बैंक जाँदै हुनुहुन्छ ? सावधानी अपनाउनुस्, यसकारण बढिरहेको छ बैंकमा कोरोना



काठमाडौं । पछिल्लो समय सार्वजनिक सेवा क्षेत्रका संघ संस्थाहरुमध्ये सबैभन्दा बढी बैंक तथा वित्तीय कम्पनीहरुमा कोरोना संक्रमित बढिरहेको छ ।

बैंकिङ क्षेत्रमा हाल ४९ हजार ८ सय ४२ जना कर्मचारी कार्यरत छन् । जसमध्ये ४.४२ प्रतिशत अर्थात् २ हजार २ सय ४ जना कर्मचारी संक्रिमित भइसकेका छन् ।

यस बाहेक बैंक तथा वित्त कम्पनीमा काम गर्ने कर्मचारीका ८ सय ९६ जना परिवारका सदस्यलाई कोरोना संक्रमण भइसकेको छ ।

साथै केन्द्रीय बैंकमा समेत ८० जना कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टी भइसकेको छ । जससँंगै बैंकिङ क्षेत्रका कर्मचारी र परिवारका सदस्य गरी नै ३ हजार २ सय २१ जनामा कोरोना संक्रमण भइसकेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकका कसरी फैलियो कोरोना

अत्यावश्यक सेवा अन्तर्गत पर्ने बैंक तथा वित्तीय क्षेत्रमा कर्मचारीले लकडाउन र निषेधाज्ञाबीच समेत ग्राहकलाई सेवा दिएका थिए ।

सरकारले चैत ११ गतेदेखि साउन ६ गतेसम्म गरेको लकडाउनबीच बैंकिङ क्षेत्रका कर्मचारीमा फाट्टफुट्ट मात्र कोरोना देखिएको थियो ।

तर साउनयता देश व्यापीरुपमा नै संक्रमित बढ्दा अहिले कुल संक्रिमितमा ३ प्रतिशत बढी बैंकिङ क्षेत्रका कर्मचारीमा कोरोना संक्रमित छन् ।

सेवाग्राहीले डिजिटल प्रविधिको प्रयोगलाई अहिलेको आवश्यकता अनुसार प्रयोग गर्न नसक्दा बैंकका कर्मचारीमा बढी कोरोना संक्रमण जोखिम भएको नेपाल राष्ट्र बैंक प्रवक्ता गुणकर भट्टले बताए ।

‘बैंकिङ सेवा भनेको अत्यावश्यक सेवा हो, कोरोनाको जोखिम मोलेर भएपनि कर्मचारीले सेवाग्राहीलाई सेवा दिनै पर्छ,’ भट्टले क्लिकमाण्डूसँग भने, ‘बैंकिङ क्षेत्रमा अहिले अधिकांश सेवा डिजिटलमार्फत् प्रयोग गर्न सकिन्छ । तर ग्राहकले त्यसको प्रयोग नगरी बैंकको काउण्टर नै पुगिरहेका हुन्छन् ।’

घरमा नै बसी डिजिटल प्रविधिको प्रयोगबाट हुने बैंकिङ काम पनि ग्राहकले बैंकमा नै गएर गर्दा भिडभाड बढी ग्राहकको प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारी बढी कोरोना संक्रमित भएको उनको भनाइ छ ।

लकडाउन खुलेसँगै पछिल्लो समय विभिन्न कम्पनीहरुले साधारण सेयर निष्काशन गरिरहका छन् । कोरोनाले गर्दा अन्य क्षेत्रबाट बाहिरीएका व्यक्तिहरु सेयर बजारमा आकर्षित भएका जानकारहरु बताउँछन् ।

पछिल्लो समय नयाँ डिम्याट खाता खोल्नेको संख्या पनि अत्याधिक बढेको छ । अहिले बैंकमा अन्य कारोबार खासै बढी नभए पनि डिम्याट खाता खोल्ने र सेयर भर्नेको भिड भने अत्याधिक देख्न पाइन्छ ।
पछिल्लो समय खुलेका रिलायन्स लाइफ इन्स्योरेन्स,जनरल लाइफ र सानिमा जनरल इन्स्योरेन्सको हरेक पटक रेकर्ड ब्रेक आवेदन परेको छ । अहिले बैंकमा भिड बढ्नुको कारण आइपीओको लागि डिम्याट खोल्ने र आइपीओ आवेदन भर्नेहरुको कारण समेत भएको हो । जसले गर्दा बैंकमा कोरोना भाइरस फैलिएको हो ।

लकडाउन खुल्ला भएपछि मानिसमा कोरोनाको भय नै हराउँदा बैंकमा सानो तिनो कामका लिएर आउने ग्राहक बढी भएको केन्द्रीय बैंकका प्रवक्ता भट्टको भनाइ छ ।

‘डिम्याट खाता खोल्ने, सेयर भर्ने साथै निक्षेप झिक्ने र निकाल्नेको भिड प्राय बैंकको काउन्टरमा हुन्छ,’ भट्टले थपे, ‘यी सबै काम डिजिटलमार्फत् सजिलै गर्न सकिन्छ ।’

यसमा बैंकले ग्राहकलाई बुझाउन नसकेको वा बैंकको कस्टमर केयर राम्रो नभएको पनि हुन सक्ने उनको अनुमान छ ।

हरेक क्षेत्रमा कोरोना संक्रमण बढेसँगै बैंकिङ क्षेत्रमा पनि स्वाभिक रुपमा बढेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका कार्यकारी अधिकृत अनिल शर्माले बताए ।
‘अत्यावश्यक सेवा अन्तर्गत बैंकिङ सेवा परेको हुँदा कोरोना संक्रमण जोखिमको सामना गर्दै कर्मचारीले सेवा दिइरहेका छन्,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘जहाँ जोखिम बढी हुन्छ त्यहाँ संक्रमक बढ्नु स्वाभिक नै हो । तर सबै बैंकहरुले स्वास्थ्य मापदण्डको पालना गरेर मात्रै कार्यालय संचालन गरेका छन् ।’

संघले बैंकहरुलाई समय÷समयमा कार्यालय संचालन गर्दा सम्बन्धीत निकायले तोकेको मापदण्ड पालना र कर्मचारीको स्वास्थ्य सुरक्षामा ध्यान दिन सुझाइरहेको उनले जानकारी दिए ।

बैंकको लापरवाहीले कोरोना संक्रमण बढ्यो

पछिल्लो समय नेपालमा कोरोना संक्रमित बढेसँगै सर्वसाधारणहरु भिडभाड हुने स्थानमा जान डराउँछन् ।

बैंक, बीमा कम्पनी जस्ता बढी सर्वधारणको भिड हुने ठाँउमा कोरोना संक्रमणको जोखिम उच्च हुन्छ । बैंक तथा वित्त कम्पनीहरुले बैंकिङ क्षेत्रमा भित्रिएको प्रायः प्रविधि प्रयोगमा ल्याइसकेका छन् ।

तर उक्त प्रविधिको बारेमा ग्राहकलाई राम्रोसँग बुझाउन नसक्दा प्रविधिको प्रयोग छोडी आजपनि बैंकको काउण्टरमा ग्राहकको भिड गरिरहेका छन् ।

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत् अहिले कर्जाका प्रक्रियासम्म गर्न सकने व्यवस्था भइरहेको छ । तर १०÷१५ हजारको चेक साट्न बैंकमा लाइनमा बस्ने ग्राहक पनि त्यति नै छन् ।
बैंकले खाता खोल्ने बेलामा विभिन्न प्रकारका डिजिटल सेवा प्रयोग गर्नुस् भन्र्दै शुल्क असुल गर्ने तर त्यसको प्रयोगबारे बुझ्न खोज्दा भने राम्रोसँग नभन्ने ग्लोबल आइएमई बैंक काठमाडौं गुर्जुधारा शाखाका एक ग्राहकले गुनासो गरे ।

‘बैंकले नै मोबाइल बैंकिङ प्रयोग गर्नुस् भन्र्दै शुल्क लियो तर त्यो कसरी प्रयोग गर्ने मलाइ थाहा भएन र घरमा सिकउने पनि कोही छैनन्,’ ती ग्राहकले क्लिकमाण्डूसँग गुनासो गरे, ‘मोबाइल बैंकिङको कोर्ड आएको दिनदेखि लगातार ४÷५ दिनसम्म बैंकमा फोन गरे तर फोन नउठाउने, उठाएपनि राम्रोसँग नभन्ने गर्छन् ।’

बैंकमा नै गएर प्रत्यक्ष रुपमा नै कर्मचारी देखाएपछि उनले मोबाइल बैंकिङ सुचारु गर्न पाएका उनले बताए ।

यस्तै पीडा एनआइसी एशिया बैंकका एक ग्राहकले भोगेका छन् । डिम्याट खाता खेलेर मेरो सेयरबाट अनलाइनबाटै सेयर कारोबार गर्न उनको खाता नम्बर रजिस्टर एनआइसी बैंकले १५ दिन लगायो ।

‘कोरोनाको त्रास सबैलाई छ, बैंकमा त झन् आजभोलि सेयर भर्नेको धेरै भिड हुन्छ,’ एनआइसी एशिया बैंकका ती ग्राहकले क्लिकमाण्डूसँग भने, ‘मेरो सेयरबाटै कारोबार गर्दा बैंक जानु पर्दैन भनेर खाता खोलेको तर बैंकले खाता रजिस्टर गर्नु नै १५ दिनत लगायो ।’

दिनहुँ फोन गरेर आग्रह गर्दा कर्मचारीले काम नगरेपछि बैंकमा नै पुगेर खाता रजिस्टर गराइ सिआरएन नम्बर लिएको उनको गुनासो छ ।

बैंकले गर्ने ग्राहकलाई गर्ने यस्ता त प्रतिनिधत्व घटनामात्र हुन् । नेपालका अधिकांश बैंकको कस्टमर केयर बैंकले चाहेको बेला ग्राहकले पाउने तर ग्राहकको आवश्यकतामा बैंकले राम्रो प्रतिक्रिया नदिने गरेको धेरै पाइन्छ ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट समेत बैंकहरुको कस्टमर केयर राम्रो नभएको र डिजिटल प्रविधि प्रयोगबारे राम्रोसँग बुझाउन नसकेको कारणले नै कोरोनाको त्रासमा पनि ग्राहकहरु बैंकमा नै पुग्न बाध्य भएको स्वीकार गर्छन् ।


क्लिकमान्डु