शुल्क आधा सस्तो भएपछि प्याराग्लाइडिङ गर्ने बढे, व्यवसाय बन्द गर्नु परेन



काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पोखराको प्याराग्लाइडिङ यतिबेला फेरि शुरु भएको छ ।

कोरोनाका कारण लामो समयदेखि बन्द रहेको व्यवसाय यतिबेला आन्तरिक पर्यटकका कारण ‘सस्टेइन’ हुने चरणमा छ ।

प्याराग्लाइडिङ एसोसिएसनका अध्यक्ष रुपनारायण श्रेष्ठका अनुसार शुल्क आधा सस्तो बनाएपछि आन्तरिक पर्यटकहरु बढेका छन् । जसले गर्दा कम्पनीहरु बन्द हुने अवस्थाबाट बचेका छन् ।

‘कम्पनीहरुले भाडा तिर्न सकेका थिएनन, पाइलट र कर्मचारीहरुको आम्दानी पनि बन्द भएको थियो । तर अहिले त्यो अवस्था छैन । आम्दानी नभए पनि सस्टेइन हुन सजिलो भएको छ,’ श्रेष्ठले भने ।

उनका अनुसार संघले नै निर्णय गरेर ६ हजार रुपैयाँबाट शुल्क ३५ सयमा झारिएको हो । कतिपय कम्पनीहरुले २५ सय रुपैयाँदेखि ३५ सय रुपैयाँसम्म शुल्क लिइरहेको उनले बताए ।

हाल दैनिक औसतमा ३ सय प्याराग्लाइडिङका उडान हु्ँदै आएका छन् । श्रेष्ठका अनुसार पहिले विदेशी नागरिकहरु हुँदा दैनिक साढे ५ सय उडान हुन्थे भने अहिले आन्तरिक पर्यटकका कारण ३ सय उडान भइरहेको छ । यसले व्यवसायको सञ्चालन खर्च जुटाउन सहयोगी बनेको छ ।

कोरोनाका कारण सधै जसो गुल्जार हुने पोखरा र विशेष गरी लेकसाइड क्षेत्र शुन्य र शान्त बनेको छ । कैयन पसलहरु अझै पनि बन्द छन् भने खुलेका पसलमा पनि ग्राहकहरु छैनन् ।

पोखराहुँदै ट्रेकिङ जाने रुटहरु अन्नपूर्ण, मर्दी, घान्द्रुक, घोरेपानी, पुनहिललगायतका मुस्ताङ, जोखसोम, मुक्तिनाथ जानका लागि अहिले अनुमति छैन । खुलेका ठाउँमा पनि पीसीआर नेगेटिभ भएको रिपोर्ट आवश्यक पर्छ । त्यसैले ती क्षेत्र नखुल्दासम्म पोखरामा आन्तरिक पर्यटक पहिले जस्तो आउन गाह्रो पर्ने श्रेष्ठको भनाइ छ ।

श्रेष्ठले सन् २०२१ को नयाँवर्षको अवसर पारेर सबै क्षेत्र खुला गर्ने तयारी स्वरुप काम भइरहेको बताए ।

‘अहिले तयारी भइरहेको छ, नयाँवर्षसम्ममा पोखरा हुँदै जाने गन्तव्यहरु पनि खुलेको अवस्थामा केही सहज हुन्छ, त्यसका लागि कुराकानी भइरहेको छ’ उनले भने ।

उनका अनुसार अब प्याराग्लाइडिङको हकमा पनि विदेशी पर्यटकलाई लिइने पहिलेको शुल्क पनि घटाउने विषयमा छलफल भइरहेको छ । पहिले ५५ सयदेखि ६ हजार शुल्क लिनेमा अब ४ हजारदेखि ५ हजार रुपैयाँसम्म मात्रै शुल्क लिने निर्णय गर्न सकिन्छ ।


क्लिकमान्डु