मेरो सेयरका कारण आइपीओमा आवेदन दिने लगानीकर्तामा हैरानी, बोरेयुग कै पुनरावृती



काठमाडौं । नेपालको सेयर बजार (प्राथमिक बजार)बाट बोरो युगको अन्त्य भएर अनलाइन प्रणालीमा आइसकेको छ । केही समय यस्तो अवस्था पनि थियो जतिबेला सीमित व्यक्तिले आफन्त, छरछिमेक, नातागोता सबैको नागरिकता जम्मा गरेर बोरोका बोरा कागजात जम्मा पारेर सेयर भर्दथे ।

तर अहिले त्यो युगको अन्त्य भएर घरमै बसेर एक क्लिकमा साधारण सेयरमा आवेदन दिने समय आएको छ । बोरे युग सकिएर आस्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्थामा गएर आवेदन दिने युगको शुरु भयो । त्यसले केही हदसम्म सजिलो भएको थियो । त्यसपछि लगानीकर्ताले घरमा नै बसेर अनलाइनमार्फत मेरो सेयरमार्फत आवेदन दिने युगको शुरु भयो ।

त्यसपछि आईपीओ भर्दा कम्प्युटरबाटै सेयरमा आवेदन दिन सकिन्छ भन्ने लगानीकर्ताको सोच बिचार त्यसैमा मात्रै सीमित बनेको छ ।

सिडिएससीले मेरो सेयरबाट घरमा नै बसेर आवेदन दिने व्यवस्था मिलाएको छ । तर पनि लगानीकर्ताहरुले सहजै आवेदन दिन पाएका छैनन् । सिडिएससीका अनुसार झण्डै ६ लाख ५० हजार लगानीकर्ताले मेरो सेयर लिएका छन् ।

हाल आईपीओमा ८० प्रतिशतभन्दा बढी मेरो सेयरबाटै आवेदन पर्ने गरेको छ । बाँकी लगानीकर्ता बैंक तथा वित्तीय संस्थामा गएर फर्म भरेर आवेदन दिने गरेका छन् । अहिले सरकारले जारी गरेको निषेधाज्ञाका कारण लगानीकर्ताले बैंक तथा वित्तीय संस्थामा आवेदन दिन सकेका छैनन् । मेरो सेयरले काम नगरेका कारण लगानीकर्ताहरुले अहिले बोरे युुगभन्दा पनि बढी दुःख झेल्नुपरेको छ ।

अहिले लगानीकर्ताले मेरो सेयर खोल्न सकेका छैनन् । खुली हाले पनि दिएको आवेदन भेरिफाइ नहुँदा लगानीकर्ता तनाबमा रहेका छन् ।
यतिबेला लगाीकर्तालाई आईपीओमा आवेदन दिनका लागि मेरो सेयरको बिकल्प पनि छैन । बिकल्पबिहीन बनेको सेयर सेयरले लगानीतकर्तालाई निकै हैरानी दिएको छ ।

यसअघि पनि मेरो सेयरमा यस्तै समस्या देखिएको थियो । त्यो बेला पनि सिडिएससीले मेरो सेयरको क्षमता बढाउने ब्यान्डविथ थप्ने भनेको थियो । तर ब्यान्डविथ नथप्दा लगानीकर्ताले अहिले धेरै नै हैरानी खेप्नु परेको छ । भनेको समयमा सेयरमा आवेदन दिन सकेका छैनन् ।

तर सिडिएससी भने एकै समयमा ५० हजारभन्दा बढीको लोड आएपछि मेरो सेयरले समयमा नै काम गर्न नसकेको तर्क गरेको छ । लोड बढी भएपछि ब्यान्डविथ थपिएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए । ब्यान्डविथ थपेको भएपनि अहिलेसम्म मेरो सेयरले प्रभावकारी रुपमा काम गर्न सकेको छैन ।

अहिले १७ लाख लगानीकर्ता रहेको र उनीहरुले एकै पटकमा कतिवटासम्म आईपीओमा आवेदन दिने खालको सिस्टम बनाउने भन्नेमा टुंगोमा पुुग्न आवश्यक रहेको बताए । आइपीओ सँधै नआउने र आएको समयमा सबै एकैपटक आउनुभन्दा पनि समय मिलाएर आउने व्यवस्था गरेर अघि बढनुको विकल्प नभएको प्रवक्ता न्यौपानेको भनाइ छ ।

एकै पटक तीन वटा कम्पनीको आईपीओ आउँदा मेरो सेयरमा लोड बढी भएको भन्दै आगामी दिनमा यसरी सँगै आइपीओ आउन नदिइ केही दिनको अन्तरमा आउन दिन सकेको खण्डमा यस्तो समस्या नदेखिने न्यौपानेको भनाइ छ ।

आगामी दिनमा यसरी एकै पटक आईपीओ आउनु भन्दा पनि सबैसँग समन्वय गरेर केही समयको अन्तरालमा आईपीओ आउनुको बिकल्प नभएको उनको भनाइ छ ।

मेरो सेयरले प्रभावकारीरुपमा काम नगरेपछि लगानीकर्ताले धितोपत्र बोर्डमा पनि गुनासो पनि गरेका छन् । बोर्डमा लगानीकर्ताले गुनासो गरेको भएपनि अहिले लगत्तै बोर्ड पनि केही गर्न सक्ने पक्षमा भने देखिएको छैन ।

पहिला एकै समयमा १६ हजारसम्म लोड हुने गरेको र अहिले ३० देखि ५० हजारसम्मले मेरो सेयर चलाउन थालेका छन् । जसले गर्दा लोड बढेको छ र वेवसाइट सुस्त गतीमा चलेको छ ।

अब समस्या पहिचान गरेर समाधान खोज्ने पक्षमा रहेको बताए ।

बोर्डका प्रवक्ता रुपेश केसीका अनुसार अहिले आईपीओ बिक्री भइरहेको समयमा कुरा गर्न नमिल्ने भएकोले यो सकिएपछि सिडिएसीसँग बसेर छलफल गर्ने र यसको दीर्घकालीन समाधान खोज्ने पक्षमा रहेको बताए ।

केसीका अनुसार बोर्डले यो समयमा आईपीओ जारी गर वा नगर भनेर भन्ने अवस्था नरहेको बताए । कम्पनीले यो समयमा आईपीओ ल्याउँदा बिक्छ भन्ने लागेर ल्याउने भएकाले त्यसमा केही भन्न नमिल्ने उनको तर्क छ ।

अहिले यो समस्या देखिएको र आगामी दिनमा यस्ता समस्या समाधान नहुने गरी काम गर्दै जाने बताए ।

भदौ ३ गतेदेखि लिबर्टी इनर्जी कम्पनीको र बिहीबारदेखि समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बिक्री शुरु भएको हो ।

बिक्री प्रबन्धकहरुले पनि एकैपटक आईपीओ जारी गरेको धितोपत्र बोर्डले पनि एकैपटक आईपीओ जारी गर्नका लागि अनुमति दिएसँगै मेरो सेयरमा भिड बढेको सिडिएसीको तर्क छ ।

लिबर्टी इनर्जीको आवेदन दिने अन्तिम दिन आज हो । समाज लघुवित्त वित्तीय संस्था र रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिने समय भोलिसम्म रहेको छ ।


क्लिकमान्डु