दिप पाण्डे, जसले शिखरलाई शिखर चुमाए



काठमाडौं । बीमा व्यवसायमा शिखर इन्स्योरेन्स सञ्चालनमा आउनु अघि नेपालमा १५ वटा निर्जीवन बीमा कम्पनी संचालनमा थिए ।

एभरेष्ट इन्स्योरेन्सबाट शिखर स्थापना गर्न प्रमुख कार्यकारी अधिकृत बनेर आउँदा दीप पाण्डेसँग शिखरलाई निर्जीवन बीमा कम्पनीहरु बीच पहिलो कम्पनी बनाउने सपना थियो ।

यसअघि उनले काम गरेका युनाइटेड र एभरेष्ट कुनैबेला व्यवसायमा अगाडि थिए ।

शिखर इन्स्योरेन्सले आफुभन्दा अगाडि आएका १५ वटा कम्पनीलाई अहिले धेरैवटा सूचकमा पछाडि पारिसकेको छ । नेपालमा २० वटा निर्जीवन बीमा कम्पनी छन् । शिखरपछि पनि ४ वटा निर्जीवन बीमा कम्पनीले लाइसेन्स पाए ।

तथ्यांक हेर्ने हो भने निर्जीवन बीमा कम्पनीहरुबीच अहिले शिखरपछि को बन्ने भन्ने प्रतिस्पर्धा देखिन्छ । निर्जीवन बीमा कम्पनीमा पहिलोको लागि तत्काल कुनै स्थान नै छैन भन्दा हुन्छ ।

शिखर इन्स्योरेन्सको अहिले चुक्ता पूँजी १ अर्ब ३७ करोड रुपैयाँ छ । जुन निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी हो ।

बीमा कम्पनीलाई अगाडि बढाउने भनेको व्यवसायले हो । गतवर्ष २०७६/७७ मा शिखर इन्स्योरेन्सले ३ अर्ब ५२ करोड रुपैयाँको बीमाशुल्क आर्जन गरेको छ । जुन निर्जीवन बीमा कम्पनीमा सबैभन्दा बढी हो ।

भूकम्पपछि शिखरले व्यवसाय बृद्धिमा अरुलाई निकै नै पछाडि पारेको छ । भूकम्पमा आफूहरुले दिएको सेवाले त्यसपछिका दिनहरुमा तीब्र गतिमा व्यवसाय विस्तार गर्न सफल भएको सीइओ पाण्डे बताउँछन् ।

‘यो टिमवर्कले गर्दा सम्भव भएको हो, शिखरका सबै कर्मचारीको कारण हामीले अहिलेको स्थान प्राप्त गरेको हो,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

भुकम्प जानुअघि आर्थिक वर्ष २०७१/७२ मा शिखरले १ अर्ब ३५ करोड रुपैयाँ प्रिमियम संकलन गरेको थियो । त्यसको अर्को वर्ष २ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न कम्पनी सफल भयो ।

आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७५ करोड रुपैयाँ बीमाशुल्क आर्जन कम्पनीले गरेको थियो । २०७४÷७५ मा ३ अर्ब ३३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले २०७५÷७६ मा ३ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

आर्थिक वर्ष २०६१/६२ मा १३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको शिखरको यात्रा पाण्डेको मेहनत र उनले बनाएको टिमको नै सफलता हो ।

कम्पनीले २०६१/६२ मा गरेको नाफा ३ करोड रुपैयाँ थियो । आर्थिक वर्ष २०७१/७२ मा २१ करोड ९० लाख नाफा शिखरले गरेको थियो । गतवर्षसम्म आइपुग्दा ४२ करोड नाफा शिखरले गर्न सफल भएको छ ।

टिमवर्कले गर्दा शिखरले अहिलेको सफलता प्राप्त गरेको हो,यसमा शिखरका सबै कर्मचारीको योगदान महत्वपूर्ण छ

शिखरले पछिल्लो २ वर्ष सेयरधनीलाई लाभांश दिएन । नियामकिय प्रोभिजनको व्यवस्थाले गर्दा २ आर्थिक वर्षमा नाफा कमाए पनि शिखरले लाभांश बाड्न सकेन । जुन रकम अहिले कम्पनीमा नै छ । शिखरले पछिल्लो ६ वर्षमा लगानीकर्तालाई बोनस सेयर दिएको छ ।

बीमा समितिको पूँजी बढाउने नीतिले दिएको बोनसले कम्पनीको पूँजी समेत बलियो बनेको छ । आर्थिक वर्ष २०७३÷७४ मा शिखरले लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिएको छ भने १.५२ प्रतिशत नगद लाभांश दिएको छ ।

यस्तै २०७२÷७३को नाफाबाट लगानीकर्तालाई ६० प्रतिशत बोनस सेयर तथा ३.१५ प्रतिशत नगद लाभांश दिएको छ ।

आर्थिक वर्ष २०७१÷७२ मा २४ प्रतिशत बोनस सेयर दिएको छ भने १.२६ प्रतिशत नगद लाभांश दिएको छ । २०७०÷७१ मा २० प्रतिशत बोनस सेयर तथा १.०५ प्रतिशत नगद लाभांश सेयरधनीलाई दिएको छ ।

२०६९÷७० मा २० प्रतिशत बोनस सेयर तथा २०६८÷६९ मा ४० प्रतिशत बोनस सेयर लगानीकर्तालाई दिन कम्पनी सफल भएको छ ।

जुम्लामा स्याउको बीमा होस् या चितवनमा केराको बीमा शिखर इन्स्योरेन्स काठमाडौंको कर्पोरेट ग्राहकसँग एसीमा बसेर डिल गर्दैन भन्ने देखाएको छ ।

चितवनमा गर्मीमा केराको बोट गन्दै या जुम्लाको चिसोमा स्याउको बोटमा समेत शिखरले बीमा गरेको छ । जसले गर्दा किसानको जोखिम कम गर्न मद्दत पुगेको छ ।

‘हामीले दाबीलाई छिटो सक्नको लागि प्राथमिकता दिन्छौं, जसले गर्दा ग्राहकको विश्वास हामीले जित्न सफल भएका छौ,’ पाण्डेले सुनाए । त्यही यात्रामा शिखर अगाडि बढ्ने बताए ।

शिखर इन्स्योरेन्सको संचालक समितिले पाण्डेलाई ४ वर्षको कार्यकाल थप गर्ने निर्णय गरेको छ । यसको लागि बीमा समितिको अनुमति चाहिन्छ । कात्तिक ११ गते पाण्डेको कार्यकाल सकिन्छ ।

‘संचालक समितिले मलाई ४ वर्षको लागि कार्यकाल थप्ने निर्णय गरेको छ,कात्तिक ११ सम्म म आफु शिखरमा सीइओ नै हो त्यो दिनसम्म शिखरलाई नै अगाडि बढाउन लाग्नेछु,’ पाण्डेले भने ।

बीमा समितिले अनुमति दिएन भने के गर्नुहुन्छ भन्ने प्रश्नमा पाण्डेले भने,‘ यो विषयमा त्यो बेला नै कुरा गरौंला, मेरो पहिचान बीमाले नै बनाएको हो ।’


क्लिकमान्डु