अक्सफोर्ड विश्वविद्यालयले बनाउँदैछ कोरोना विरुद्ध नाकमा राखिने खोप, परीक्षण शुरु



काठमाडौं । कोरोना भाइरसका कारण संसार नै संकटमा परिरहेका बेलामा विभिन्न देश तथा अनुसन्धानकर्ताले खोप उत्पादन गर्ने अन्तिम तयारी गरिरहेका छन् ।

त्यसमा चीन, बेलायत, अमेरिका र रसियालगायतका मुलुक अग्रस्थानमा छन् । ती देशका खोपको बारेमा अनेकन अड्कलबाजीहरु समेत सार्वजनिक भइरहेका छन् । जानकारहरुका अनुसार आगामी केही महिनाभित्रै कोरोनाको आधिकारिक खोप सार्वजनिक हुनेछ ।

सबैभन्दा पहिले रसियाले सोभियतकालीन नाम दिएर स्पूतनिक ५ नामक खोप तयार भएको बताएको थियो । सो खोपको हाल परीक्षण भइरहेको छ । यस्तै विभिन्न चिनियाँ कम्पनीले समेत छुट्टा छुट्टै तरिकाले खोपको खोजी गरिरहेका छन् ।

रसियाली खोपको प्रयोगका बारेमा पश्चिमा सञ्चार माध्यम तथा अनुसन्धानकर्ताले संसय व्यक्त गरिरहेको बेला बेलायतको एक विश्वविद्यालयले गरिरहेको अनुसनधान समेत पुनः शुरु भएको छ ।

खोप परिक्षणमा सहभागी एक व्यक्ति बिरामी भएपछि केही समय रोकिएको खोप परीक्षण केही दिन पहिलेदेखि मात्रै पुनः शुरु गरिएको छ । यसै क्रममा कोरोनाको खोपको प्रतिक्षामा रहेका आम नागरिकलाई खुसी तुल्याउने खालको अर्को समाचार सार्वजनिक भएको छ ।

बेलायतको अक्सफोर्ड व्श्विविद्यालयले परम्परगात सिरिन्ज प्रयोग गरेर लगाइने खोपको विकल्पका सुँघेर लगाइने एक प्रकारको विशेष खोपको समेत परीक्षण गरिरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालय तथा इम्पिरियल कलेज लण्डनले सुँघेर लगाइने विशेष खोपको समेत सँगसँगै परीक्षण गरिरहेको छ । समाचार विवरणहरुमा जनाइए अनुसार बेलायतमा सुँघेर कोरोना भाइरस मार्ने खोपको परीक्षण शुरु भएको छ ।

परीक्षण गरिरहेका एक शोधकर्ताका अनुसार नेबुलाइजर तथा मुखमा खुवाइने एक प्रकारको विशेष खोप हालसम्म ३० जनामाथि प्रयोग गरिएको छ । उक्त खोप सिधै नाक, घाटीमा पुगेर विशेष प्रकारको काम गर्नेछ ।

त्यसले शरीरको प्रतिरोधी क्षमतामा थप वृद्धि गर्नेछ । एम्पिरियल कलेजको इन्फेक्सन डिडिज डिपार्टमेन्टका क्रिस चियूले फ्ल्यूको मामलामा नाकमा हालिने स्प्रे खोपको प्रभाव बढी सकारात्मक देखिएको बताए ।

उनले नाकमा राखिने विशेष रसायनसहितको स्प्रेले विगतमा पनि संक्रमणको मामिलामा राम्रो काम गरेको थियो र संक्रमणमा समेत कमी आएको थियो ।

उनले थप अगाडि भने, ‘हामी कोरोनाको मामिलामा समेत यस्तो खोपको प्रयोग थप प्रभावकारी हुने विश्वास लिएका छौ । नाकमा गरिने स्प्रे सबैभन्दा सुरक्षित समेत हुन जान्छ ।’

अक्सफोर्ड विश्वविद्यालयका खोप विशेषज्ञ साराह गिलवर्टका अनुसार यो खोप अन्य खोपको तुलनामा थप सुरक्षित सावित हुन सक्छ । यसले श्वासप्रश्वासलाई असाध्यै राम्रो गर्छ । यसले श्वास नलीमा समेत असाध्यै राम्रो प्रभाव पार्दछ ।

इम्पिरियल कलेजका खोप अझै क्लिनिकल परीक्षणको शुरुवाती चरणमा नै छ । यसको हाल ३० जनामा मात्रै परीक्षण गरिएको छ । सो कलेजका शोधकर्ता अनुसार सिरिञ्ज प्रयोग गरेर दिइने खोप भन्दा नाकमादिइने स्प्रे कोरोना भाइरसको नियन्त्रणका लागि थप प्रभावकारी हुनेछ ।


क्लिकमान्डु