यी हुन् नेपालका चलेका १० ई-कमर्श प्लेटफर्म



काठमाडौं । प्रविधिको विकास, पहुँच र विस्तारसँगै यसले व्यवसायमा पनि आमूल परिवर्तन ल्याएको छ । केही वर्षअघिसम्म मात्रै पनि अनलाइन सपिङमा अभ्यस्त नभइसकेका नेपालीहरु पछिल्लो समय ई-कमर्श प्लेटफर्ममा आकर्षित हुँदै गएका छन् । जसले व्यापारको परिभाषा नै बदलिदिएको छ ।

अझ कोरोना भाइरसको महामारीका कारण लकडाउन र निषेधाज्ञाले त इकमर्स व्यवसाय निकै बढेको छ । लामो समयदेखि सञ्चालन भइरहेका कम्पनी मात्रै होइन लकडाउनकै बीच शुरु भएका कम्पनीहरुले पनि राम्रो व्यापार गरिरहेका छन् ।

पसलसम्म गएर सामान रोजीरोजी खरिद गर्ने ग्राहकहरु यतिबेला मोबाइलमा इकमर्स कम्पनीका मोबाइल एप र वेवसाइटमा सामान रोज्न थालेका छन् । आफूले खोजे जस्तो ब्राण्ड र मूल्य तुलना गरी सहजै अर्डर गर्न पाइने भएपछि अनलाइन सपिङका ग्राहक बढेका हुन् ।

त्यति मात्रै होइन, नेपालमा ई-कमर्शको बजार बढ्दै जाँदा विदेशी नाम चलेका कम्पनीहरु पनि नेपाली कम्पनीहरुसँगको सहकार्यमा सेवा बिस्तार गरिसकेका छन् । पछिल्लो समय फिल्पकार्टले नेपाली कम्पनी सस्तो डिलसँगको सहकार्यमा सेवा शुरु गरिसकेको छ । यसअघि चिनियाँ कम्पनी अलिबाबा पनि दराजसँगको सहकार्यमा व्यापार गरिरहेको छ ।

यस समाचारमा हामी नेपालमा बढी चलेका १० वटा ई-कमर्श कम्पनीका बारेमा जानकारी दिँदैछौं ।

१) दराज
नेपालमा सबैभन्दा बढी रुचाइएको अनलाइन सपिङ साइट हो दराज । चिनियाँ कम्पनी अलिबाबाले दक्षिण एसियाका नेपालसहित पाकिस्तान, श्रीलंका, म्यानमार, बंगलादेशमा दराज डट कममार्फत अनलाइन सेवा दिँदै आएको छ ।

दराजमा घरायसी प्रयोगका सामानसहित इलेक्ट्रोनिक्सका सामान उपलब्ध छन् । नेपाली ग्राहकले दराजमार्फत आफ्नो रुचिका सामान अनलाइन बुकिङ गर्न सक्छन् । दराजले विभिन्न चाडपर्वमा विभिन्न सामानमा छुट दिने गरेको छ । ग्राहकले घरमै बसेर सामान खरिद गर्नका लागि दराजको मोबाइल एप वा इन्टरनेटमार्फत दराज डटकममा सामान अर्डर गर्न सक्छन् ।

कम्पनीले उपत्यकाको रिङरोडभित्र सेवा दिँदा प्रतिकेजी ५० रुपैयाँ, रिङरोडबाहिर प्रतिकेजी ८० र उपत्यकाबाहिर प्रतिकेजी १ सय २० रुपैयाँ सेवाशुल्क लिने गरेको छ ।

२) हाम्रो बजार
लामो समयदेखि सञ्चालनमा रहेको अर्को साइट हो हाम्रोबजार डट कम । अनलाइनमार्फत् पुराना (सेकेन्ड ह्यान्ड) सामान खरिद तथा बिक्री गर्ने एक सजिलो माध्यम बनेको छ । हाम्रो बजारमा पुरानो सामान खरिद तथा बिक्री गर्न, कोठा भाडामा खोज्न, जग्गाको किनबेच तथा इलेक्ट्रोनिक्स तथा अटोमोबाइल्सका सम्पूर्ण सामान खरिद–बिक्री गर्न सकिन्छ ।

सामान बिक्री गर्नका लागि बजार धाउनु नपर्ने यसको मुख्य विशेषता हो । हाम्रो बजारमा एउटा खाता (एकाउन्ट) खोलेर सामानको विस्तृत विवरण भरी बिक्री गर्न सकिन्छ । यस्तै, सामान खरिद गर्नुपर्दा बिक्रीकर्तासँग सोझै कुरा गरी डिल गर्न सकिन्छ ।

३) सस्तो डिल
अनलाइनमार्फत् सामान अर्डर गर्ने एउटा भरपर्दो माध्यम सस्तो डिल पनि हो । सस्तो डिलमार्फत ग्राहकले घरमै बसेर आवश्यक सामान हेरी अर्डर गर्न सक्छन् । सस्तो डिलमा मोबाइल, रेफ्रिजेरेटर, घडीलगायत इलेक्ट्रोनिक्सका सामानहरु उपलब्ध छन् । यस्तै, नेपालमा उत्पादित विभिन्न ब्रान्डका जुत्ता, कपडालगायत सामान यहाँ उपलब्ध छन् ।

कम्पनीले चाडपर्वलाई लक्षित गर्दै तिहारमा कम्पनीमा उपलब्ध सामानहरूमा आकर्षक छुटको व्यवस्था गर्दै आएको छ । त्रिपुरेश्वर काठमाडौंबाट सेवा विस्तार गर्दै आएको यस कम्पनीले सामान ग्राहकसमक्ष पुर्याउनका लागि सामान हेरी सेवाशुल्क लिने गर्छ ।

कम्पनीले केही समय अघि मात्रै सेवा बिस्तार लगानी बढाउने उद्देश्यले विदेशी कम्पनी फिल्पकार्टसँग सहकार्य गरेको छ । अब ग्राहकहरुले भारतीय सामान पनि सहजरुपमा पाउने छन् भने कम्पनीले सेवामा समेत विविधता थप गरेको छ ।

४) ग्यापु
गत चैतमा लकडाउन शुरु भएको तेस्रो दिनमा कम्पनीले व्यवसाय शुरुवात गरेको थियो । छोटो समयमा राम्रो व्यापार गर्न सफल र सबैको मन जित्न सफल भएको यो कम्पनीले पछिल्लो समय सेवामा पनि विविधता ल्याएको छ । करिब १० करोड रुपैयाँ लगानी भएको यस कम्पनीले लकडाउन र निषेधाज्ञाको समयमा ग्रोसरीलगायतका सामान डेलिभरी गरेर राम्रो व्यापार गर्न सफल भएको छ । पछिल्लो समय निकै लोकप्रिय बनेको ग्यापु अनलाइन पछिल्लो समय आएको सबैभन्दा चर्चित कम्पनी हो । कम्पनीले हालैका दिनमा सिभिल मलसँगको सहकार्यमा त्यहाँ रहेका सामान समेत बिक्री गर्न शुरु गरेको छ । ग्यापु सबै प्रकारका राष्ट्रिय र अन्तर्राष्ट्रिय पेमेन्ट गेटवेबाट भुक्तानी लिन्छ ।

५) मुञ्चा डट कम
सन् २००० देखि डिपार्टमेन्ट स्टोरमार्फत सेवा दिँदै आएको मुञ्चामा घरमै बसेर सामान अर्डर गर्न सकिन्छ । विभिन्न ब्रान्डका घरायसी इलेक्ट्रानिक्सका सामानहरू, बच्चाका खेलौनादेखि युवाका कपडा, खेलकुदका सामग्री तथा खाजासमेत अनलाइन बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

मुञ्चाले चाडपर्वलाई मध्यनजर गर्दै तिहारविशेष प्याकेजहरू पनि उपलब्ध गराउँदै आएको छ । डेलिभरीका लागि भने कम्पनीले आफ्नो नियमअनुसार केही पैसा लिने गर्छ । मुन्चा नेपालकै पहिलो अनलाइन सपिङ साइट पनि हो ।

 

६) नेप्बे
नेपालमा उत्पादित विभिन्न ब्रान्डका सामान बिक्री गरिदिने एक अनलाइन कम्पनी हो नेप्बे । नेप्बेले नेपालका विभिन्न कम्पनीसँग मिलेर उत्पादित वस्तुहरू अनलाइनमार्फत बिक्री गर्दै आएको छ । सन् २००७ देखि ललितपुरको ज्वागलबाट निरन्तर सेवा दिँदै आएको कम्पनीले नेपालका सानादेखि ठूला सयौँ ब्रान्डका सामान बिक्री गर्दै आएको छ । उत्पादित वस्तुहरू बिक्री नभए नेप्बेसँग सहकार्य गरी सजिलै बिक्री गर्न सकिने कम्पनीले जनाएको छ ।

नेप्बेमा सामसङ, सिजीलगायत घरायसी इलेक्ट्रोनिक्स सामानदेखि अटोमोबाइल्सलगायत सम्पूर्ण सामान उपलब्ध छन् । ग्राहकहरूले नेपब्येमार्फत १ हजार वर्गमा विभाजित सामानहरू अनलाइनमार्फत बुकिङ गर्न सक्छन् ।
नेप्बेका सयभन्दा बढी स्टोर छन् । अनलाइन खरिदमा ग्राहकले भुक्तानीका लागि ई–बैंकिङ, डेबिट कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गर्न सक्छन् । व्यवसायीले कम्पनीमा आबद्ध हुनका लागि अनलाइन फारम भर्नुपर्ने हुन्छ । त्यसलगत्तै, कम्पनीको तर्फबाट परामर्शदाताले सम्पर्क गरी आवश्यक जानकारी गराउँछन् ।

७. फूडमान्डू
अन्य अनलाइन सपिङमध्ये अर्को एक भिन्न खालको अनलाइन हो फूडमान्डू । मानिसको व्यस्तताको मध्यनजर गर्दै फूडमान्डू खानाका लागि एक सजिलो माध्यम बनेको छ । मानिसले चाहेअनुसारको खानाको अर्डर गरी फूडमान्डूबाट सजिलै प्राप्त गर्न पाउनेछन् । यस कम्पनीले विभिन्न रेष्टुराँमा पाइने विभिन्न खालको खाना सजिलो तरिकाबाट घर अफिसमा उपलब्ध गराउँदै आएको छ ।

यस अनलाइन प्लेटफर्म खानाको परिकार बनाउने पहिलो अनलाइन पनि हो । खानाको अर्डर मोबाइल एप वा अनलाइनबाट गर्न सकिन्छ । कुनै पनि खाजा अर्डर गरेको खण्डमा ठाउँअनुसार लगभग ३० देखि ४५ मिनेटमा स्वादिष्ट भोजन अफिस वा घरमा पाउन सकिन्छ । यसले उपत्यकाको रिङरोडभित्र मात्रै सेवा दिँदै आएको छ । साथै, ग्राहकले भुक्तानीको लागि ई–सेवामार्फत गर्न सकिन्छ ।

८) मेट्रोतरकारी
नेपाली बजारमा एक नयाँ अवधारणाका साथ २०१२ मा स्थापना भएको मेट्रोतरकारी घरगृहणीलाई एक सजिलो माध्यम बनेको छ । मेट्रोतरकारी एक ग्रोसरीको सामान उपलब्ध गराउने नेपालको पहिलो अनलाइन हो ।
यस अनलाइनले भान्सामा आवश्यक सम्पूर्ण सामाग्री घरमा नै उपलब्ध गराउँदै आएको छ । मानिस बजारमा तरकारी तथा फलफूल किन्नका लागि घण्टौ बजारमा दौडनु पर्दछ । यस परिस्थितिलाई मध्यनजर गर्दै मेट्रोतरकारीले घर घरमा सेवा दिने उद्देश्यका साथ शुरु गरेको कम्पनीले जनाएको छ ।

पुल्चोक ललितपुरबाट सेवा दिँदै आएको यस कम्पनीले सम्पूर्ण तरकारी, दाल, मासु, डेरीको उत्पादनहरु, अचार र फलफूल आवश्यकअनुसार अर्डर गर्न सकिन्छ । अनलाइन अर्डरको लागि केही समय खर्च गरेमा घरमा नै स्वच्छ, ताजा तरकारी र फलफूल पाउने माध्यम बनेको छ ।

यस अनलाइन व्यावसायले ललितपुर, भक्तपुर र काठमाडौंको रिङरोड भित्र मात्रै सेवा दिँदै आएको छ । त्यसैगरी साँगा र थानकोटमा पनि सामान पठाउने व्यवस्था छ तर यसको लागि ४ हजारभन्दा बढी मूल्यको किनमेल गर्न आवश्यक छ ।

९) गजबको
यस्तै गजबको अनलाइन सपिङ वेवसाइटबाट पनि विभिन्न सामाग्री जस्तै मोबाइल, इलेक्ट्रोनिक सामान, लुगा, बच्चाहरुको सामान, ग्रोसरी, घरको सजावट, गिफ्ट आइटम, ब्याग तथा घडीहरु किन्न सकिन्छ । यस अनलाइनमा नेपालमा उत्पादन भएका सामग्रीहरु पनि पाइन्छ । नेपाली ग्राहकले गजबकोमार्फत आफ्नो रुचिका सामान अनलाइन बुकिङ गर्न सक्छन् ।

१०) स्मार्ट डोको
यस्तै अर्को अनलाइन प्लेटर्फम हो स्मार्टडोको । स्मार्टडोकाले पनि सस्तो मूल्य र दु्रत गतिमा सामान डेलिभरी गर्दै आएको छ । आइएमएस ग्रुप कम्पनीले २०१५ मा स्थापना गरेको स्मार्टडोकोले विभिन्न सामग्री जस्तै साबुन, स्यानिटाइजर, मास्क, मोबाइल तथा इलेक्ट्रोनिक सामग्री, बच्चाको सामग्री, खाना पकाउन आवश्यक सम्पूर्ण सामग्री, कप्यूटर र गेमिङ, घरमा चाहिने सम्पूर्ण सामग्री, केकलगायत तरल पर्दार्थ जुस र मादक पदार्थजस्ता सामग्रीको ढुवानी गर्दै आएको छ ।

यस अनलाइनमा घरायसी तथा अफिसका सम्पूर्ण आवश्यक सामग्री उपलब्ध छन् । यदि कुनै सामानको आवश्यक परेमा अनलाइनबाट र मोबाइल एपबाट अर्डर गर्न सकिन्छ ।

स्मार्टडोकोले विभिन्न चाडपर्वमा विभिन्न छुटका साथ सेवा दिँदै आएको छ । यसमा पनि सामान किन्दा डेबिट कार्ड र ई–सेवाको प्रयोगबाट भुक्तानी गर्न सकिन्छ । यस अनलाइनले पनि सामान अनुसारको डेलिभरी चार्ज लिने गरेको छ ।


क्लिकमान्डु