महासंघमा सर्वसहमतिको संभावना अत्यन्तै कम छ, तैपनि अन्तिम प्रयास जारी छ: रविभक्त श्रेष्ठ



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा बरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारी सर्वसम्मत चयनको संभावना करीब करीब सकिएको छ ।

पूर्वअध्यक्षहरुले यो संकटको समयमा निजी क्षेत्रको एकता कायम राख्नका लागि महासंघमा सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने निष्कर्श निकाल्दै लामो समय सहमति जुटाउने प्रयास गरेका थिए ।

पूर्वअध्यक्षहरुको संयुक्त भेलाले रविभक्त श्रेष्ठ र महेश्वरलाल श्रेष्ठलाई उम्मेद्धारहरुबीच सहमति जुटाउने जिम्मेवारी दिएको थियो ।

श्रेष्ठ र प्रधानले बरिष्ठ उपाध्यक्ष्का उम्मेद्धारद्धय चन्द्र ढकाल र किशोर प्रधानसँग धेरैपटक भेटेर सहमति जुटाउने प्रयास गरेका थिए ।

अहिलेसम्म उनीहरुको प्रयास सफल भएको छैन । र, अब हुने संभावना पनि अत्यन्तै कम भएको रविभक्त श्रेष्ठ बताउँछन् ।

‘तिहारका बेला मैले बरिष्ठ उपाध्यक्षका दुबै उम्मेद्धारसँग भेटेर सहमति जुटाउने प्रयास गरेको थिएँ, तर उहाँहरुले पूर्ववत अडान छाड्नु भएन,’ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘त्यो छलफलपछि म महासंघमा सर्वसम्मत नेतृत्व चयन हुन्छ भन्नेमा त्यति आशावादी छैन, धेरै नै कम संभावना देखेको छु,’ श्रेष्ठले भने, ‘तैपनि अन्तिम प्रयास जारी नै छ ।’

दुबै जनाले आफ्नो नाममा सहमति हुनुपर्ने अडान राखेका कारण सहमति जुटाउन नसकिएको उनको भनाइ छ ।

‘दुबै जनाले आफ्नो नाममा सहमति भए मात्रै मान्ने अडान दोहोर्याए पछि सहमति जुटाउन सकिएको छैन,’ श्रेष्ठले भने ।

भरे भोलि नै पूर्वअध्यक्षहरुसहित दुबै उम्मेद्धारलाई राखेर अन्तिम पटक सहमतिको प्रयास गर्ने र त्यो मिटिङमा पनि सहमति भएन भने छाडिदिने उनले बताए ।

श्रेष्ठले ढकाललाई ‘तपाईं देशकै ठूलो व्यापारिक घरानाको व्यक्ति हुनुहुन्छ, चुनाव हार्नुभयो भने राम्रो सन्देश जाँदैन त्यसैले यसपटक प्रधानलाई छाडेर त्याग गर्नुहोस् अर्कोपटक तपाईंलाई बरिष्ठ उपाध्यक्ष बनाउने लिखित समझदारी गर्छौं’ भनेर प्रस्ताव राखेका थिए ।

तर, आफू धेरै अघि बढिसकेको र निर्वाचन जित्ने पक्का भएकाले पूर्वअध्यक्षहरुको यो प्रस्ताव स्वीकार गर्न नसकेको जवाफ ढकालले दिएका थिए ।

ढकालसँग कुरा गरिसकेपछि श्रेष्ठले प्रधानलाई भेटेर भने, ‘किशोरजी तपाईं महासंघमा लामो समय दुख गरेको व्यक्ति हो, यसअघि पनि बरिष्ठ उपाध्यक्षमा उठेर हार्नुभयो, अहिले पनि हार्नुभयो भने तपाईंको करिअर सकिन्छ, त्यसैले यो पटक चन्द्रजीलाई छाडेर अर्को पटक सर्बसहमतिमा बरिष्ठ बन्नुहोस् ।’

श्रेष्ठको यस्तो प्रस्तावमा प्रधानले पनि आफू चुनाव जित्ने निश्चित भएको दाबी गर्दै आफ्नो नाममा सहमति भएमात्रै छाड्ने बताएको उनले जानकारी दिए ।

तर प्रधानले भने पूर्वअध्यक्षहरुको निर्णय मान्न आफू तयार रहेको पनि जानकारी गराएको श्रेष्ठले बताए । आफू महासंघको धेरै पूरानो भएकाले यो पटक आफू नै बरिष्ठ उपाध्यक्ष हुनुपर्ने प्रधानको दाबी थियो ।

पूर्वअध्यक्षज्यूहरुले ‘उपयुक्त’ निर्णय गरे आफू मान्न तयार रहेको प्रधानको भनाइ थियो ।

‘हामीले कसैले कसैलाई छाडिदिनुहोस् भनेको होइन,’ श्रेष्ठले भने, ‘जसले निजी क्षेत्रको एकताको लागि त्याग गर्छ, उसको त्यागलाई सम्बोधन गर्दै महासंघमा सम्मानजनक स्थान दिएर सँगै लिएर अघि बढ्छौं । वा अर्को पटक बरिष्ठ उपाध्यक्ष बनाउने लिखित समझदारी गर्छौं ।’ श्रेष्ठले भने, ‘चन्द्रजी र किशोरजी त्याग गर्न तयार देखिनु भएन ।’

यही मंसिर ११, १२ र १३ गते काठमाडौंमा महासंघको ५४औं साधारणसभा हुँदैछ । साधारणसभाले अहिलेका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई विधानअनुसार स्वतः अध्यक्ष बनाउँदैछ । बाँकी पदका लागि प्रत्यासीहरुले उम्मेद्धारी दिएका छन् ।

बरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल र किशोर प्रधानले प्यानलै बनाएर उम्मेद्धारी दर्ता गरी देशव्यापी प्रचारप्रसार गरिरहेका छन् । मतदाताहरुको नामावाली पनि प्रकाशित भइसकेको छ ।

मंसिर ८ गतेसम्म उम्मेद्धारी फिर्ता गर्ने समय छ ।

‘८ गतेसम्म हामी सहमतिको प्रयास गरिनै रहने छौं,’ श्रेष्ठले भने ।

त्यसैगरी, मंसिर १३ गतेदेखि अध्यक्ष बन्दै गरेका शेखर गोल्छा, अहिलेकी अध्यक्ष भवानी राणा लगायत पनि सहमति गराउन लागि परेका छन् ।

गोल्छाले पनि दुबै उम्मेद्धारलाई आकर्षक प्रस्ताव गरेका छन् । तर, अहिलेसम्म उनको प्रस्तावलाई उम्मेद्धारहरुले स्वीकार गरिसकेको अवस्था छैन ।

महासंघमा चुनाव भएको अवस्थामा अहिलेकी अध्यक्ष राणा, बन्दै गरेका अध्यक्ष गोल्छा, निर्वतमान अध्यक्ष पशुपति मुरारका र अधिकांश पूर्वअध्यक्षहरु आआफ्नो खेमाका उम्मेद्धारलाई जिताउन लागि पर्नेछन् । जसकारण निर्वाचनमा उम्मेद्धारहरु र उनीहरुका समर्थकबीच स्वस्थ लोकतान्त्रिप प्रतिस्पर्धाभन्दा एकअर्काबीच आरोपप्रत्यारोप हुने संभावना बढेर गएको छ ।

आखिर चुनावमा जतिधेरै उम्मेद्धार भए पनि जित्ने एउटाले हो । भोलिका दिनमा व्यवसायीहरु आआफ्नो खेमामा विभाजित भएर ‘इगो’को पोलिटिक्समा जानसक्ने खतरा भएकाले सर्वसहमतिको प्रयास गरिएको पूर्वअध्यक्षहरु बताउँछन् ।

‘यो आपसमा विभाजित हुने समय होइन,’ पूर्वअध्यक्षलगायत सरोकारावालाहरु भन्छन्, ‘त्यसैले सहमति होस् भन्ने चाहन्छौं ।‚


पुष्प दुलाल