सम्पत्ति शुद्धिकरण गरेको आरोपमा अष्ट्रेलियाको बैंकलाई १ खर्ब ८ अर्बको हालसम्मै ठूलो जरिवाना



अष्ट्रेलियाको सबैभन्दा ठूलोमध्येको एक बैंक वेस्टप्याकले सम्पत्ति शुद्धिकरण सम्बन्धि आरोपमा १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको जरिवाना तिर्नु पर्ने भएको छ ।

बैंकले उक्त रकम तिर्नका लागि राजी समेत भइसकेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पिटर किङले आफूहरुले समस्या समाधानका लागि काम गरिरहेको र यस्तो घटना आगामी दिनमा नदोहोर्याउनका लागि प्रतिबद्ध रहेको बताए ।

यदि उक्त जरिवाना त्यहाँको अदालतले स्वीकृति दिएको खण्डमा यो अष्ट्रेलियाको इतिहासमा हालसम्मै सबैभन्दा ठूलो जरिवाना हुनेछ ।

सन् २०१८ मा अष्ट्रेलियाको कमनवेल्थ बैंकले ७०० मिलियन अष्ट्रेलियन डलर सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दामा जरिवाना तिरेको थियो ।

उक्त समाचार प्रकाशित भएसँगै बिहीबार अष्ट्रेलियाको सेयर बजारमा बैंकको सेयर १ प्रतिशतले घटेको छ ।

अष्ट्रेलियाको नियमनकारी संस्थाले करिब एक वर्ष अघि बैंक विरुद्ध अनुसन्धान शुरु गरेको थियो । तत्कालिन समयमा नियमनकारी निकायले बैंकलाई लाखौं संख्याको कारोबार रिपोर्ट बुझाउन असफल भएको आरोप लगाएको थियो ।

त्यहाँको नियमनकारी निकाय वाचडगले समेत बैंकबाट फिलिपिन्स र दक्षिण एसियामा १ करोड ९० लाख भन्दा बढी कारोबारको बारेमा विस्तृत विवरण नबुझाएको आरोप लगाएको छ ।

बैंकका सीइओ किङले कम्पनीले यसका लागि सयौं मानिसहरु नियुक्त गरी काम गरिरहेको बताएका छन् । साथै बैंकले कार्यकारी भूमिका सहित मानिस नियुक्त गरेको र त्यसले वित्तीय अपराधसम्बन्धि अनुगमन गर्ने अख्तियारी समेत दिइएको उल्लेख गरेको छ ।

केही दिन पहिले मात्रै नेपालका बैंक तथा वित्तीय संस्थाले समेत अनाधिकृत रुपमा विदेशबाट पेसा भित्र्याएको भन्दै एक खुलासा भएको छ ।

फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा बैंक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो ।

सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ ।

शंकास्पद धनको कारोबार र ओसारपसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, बैंक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, मेगा बैंक, हिमालयन बैंक, कास्कीको एपेक्स डेभलपमेन्ट बैंक र नेपाल बाङ्लादेश बैंकको नाम उल्लेख छ ।एजेन्सी 

 


पुष्प दुलाल