इँटा, सिमेन्ट, छड र पेन्ट्सको उत्पादन र माग घट्यो, संकट आउन सक्ने व्यवसायीको चिन्ता



काठमाडौं । लकडाउन र निषेधाज्ञाका कारण निर्माण सामग्रीको उत्पादनमा प्रभाव परेको छ । लामो समयको लकडाउन र निषेधाज्ञाले कम्पनी बन्द भएसँगै मजदुरहरू आफ्नो घर फर्किएकाले निर्माण सामग्री उत्पादनमा प्रभाव परेको हो ।

कोरोनाले निर्माण सामग्री उत्पादनमा मात्र होइन बजारमा माग पनि ह्वात्तै घटेको उद्योगीहरूले बताएका छन् । लामो समयको बन्दाबन्दी र निषेधाज्ञाले उत्पादन तथा बजार माग घटेकाले निकै मारमा परेको उनीहरूको भनाइ छ ।

इँटा उत्पादक संघका अनुसार मनसुन र कोरोनाले गर्दा इँटा उत्पादनमा ५० प्रतिशतले घटेको छ । इँटा मौसम अनुसार उत्पादन हुने भएकाले यो वर्ष मनसुन र कोरोनाले गर्दा ५० प्रतिशतले उत्पादन घटेको संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले बताए ।

‘हरेक वर्ष मंसिरबाट उत्पादन शुरु हुन्थ्यो तर मनसुनका कारण उत्पादन राम्रो हुन सकेको थिएन,’ उनले क्लिकमान्डूसँग भने, ‘फागुनबाट केही मात्रामा उत्पादन शुरु भएको थियो । तर, कोरोनाले गर्दा त्यो पनि उत्पादन गर्न पाएन ।’

वार्षिक ३ अर्ब रुपैयाँ बराबरको इँटा उत्पादन भइरहेकोमा यसवर्ष डेढ अर्ब रुपैयाँको मात्र उत्पादन भएको संघका अध्यक्ष चित्रकारले जानकारी दिए । उत्पादन कम भए पनि कोरोनाले गर्दा बजारमा माग कम भएकाले अभाव भने नहुने उनको भनाइ छ ।

हाल उपत्यकामा ११० वटा इँटा उद्योग सञ्चालन छन् भने एउटा उद्योगमा ३ देखि ४ सयसम्म मजदुर कार्यरत छन् । उपत्यकामा मात्रै ३० देखि ४० हजार मजदुरले रोजगारी पाएका थिए । तर, कोरोनाले गर्दा सबै कम्पनी बन्द भएसँगै बेरोजगार हुन पुगेको उनले बताए ।

कोरोनाले गर्दा सबै व्यवसाय बन्द भएको अवस्थामा इँटाको माग कम हुनु स्वाभाविक रहेको उनको बुझाइ छ ।

‘अहिले त ठीकै छ तर दशैं तिहारपछि पनि यस्तै अवस्था रहे व्यवसायमा संकट आउने पक्का छ,’ उनले भने, ‘धेरै घाटा खाएर नचल्ने स्थितिमा पुगेको र ५० प्रतिशतले उद्योग बन्द हुने अवस्था सृजना हुनेछ ।’

त्यस्तै कोरोनाको समयमा सिमेन्ट उतपादनमा पनि निकै प्रभाव परेको सिमेन्ट उत्पादक संघले जनाएको छ । कोरोनाको समयमा २० प्रतिशत मात्रै उत्पादन हुन सकेको सिमेन्ट उत्पादक संघका अध्यक्ष धु्रव थापाले बताए ।

वार्षिक १० मिलियन टन खपत हुनेमा अहिले उत्पादन २० मिलियन टनमा सीमित भएको छ । तर, कोरोनाको समयमा कर्मचारी काम गर्न आउन सकेको छैन । यसले गर्दा धेरै समस्यामा परेको उनले बताए ।

एकातिर आर्थिक मन्दी शुरु भएको छ भने अर्कोतिर कर्मचारीलाई मासिक तलब दिन नसक्दा उद्योगीहरु मारमा परेको उनी बताउँछन् ।

हाल नेपालभर ६२ वटा सिमेन्ट उद्योग छन् । ती क्षेत्रमा कार्यरत ४ देखि ५ सय कर्मचारीलाई मासिक तलब पनि दिन नसक्दा व्यवसाय धारासायीमा परेको उनको भनाइ छ ।

साथै बन्दाबन्दी लम्बिँदै जाँदा धेरै सिमेन्ट उद्योग बन्द हुने अनुमान लगाएका छन् । साथै, अहिले गोदाममा नै अबौंको सिमेन्ट थन्किएर बसेकोले अर्बौ घाटा व्यहोर्न बाध्य भएको उनले बताए ।

त्यसैगरी, सरकारले लकडाउनको घोषणा गरेसँगै अहिलेसम्म सबै रङरोगन उद्योग बन्द रहेको रङरोगन उत्पादन संघले जनाएको छ । लकडाउनका कारण कर्मचारी आवतजावत गर्न सक्ने स्थिति नरहेपछि सबै उद्योग बन्द अवस्थामा रहेको संघका अध्यक्ष विश्व प्रकाश साखले जानकारी दिए । उनका अनुसार ५० वटाभन्दा बढी उद्योगमध्ये ३,४ वटा उद्योगले चलायो होला । तर उत्पादन भने ठप्पै रहेको बताए ।

‘लकडाउन अगाडि मनसुनले गर्दा बाहिर रङ लगाउने अवस्था रहेन,’ उनले भने, ‘अहिले कोरोना भाइरसले बजार बन्द र काम गर्ने कर्मचारी अभावले गर्दा रङरोगनको उपभोग भने निकै कम भएको छ ।’

उनका अनुसार लकडाउन र निषेधाज्ञाले गर्दा ९० प्रतिशत बजारमा माग कम भएको बताए । विगतको दिनको तुलनामा १० प्रतिशतले मात्रै माग आएको उनी बताउँछन् ।
यस क्षेत्रमा सबैभन्दा मारमा सानो उद्योग परेको उनाको बुझाइ छ ।

‘पहिलो रङरोगन भनेको उधारोमा जाने सामाग्री भएका कारण पैसा उठाउन नसक्ने अवस्था रहेको छ । दोस्रोमा पसल खोल्न नसक्दा डिलरहरुले पैसा तिर्न नसक्ने अवस्थामा छन् । तेस्रोमा कोभिड–१९ महामारी शुरू भइसकेपछि कच्चा पदार्थ सप्लायर्सहरूले सबैले उधारोमा दिँदैनौं, हामीलाई नगद चाहिन्छ भन्ने अवस्था आएको छ,’ उनले भने ।

वार्षिक कुल उत्पादन १४ सय करोड रुपैयाँको उत्पादन हुनेमा खपत पनि त्यही अवस्थामा हुने गरेको उनले जानकारी दिए । तर, अहिले १४ सय करोडको बजार बन्दाबन्दीका कारणले धेरै खुम्चेको उनको भनाइ छ । ६ महिनाको बन्दाबन्दीमा उत्पादन भएका ७ सय करोड रुपैयाँको पनि खपत हुन सकेको छैन ।

त्यसैगरी, बलुवा तथा गिट्टी उत्पादनमा पनि आवतजावतमा बन्द गरेसँगै निकै कम उत्पादन भइरहेको उद्योगीहरूको भनाइ छ ।


क्लिकमान्डु