अक्सन थ्योरीबाट २० वर्षमा २०० अर्ब डलर राजस्व , जसले यो वर्षको नोबेल पुरस्कार पाए



काठमाडौं । यो वर्षको अर्थशास्त्र तर्फको नोबेल पुरस्कार स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक पल मिलग्रम र रबर्ट बिल्सनलाई सयुक्त रुपमा पाएका छन् ।

अर्थशास्त्री स्वर्णिम वाग्लेले दुई अर्थशास्त्री मिलग्राम र विल्सनले गरेको खोजको विवरण फेसबुकमा राखेका छन् ।

दुई अर्थशास्त्रीले लिलामी मार्फत गरिने खरिदको सिद्धान्त र त्यसको उपयोगबाट समाजले कसरी लाभ लिन सक्छ भन्ने विषयमा गरिएको प्राज्ञिक शोध र समाधानको उपाय पक्ता लगाएका थिए ।

वाग्लेले फेसबुकमा राखेको बिचार

खुला वा सिलबन्द बोलकबोलको विधिबाट हामी धितोपत्रको कारोबार, चित्रकला, भौतिक सम्पत्ति देखि बिजुलीको किनबेच, अनलाइन विज्ञापन, खानीजस्ता प्राकृतिक स्रोतको रोयल्टी निर्धारण र रेडियो स्पेक्ट्रमको विक्रीबाट वायरलेस संचार (फोन, इन्टरनेट) सेवा लिनेदिने गर्छौं। प्रत्येक व्यक्ति र व्यवसायको फरक फरक सूचना, साझा मूल्यको आकलन, र रणनीति हुनेहुँदा लिलामलाई समाजको हितमा कसरी सोझ्याउने भन्ने प्रश्न महत्वपूर्ण छ। यो विधि वैज्ञानिक र पारदर्शी भएन भने राज्यले ठुलो लाभ लिनसक्ने किनबेच पहुँचका आधारमा आसेपासेलाई सित्तैमा वा कम मुल्यमा दिने गरिएको भ्रष्ट अभ्यास नेपाल, भारत लगायत धेरै देशमा देखिने गरेकै छ ।

पहिले पहिले सित्तैमा वा अव्यावहारिक तरिकाले बाँड्ने गरिएको रेडियो फ्रिक्वेन्सीलाई मिलग्रमको सिद्धान्तका आधारमा लिलाम गर्नाले सन् १९९४ देखि २०१४ को अवधिमा विश्वभर २०० अर्ब डलरको राजस्व उठ्यो भने यसबाट क्रेता, विक्रेता र समाज सबैको हित हेर्न सकियो।


क्लिकमान्डु