तिहारमा मखमली र सयपत्री मालाको माग घट्यो, आयात गर्नु परेन



काठमाडौं । मखमली र सयपत्री जस्ता फूलहरुको पर्व तिहारमा यसवर्ष माला आयात गर्न नपर्ने भएको छ ।

हरेक वर्ष कुल खपतमध्ये १० देखि १५ प्रतिशतसम्म माला तिहारको समयमा भारतबाट आयात हुँदै आएको थियो । तर यसवर्ष भने आयात नगरिने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए ।

‘गत वर्ष ९० लाख रुपैयाँ बराबरको ३ लाख माला आयात गरिएको थियो, तर यसवर्ष भने आन्तरिक उत्पादन बढेको र माग पनि कम भएकाले आयात गर्नु परेन,’ उनले भने ।

उनका अनुसार गत वर्ष २२ लाख मालाको माग थियो । तर यो वर्ष तिहारका लागि ३ लाख मखमली र १२ लाख सयपत्रीका गरी १५ लाख माला तयार पारिएको छ ।

मालाको माग कम भएसँगै मूल्य पनि यसवर्ष नबढ्ने उनले बताए । उनका अनुसार उपभोक्तासम्म पुग्दा सयपत्री फूलको माला प्रतिगोटा ६० रुपैयाँदेखि ७० रुपैयाँसम्म र मखमली फूलको मालाको मूल्य प्रतिगोता ४० रुपैयाँदेखि ५० रुपैयाँसम्म रहनेछ ।

सरकारले पनि पुष्प व्यवसाय प्रबर्द्धनका लागि नीतिगत तहबाटै सहयोग गरेकाले पनि आन्तरिक उत्पादन बढेको हो ।

‘बाग्मती प्रदेशले १ करोड रुपैयाँ अनुदानमा भक्तपुर र ललितपुरमा पुष्प व्यवसायका लागि सहयोग गरेको थियो, जसबाट उत्पादन पनि बढ्यो,’ उनले भने ।

सरकारले ११ करोड रुपैयाँ पुष्प व्यवसायमा अनुदान दिइसकेको उनले बताए ।

हाल नेपालमा कुल ७०० पुष्प व्यवसायीहरु छन् । पछिल्लो समय सरकारले लिएको नीतिका कारण यस क्षेत्रमा लगानी प्रत्येक वर्ष बढिरहेको छ ।

श्रेष्ठका अनुसार २०७५/७६ सालमा गरिएको सर्वेक्षणमा कुल साढे ६ अर्ब रुपैयाँ यस क्षेत्रमा लगानी भइसकेको छ । यो रकम २०७१÷७२ सालमा ४ अर्ब रुपैयाँ मात्रै थियो ।

छोटो समयमै साढे २ अर्ब रुपैयाँ थप लगानी हुनु आयात प्रतिस्थापनका लागि सहयोगी भएको उनले बताए ।

उनका अनुसार व्यवसायीहरुले नै आयात प्रतिस्थापनको नीति अनुसार नै काम गरेकाले आगामी वर्षदेखि आयात न्यून हुने उनले बताए ।

‘मुख्य विषय कृषकले उचित मूल्य पाउनु हो, यदि उनीहरुले उचित मूल्य पाएको अवस्थामा आयात गर्नुपर्ने अवस्था रहँदैन,’ उनले भने ।

हाल ३२ जिल्लामा सयपत्री उत्पादन हुँदै आएको छ भने मखमली विशेष गरी भक्तपुर गुन्नु, ललितपुरको बुङमति र डुकुमा उत्पादन हुँदै आएको श्रेष्ठको भनाइ छ ।


क्लिकमान्डु