उपत्यकामा १० दिनमा सहुलियत पसलमा बिक्री भयो १७ सय क्विन्टल चामल, अनलाइन पेमेन्टलाई प्रोत्साहन



फाइल फोटो

काठमाडौं । दशैं, तिहार र छठ लक्षित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चालनमा ल्याएको सहुलियत बजारबाट कम्पनीले १० दिनमा १७ सय क्विन्टल चामल बिक्री गरेको छ । गत असोज १५ गतेबाट सञ्चालनमा आएको सहुलियत बजारबाट २५ गतेसम्ममा उपत्यकाको सहुलियत बजारबाट मात्रै उक्त चामल बिक्री गरेको हो ।

कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले गत असोज १५ गतेबाट देशभर रहेका कार्यालय, डिपो, डिलरहरूको साथै घुम्ती सेवा पसल एवं अनलाइनमार्फत उपभोक्तालाई सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरू बिक्री गरिरहेको छ ।

हाल उपत्यका बाहिरको तथ्याङ्क आइ नपुगेको हुनाले यो तथ्याङ्क उपत्यकाको मात्रै समावेश भएको कम्पनीका प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । उनका अनुसार २८ क्विन्टल चिनी, ४५ क्विन्टल तिते फापर, रहर ८ क्विन्टल, केराउ १.५ क्विन्टल, नुन १ क्विन्टल, घिउ १ सय ७४ केजी बिक्री भइसकेको बताइन् ।

उपत्यकाका कोरोनाको संक्रमण बढ्दै गएपछि निकै जोखिम अवस्थामा पनि कम्पनीले ग्राहकहरूको सहजताको लागि सेवा प्रवाह गरिरहेको उनको भनाइ छ । साथै, यो अवधिमा पनि ग्राहकहरूको उपस्थिति उल्लेखनीय रहेको उनले बताइन् ।

विगतको तुलनामा कोरोनाको समयमा पनि ग्राहकको उपस्थितिमा निरासाजनक नरहेको उनको अनुभव छ । साथै, दशैंको माहोल नजिकिँदै गर्दा मानिसको भीड बढ्ने उनले अनुमान लगाएका छन् ।

कम्पनी र साल्ट टे«डिङले विशेषगरी चामल, चिनी, नून, सिमीलगायतका खाद्य वस्तुहरूमा करिब ५ देखि १० रुपैयाँसम्मब छुट दिएर बिक्रि गरिरहेको छ । जसमा उपत्यकामा कालीमाटी, कोटेश्वर, टेकुलगायत अन्य ५८ वटा स्थानमा खाद्य वस्तुहरू बिक्री भइरहेको छ ।

उपभोक्ताले ई–सेवा र मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्न सक्ने
कम्पनीले र साल्ट ट्रेडिङले बिक्रि कक्षबाट खाद्य सामाग्री गरिद गर्ने उपभोक्ताले ई–सेवा र मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

कोरोना महामारीको समयमा ग्राहकलाई सहज बनाउनको लागि कम्पनीले उपभोक्ताको लागि विद्युतिय भुक्तानीको सुविधा सञ्चालनमा ल्याएको कम्पनीका सुवेदी बताउँछिन् ।

उनका अनुसार यसपटक कोराना महामारीले माहोल नै छुट्टै भएको अवस्थाले गर्दा विभिन्न मोडालिटी अपनाई ग्राहकलाई सेवा प्रदान गरिरहेको बताइन् । साथै, यो अवधिमा ई–सेवा र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक कम भएको उनको भनाइ छ ।


क्लिकमान्डु