दशैंमा घर जाने यात्रुको लागि अनिवार्य मास्क, पहिलेकै मूल्यमा टिकट पाइने



काठमाडौं । सामान्य अवस्था हुँदो हो त दशैं निजिकिँदै गर्दा घर जाने मानिसको लर्को हुन्थ्यो । साथै, टिकटको लागि बसपार्कमा मानिसको भीड हुन्थ्यो । तर, यो वर्ष कोरोना महामारीले गर्दा घर जाने मानिसको संख्या र टिकट काट्नेका संख्या निकै कम रहेको यातायात व्यवसायीहरूले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण लामो समयको बन्दाबन्दीका अधिकांश सर्वसाधाराणहरू रोजगारी तथा व्यवसाय छोडेर गृहजिल्ला फर्केका छन् । गृहजिल्ला फर्केका सर्वसाधारण कतिपय उपत्यका फर्केका छन् भने कतिपय हालसम्म पनि फर्कन सकेका छैनन् ।

यस्तै, मानिसको चाँप निकै देखिएपछि दशैंमा लामो दुरीको सवारी साधनको अग्रिम टिकट बुकिङ खुल्ला नहुने भएको छ । कोरोना महामारीमा अधिकांश मानिस गृहजिल्ला रहेको र उपत्यका बाहिर जाने मानिस कम हुन अनुमान गरेसँगै यातायात सम्बद्ध सरोकारवालाहरुको छलफलबाट बुकिङ खोल्न आवश्यक नरहेको निष्कर्ष निकालेको छ । साथै, यातायात व्यवसायी र विभागले छलफल गरेर नियमित रुटमा चलिरहेकै यातायातले पुग्ने निष्कर्ष निकालेको छ । तर, घटस्थापनापछि मानिसको चाँप बढेमा आवश्यक अनुसार अग्रिम टिकट खुलाउने विषयमा छलफल भइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संघले जनाएको छ ।

त्यसैगरी, हालसम्म उपत्यका बाहिर जाने मानिसको संख्या उल्लेखनीयक नभएपछि सजिलै टिकट पाइरहेको सर्वसाधारणहरूको भनाइ छ । मानिसको चाँप कम हुँदा उपत्यका बाहिर जाँदा सजिलै टिकट पाइरहेको र सहज तरिकाले यात्रा गर्न पाएको दोलखाकी लक्ष्मी थापा बताउँछिन् । ‘विगतको दिनमा एक हप्ता अगाडि नै लाइन बसेर टिकट काट्नुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले भाडा महंगो भएता विना कुनै झन्झट र विना कुनै रोकावट घर पुगे ।’

करिब ६ महिना पूर्ण बन्द अवस्थामा रहेको यातायात व्यवसायीले असोज १ गतेबाट ५० प्रतिशत यात्रु राख्ने र ग्राहकहरूबाट ५० प्रतिशत भाडा बढी लिई सवारी साधन सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । तर, ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउँदा धेरै व्यवसायीले असहमति जनाउँदै आएको थियो । कोरोना महामारीले आर्थिक मन्दि भएको बेला यात्रुलाई बढी भार थपिएको भन्दै सबै सिटमा यात्रु राख्न पाउनुपर्नेमा नेपाल राष्ट्रिय यातायात महासंघले जोड दिँदै आएको थियो ।

त्यसै अनुरुप सरकारले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले यस अघि आधा सिटमा मात्र यात्रु राख्ने निर्णय पुर्नविचार गर्दै पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले दशंैलाई मध्यनजर गरेर पुरै सिटमा यात्रु राख्ने निर्णय गरिएको जनाएको छ ।
तर, लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालनमा रहेको सवारी साधनमा भने यात्रुको निकै अभाव भएकाले घाटामा चलाउनुपर्ने भएको व्यवसायी महासंघका अध्यक्ष कर्मचार्य बताउँछन् ।

आधिकारिक निर्णय आएको छैन – विभाग

गत सोमबार मन्त्रिपरिषद्बाट सार्वजनिक यातायातमा पुरै सिटमा यात्रु राख्ने भनिएता पनि विभागमा भने कुनै आधिकारिक निर्णय नआएको यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले जानकारी दिए । उनका अनुसार बाहिर मिडियामा समाचार प्रसारण भएता पनि यातायातमा भने ५० प्रतिशत यात्रु र ५० प्रतिशत भाडा बढी नै लागू भइरहेको बताए ।

साथै, सरकारको तर्फबाट चाँडै निर्णय आउने र पूर्ण रुपमा सिटमा राख्न पाउने लागु हुने उनले दाबी गरे । त्यसैगरी, आधिकारिक निर्णय आएमा यात्रुले सजिलै पहिलेकै मूल्यमा टिकट पाउने उनको भनाइ छ ।

यस्तै, यदि सार्वजनिक यातायातमा पूर्ण सिटमा यात्रु राख्ने निर्णय भएमा यातायात व्यवसायीको लागि विशेष मापदण्ड बनाउनुपर्ने जानकारी दिए । अहिले विभागले चालक र सहचालकले मास्क, पञ्जा र फेस सिल्ड अनिवार्य भनिएको छ । साथै, यात्रुले पनि अनिवार्य रुपमा मास्क र पञ्जा लाउनुपर्ने मापदण्ड पूरा गर्नुपर्ने निर्देशन दिएको छ ।
तर, पूर्ण रुपमा यात्रु राख्ने निर्णय लागू भएसँगै स्वास्थ्य मापदण्डमा कडाइ गर्नुपर्ने उनको बुझाइ छ । साथै, नेपाल सरकारले तोके बमोजिम सबै यातायात व्यवसायीसँग छलफल गरी अगाडि बढ्ने उनको भनाइ छ ।

सावधानीको स्टिकर टाँस्ने अभियान – मजदुर संगठन
कोरोना महामारीकै समयमा नेपालीहरुको महान चाड दशैं नजिकिँदै गर्दा मानिस उपत्यका बाहिर जाने धेरै हुन्छ । त्यसले गर्दा यात्रुलाई सुरक्षित साथ लैजानको लागि सबै खालको सवारी साधनमा कोरोना भाइरस महामारीको सावधानीको स्टिकर टाँस्ने अभियान चलाइरहेको नेपाल यातायात स्वतन्त्र मजदुर संघका अध्यक्ष भीमज्वाला राईले जानकारी दिए । साथै, अहिले स्टिकरसहित बसपार्कमा स्वयंसेवक खटाएइरहेको उनले बताए ।

उनका अनुसार मन्त्रिपरिषद्को निर्णय आउन करिब ७२ घण्टा लाग्ने भएका कारण भोलिदेखि पूर्ण रुपमा लागू हुने उनको भनाइ छ । ‘यो संकटमा डराउनुभन्दा पनि सावधानीका साथ अघि बढ्नुपर्नेमा जोड दिनुपर्छ,’ उनले क्लिकमान्डूसँग भने, ‘कतिपयले उपत्यकामा संक्रमण बढ्दै जाँदा लकडाउन हुन्छ भन्ने कुराहरु आइरहेको छ । तर, यसको सावधानी लकडाउन होइन र सरकारले लकडाउनको विकल्प खोज्नुपर्छ ।’

कोरोना महामारीको बेला दशैंको माहोलले गर्दा अझै जनतालाई कसरी सुरक्षित तरिकाले गन्तव्यमा पु¥याउने भन्ने विषयमा विशेष ध्यान दिएकोे उनको भनाइ छ । साथै, व्यवसायीहरूको माग अनुसार अहिले पूर्ण रुपमा सिटमा यात्रु राख्न पाउनेसँगै सजिलै यात्रुले सहज रुपमा आफ्नो गन्तव्यमा पुग्नेमा विश्स्त जनाए ।

व्यापक चेकजाँच भइरहेको छ –प्रहरी महाशाखा

कोरोना माहामारीको समयमा विशेष सावधानी अपनाउनुपर्ने बेला भएकाले महानगरीय ट्राफिक प्रहरीले उच्च विन्दुमा राखेर सवारी साधनको चेक जाँच भइरहेको जनाएको छ ।

हालसम्म सरकारले तोकेको मापदण्ड अनुसार नै सवारी चालक, सहचालक र यात्रुले विशेष ध्यानमा राखी सञ्चालनमा रहेको महाशाखाका सुचना अधिकारी रामेश्वर प्रसाद यादवले बताए । उनका अनुसार १५० किलोमिटर र ५ सय किलोमिटर चल्नेमा फरकफरक नियम बनाएको बताए । जसमा ५ सय किलोमिटर टाढा पुग्ने सवारी साधनमा दुई जना सवारी चालक हुनुपर्ने जनाएको छ ।
‘सरकारले तोकेको मापदण्डअनुसार सहचालक र चालकले मास्क, पञ्जा र फेस सिल्ड लगाएको छ वा छैन र गाडीमा स्यानिटाइजर राखेको छ वा छैन भन्नेमा चेकजाँच भइरहेको छ,’ उनले भने, ‘यदि कुनै यात्रुले मास्क नलगाएको, चालक र सहचालकले मापदण्ड पूरा नगरेको अवस्थामा सबैलाई कारबाहीको दायरामा ल्याएका छौं ।’ साथै, देशभरका सबै ट्राफिक प्रहरीलाई चेकजाँचमा कडाइ गर्न निर्देशन दिएको उनले बताए ।


क्लिकमान्डु