अधिकांश बैंक तथा वित्तीय शाखा कार्यालय बन्द, ग्राहकले डिजिटल कारोबार गर्नुपर्ने



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले कार्यालय बन्द गर्न थालेका छन् । कोरोना भाइरसको संक्रमण बैंकका कर्मचारीमा बढ्न थालेपछि बैंक तथा वित्तीय संस्थाले कार्यालय बन्द गरेका हुन् ।

अहिलेसम्म डेढ दर्जन बढी बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना पुष्टी भइसकेको छ । प्रत्यक्ष सेवाग्राहीको सम्पर्कमा आउने बैंकका कर्मचारी कोरोना पुष्टी हुँदा अन्यमा संक्रमणको जोखिम बढी हुन्छ ।

बैंकहरुले संक्रमण पुष्टी भएका कर्मचारी कार्यरत कार्यालय बन्द गराउनका साथै, सन्धाकालिन काउण्टर र एक्सटेन्सन काउन्टर बन्द गर्न थालेका हुन् । अहिले अधिकांशले आलोपालोमा ११ बजेदेखि ३ बजेसम्म मात्र शाखा कार्यालय खुल्ला हुने सुचना जारी गरेका छन्, भने कतिपयले एक्सटेन्सन काउण्टर बन्द गराएको सुचना जारी गरिरहेका छन् ।

हालसम्म दर्जन बढी वाणिज्य बैंकले उपत्यका भित्र र बाहिरका यस्ता शाखा र काउन्टर बन्द गराइसकेका छन् । उपत्यका भित्र र बाहिर गरी शाखा बन्द गराउनेमा एनआइशी एशिया, सानिमा, सिटिजन्स हिमालयन, कुमारी, मेगा, बैंक अफ काठमाण्डू र माछापुुच्छ्रे हुन् । यस्तै लक्ष्मी, प्रभु, प्राइम कमर्सियल, नेपाल एसबीआइ, सनराइज बैंक र सेञ्चुुरी कमर्सियल र एनएमबी बैंकले पनि सन्धाकालिन काउण्टर र एक्सटेन्सन काउन्टर बन्द गराएका छन् । विकास बैंक र फाइनान्स कम्पनीको अवस्थापनि त्यही नै छ ।

सरकारले लकडाउन खुल्ला गरेपनि कोरोना भाइरसको संक्रमण बढेका क्षेत्रमा स्थानिय तहले सेमी लकडाउन गरिरहेका छन् । यसअघि देश व्यापीरुपमा पुर्ण लकडाउन हुँदासम्म सरकारले बैंकिङ सेवालाई अत्यावश्य सेवामा वर्गिकरण गरी सुचारु गरेको थियो । तर अहिले भने दिनहँु बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई नै कोरोना भाइरसको संक्रमण देखिन थाले छ ।

सोहीकारण सम्बन्धीत क्षेत्रका स्थानियतहले बैंकिङ सेवा निश्चित समय तोकि बन्द गराइरहेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । केही स्थानिय तहले बैंक तथा वित्तीय संस्थालाई नगद कारोबार समेत बन्द गर्न निर्देशन दिएका छन् ।

बैंकर्स संघले पनि मंगलबार एक परिपत्र जारी गर्दै ग्राहकलाई डिजिलत माध्यमबाटै बैंकिङ कारोबार गर्न र अत्यावश्यक काम नभए सकेसम्म बैंक नआउन आग्रह गरेको छ ।


क्लिकमान्डु