रोत्साहन र लगानीको वातावरण बनाउनका लागि, लगानी सुनिश्चित गर्नु हो । त्यसैले संस्था माथि हुनुपर्छ । जुन व्यक्ति महासंघलाई आफ्नो व्यवसाय बनाउँछ, त्यस्ता व्यक्तिलाई महासंघमा ठाउँ छैन । त्यसमा स्पष्ट हुनुपर्छ । तर जो व्यक्ति आफ्नो स्वार्थ छाडेर आफ्नो विकासका लागि लाग्छ । त्यो व्यक्ति महासंघमा जानुपर्छ ।

तर आजका दिनमा त्यो हुन सकेको छैन । त्यसैका लागि पनि हाम्रो प्यानल चाहिएको हो । जसले गर्दा महासंघको सुदृढिकरण र शुद्धिकरणमा जान सकिन्छ । साथै अहिले भइरहेको अनावश्यक राजनीति कम गर्न हामी अहिले एकजुट भएका हौं । आजको भोलि राजनीतिक पूरै हट्छ भन्ने होइन । तर विस्तारै राजनीतिक हट्छ । महासंघ उद्योग व्यवसायीहरुको संस्था भएकाले राजनीति हुनुहुँदैन ।

महासंघको सुदृढिकरण भनेको नीतिगत सुधारदेखि जनशक्तिको सीप अभिवृद्धि गर्ने लगायतका विषयमा सरकारी निकायहरुसँग समन्वयात्मक भूमिका निभाउन सक्ने क्षमताको विकास गर्ने हो । हामी सचिवालयलाई निकै नै मबजुत बनाएर काम गर्छौं । सचिवालले डाटाबेस बनाउँछ । र, हामी तथ्यपरक धारणा लिएर सरोकारवाला निकायमा जान्छौं । पछिल्लो समय निजी क्षेत्रसँग मानसम्मान र सुरक्षा केही पनि नभएकोले त्यसलाई स्थापित गर्न हामी लाग्छौं ।

नेपालमा जुटमिलदेखि शुरु भएको उद्योगको इतिहासमा हाल आएर ट्रेडिङ व्यवासय बढी हावी भएको अवस्था छ । जबसम्म आन्तरिक उत्पादन र आन्तरिक उद्योगको हावी हुँदैन तबसम्म अर्थतन्त्र बलियो हुँदैन । आन्तरिक उद्योग बढाउन तपाईंहरुको भूमिका के हुन्छ ?

उद्योगी तथा व्यवसायीहरु जहाँ अवसर छ त्यहाँ नै लगानी बढी गर्ने हो । जहाँ नीतिगत साथ र सहजता छ, कमाउने अवसर र सुरक्षा छ भने त्यहाँ नै बढी लगानी गर्ने हो । अब सरकारले नै आन्तरिक उत्पादन बढोस भन्ने चाहँदैन, त्यसअनुसारको नीति बनाउँदैन भने व्यवसायीहरु आकर्षित हुँदैनन् । त्यसैले हामी नीतिगत सुधारका लागि लागीरहेका छौं ।

उद्योगमा रिस्क बढी छ । तर रिवार्ड कम छ । तर ट्रेडिङमा रिस्क कम छ । र, रिवार्ड बढी छ । त्यसकारण स्वभाविक नै लगानी बढी हुने भयो । भारतकै कुरा गर्दा सिक्कम, अरुणाञ्चललगायतका ठाउँमा त्यहाँको सरकारले आउनुहोस्, लगानी गर्नुहोस् भनिरहेको छ । त्यहाँ जग्गा तयार छ, पूर्वाधार छ, विद्युत पुगेको छ, १० वर्षसम्म अन्तशुल्क र कर छुट भनेको छ ।

तर नेपालमा त्यो अवस्था नै छैन । पूर्वाधार नै पर्याप्त छैन । विजुली, बाटो आफैं पुर्याउनु परेको अवस्था छ । केही सहुलियत पनि छैन । नीति पनि हरेक सरकारसँग परिवर्तन भइरहेको छ । त्यसैले रिक्स कम भएकाले पनि उद्योगको तुलनामा ट्रेडिङमा बढी लगानी छ ।

नेपालमा हाम्रो सम्भावना भोल्युममा भारत र चीनको दाँजोमा जान नसकिएला । तर गुणस्तरको हिसाबले त जान सक्छौं नि । त्यति मात्रै होइन । सबै क्षेत्रमा सम्भावना नहोला । तर प्राथमिकताप्राप्त क्षेत्रमा त जान सकिन्छ ।

कृषि प्रधान देशका व्यवसायीले कृषिमा लगानी नगर्नुको कारण के होला ?

मेरो भनाइ के हो भने ३ वटा क्षेत्रमध्ये कृषि क्षेत्रमा लगानी गर्न सकिन्छ । भूकम्प, नाकाबन्दी र कोरोना जस्तै अर्को महामारी आए पनि आफ्नो उत्पादनले त पुग्ने हुनुपर्छ भन्ने हो । त्यसका लागि कृषि क्षेत्रमा लगानी बढाउनै पर्छ । आफूले उत्पादन गरेको वस्तु आफ्नो जनसंख्यालाई पुग्ने हुनुपर्छ । त्यतिले मात्रै पुग्दैन दोस्रो नम्बरमा पूर्वाधार पनि चाहिन्छ ।

किसानले उत्पादन गरेको बजारसम्म पुर्याउनका लागि पूर्वाधार चाहिन्छ । भण्डारन क्षमता वृद्धि गर्नुपर्छ । सित भण्डार, बाटो, पुल निर्माण चाहिन्छ । उर्जामा हामीसँग पर्याप्त हुनुपर्छ । माग धान्न र चाहे जति माग पुग्ने हुनुपर्छ । तेस्रो भनेको जनशक्ति हो । युवा जनशक्ति नै चाहिन्छ ।

अहिले मुलुकको पूर्वाधार र आर्थिक विकासका लागि भन्दा पनि विदेश गइरहेका छन् । त्यो जनशक्तिलाई नेपालमै फिर्ता ल्याएर काममा लगाउनु पर्छ । त्यसका लागि उद्योगको वातावरण चाहिन्छ, रोजगारी सिर्जना गर्नुपर्छ । अहिलेको उद्योग र १० वर्षपछिको उद्योगको संरचना निकै परिवर्तन हुनेछ । त्यसैले पनि हामीहरु नीतिगत सुधारका लागि लड्नै पर्छ ।

पछिल्लो समय जीडीपीमा उद्योगहरुको योगदान विस्तारै कम भइरहेको छ, यो अवस्था देख्दा एउटा उद्योगीलाई कस्तो अनुभूति हुन्छ ?

जीडीपीमा उद्योगको योगदान बढाउनका लागि हामीले काम गर्र्नैपर्छ । अब डिजिटल इकोनोमिको हामीले कुरा गरिरहेका छौं । अब परम्परागत जागिरबाट सबै टेक्निकल जवमा बढी फोकस भइरहेको अवस्था छ । त्यसमा ब्लगरदेखि सोसल मिडिया विश्लेषक, कन्टेन्ट राइटरहुँदै डाटा एनलाइसिस्टलगायतका जवमा बढी आकर्षित भइरहेको अवस्था छ ।

यो काम निजी क्षेत्रको अग्रसरतामा हुने हो तर त्यसका लागि त्यो सीप सिकाउने संस्थासँग हाम्रो सहकार्य हुनु जरुरी छ । विश्वविद्यालयलगायतकासँग समन्वय गर्न सकियो भने जीडीपीमा हाम्रो योगदान बढाउन सक्छौं । यद्यपि हाम्रो अहिलेको जीडीपी ग्रोथ पनि नराम्रो होइन । १००० डलर नाघिसकेको अवस्थामा अब हामी अल्प विकसित देश होइन विकासोन्मुख देशतर्फ गइसकेका छौं । हाम्रो आयआर्जन बढ्छ । बजारमा भाइब्रेन्ट सिर्जना हुन्छ । हामी अहिले ‘राइट ट्रयाक’मा छौं ।

तर अब त्यतिले मात्रै पुग्दैन । हामी ‘फास्ट ट्रयाक’मा जानुपर्ने हुन्छ । तब मात्रै समृद्धिको बाटोमा हामी अगाडि बढ्न सक्छौं । र, युवाहरुलाई पनि अवसर देखाउन सक्यौ भने विकास तीव्र गतिमा बढाउन सकिन्छ ।

ज्योति समूहले पनि त्यसका लागि हामीले काम शुरु गरिसकेका छौं । अब कस्तो भयो भने पहिले कोभिड अगाडि डिजिटलमा विस्तारै जान्छौं भन्ने थियो भने कोभिडका कारणले अहिले नै आवश्यक भइसकेको अवस्था छ । त्यसैले अहिले हामीले आइसक्रिमदेखि लिएर अटोमोबाइलको व्यवसायमा समेत यसलाई राखेका छौं ।

तर यसका लागि पनि अब पूर्वाधारको कमी भइसकेको अवस्था छ । अब किन करोडौंको संरचना चाहिन्न । मोबाइल एपमार्फत् नै काम गर्न सकिने अवस्था आइसक्यो । हामीले महासंघमै छँदा पनि ‘फेसलेस’ ट्याक्स अफिसको अवधारणा ल्याएका थियौं । अब ६० प्रतिशतभन्दा बढी इनफरमल क्षेत्रमा छौं । त्यसलाई पनि समेट्न सकिन्छ । त्यसो हुँदा करको दायरा बढ्छ ।


क्लिकमान्डु