क्लिन फिड लागू गर्न व्यवसायी तयार, भारतीय पक्षले पत्र पठाएर ६ महिना पर सार्न गर्यो माग



काठमाडौं । नेपालमा विदेशी च्यानल भित्र्याएर वितरण गर्दै आएका सेवा प्रदायकहरु क्लिन फिड लागू गर्न तयार भइरहेको बेला भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले ६ महिना थप गर्न समय मागेको छ ।

सरकारले आगामी कात्तिक १ गतेदेखि क्लिन फिड लागू गर्ने तयारी गरेको छ ।

नेपालका सबै जसो केवल सेवा प्रदायक, विदेशी च्यानल वितरक तथा सम्वद्ध सबै संस्था क्लिन फिड लागू गर्न तयार भएको बेला भारतीय पक्षबाट आएको पत्रले थप अन्यौलता उत्पन्न गरिदिएको छ ।

भारतीय पक्षले कोरोनाको कारण देखाउँदै नयाँ तयारी गर्न नपाएको भन्दै समय थप गर्न माग गरेको हो । नेपालका सबै जसो सम्वद्ध निकाय तयार भइरहेको बेला सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आवश्यक तयारी नगर्नु तथा सूचना तथा प्रसारण विभागले सो बारेमा प्रक्रिया अगाडि नबढाएको बेला भारतीय पक्षले नै समय थप गर्न भनेको हो ।

भारतीय ब्रोडकास्टिङ फाउन्डेसनले सूचना तथा सञ्चार सचिव हरि बस्याललाई पत्र पठाई समय सारिदिन भनेको हो ।

कोरोना महामारीका कारण प्राविधिक एवं व्यवस्थापकीय काम गर्न समस्या पैदा भएको भारतीय पक्षले पठाएको पत्रमा उल्लेख छ ।

नेपालमा लामो समयदेखि व्यापारी तथा व्यवसायी एवम् सम्वद्ध पक्षले समेत क्लिन फिड लागू गर्न माग गर्दै आएका थिए । सोही मागका आधारमा सरकारले विज्ञापन नीति नै ल्याएको हो ।

तर, कानून कार्यान्वयनमा जाने तयारी भइरहेको बेला कोरोनाको महामारी देखाएर वर्षौदेखिको माग कार्यान्वयन हुने चरणमा पुगेको बेला पुनः समय थप गर्नुपर्ने माग जायज नभएको एक विदेशी च्यानल वितरकले जानकारी दिए ।

ती वितरकले भने, ‘हामीले आवश्यक तयारी गरिसकेका छौ । हाम्रो तर्फबाट सबै तयारी पूरा भएको छ । प्राविधिक तयारी समेत सकिएको बेला सरकारले नै चासो नदेखाउँदा भारतीय पक्षले खेल्ने मौका पाएका छन् ।’

उनले कोरोनाको संक्रमण फैलन नदिने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर भएपनि थप तयारीका लागि आउन भारतीय पक्षलाई आग्रह गर्न सकिने बताए ।

मौका आएको बेला काम गर्न छाडेर अरुले के भन्छ भन्ने तर्फ ध्यान दिनु जरुरी नभएको ती च्यानल वितरकको भनाइ छ । क्लिन फिड लागू भए नेपालको विज्ञापन बजार विस्तार हुने विश्वास लिइएको छ ।

क्लिन फिड लागू हुन २ महिना बाँकी रहेको बेला सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई भारतीय ब्रोकास्टिङ फाउन्डेसनका सचिव राधाकृष्णनले पत्र पठाएका हुन् ।

अघिल्लो संघीय संसद अभिवेशनबाट विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ कात्तिक ८ गते प्रमाणीकरण भएको थियो । ऐनको परिच्छेद २ को ६ (१) मा विज्ञापनरहित प्रकाशन वा प्रसारण गर्नुपर्ने प्रावधान समेटिएको छ ।

ऐन प्रारम्भ भएको एक वर्षभित्र विदेशी च्यानलसँग डाउनलिंक गरी प्रसारण गर्न सम्झौता गरिसकेका संस्थाहरुले विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ ।

क्लिन फिडका लागि टेक्नोलोजिकल सोलुसन्स, डिकोडर्सको खरिद एवं परीक्षण, डिकोडर्सको डेलिभरी, वितरण तथा डिप्लोइमेन्टलगायतका कार्य अगाडि बढाउन नसकेको भारतीय पक्षले पठाएको पत्रमा उल्लेख छ ।

तर नेपालका व्यवसायी तथा सरोकारवालाले भने आफूहरु क्लिन फिडका लागि तयार रहेको बताएका छन् ।


क्लिकमान्डु