हस्तकला र पस्मिनामा कोरोनाको कहर, ३ गुणा महंगो भाडामा पठाए पनि निर्यात ६०% घट्यो



काठमाडौं । नेपालबाट हुने व्यापारमा ठूलो निर्भरता रहेको हस्तकला र पस्मिना कोरोनाका कारण निर्यातमा गिरावट आएको छ । कोरोना भाइरसका कारण नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हस्तकला र पस्मिनाको निर्यातमा गिरावट आएको नेपाल हस्तकला र पस्मिना महासंघले जनाएको छ ।

पाँच महिनादेखि नियमित अन्तराष्ट्रिय उडान बन्द भएपनि हस्तकला र पस्मिनाले कार्गोमार्फत् सामान निर्यात गरिरहेका छन् । तर यस अवधिमा विगतको तुलनामा भारी गिरावट आएको महासंघले जनाएको छ ।

नेपालबाट विभिन्न युरोप देशलगायत अन्य ८० देशमा निर्यात हुने गरेको नेपाल हस्तकला महासंघले जनाएको छ । विगतको दिनमा ८० देशमा निर्यात हुने अहिले थोरै मात्रमा ४०/४२ देशमा निर्यात भइरहको महासंघका निमित्त महानिर्देशक ऋषि सुवेदीले जानकारी दिए ।

तीन गुणा बढी भाडा
नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै हस्तकला र पस्मिना निर्यात गर्नका लागि तीन गुणा बढी कार्गो भाडा तिर्न बाध्य भएको हस्तकला र पस्मिना महासंघले जनाएको छ । नेपालबाट लकडाउनको बेला पनि केही देशहरूले आयात गरिरहेका भए पनि कार्गो भाडा भने तीन गुणाले बढेको छ ।

विगतको दिनमा ८० वटा देशमा निर्यात गरिरहेको बेला अहिले केही सीमित देशमा मात्रै निर्यात गरिरहेको हस्तकला महासंघमा निमित्त महानिर्देशक सुवेदीले बताए ।

‘लकडाउनको समयमा पनि आयात गर्ने देशहरूमा महंगो भाडा भए पनि पठाइरहेका छौं,’ महानिर्देशक सुवेदीले भने, ‘माग आएको देशमा पठाएन भने पछि कुनै पनि सामान आयात गर्दैनन् । जसले गर्दा आयातकर्ताको माग अनुसार आफ्नो सम्बन्धका लागि पनि पठाउनुपर्ने बाध्यता छ ।’

लकडाउनअघि विभिन्न देशमा निर्यात भइरहेको हस्तकला र पस्मिना आयात गर्ने सम्बन्धमा केही देशले रद्द गरेको उनले जानकारी दिए । जसले गर्दा धेरै घाटा बेहोर्नु परेको उनको भनाइ छ । साथै, विश्व नै कोरोनाले आक्रान्त भएका बेला अन्तर्राष्ट्रिय बजारमा पनि माग कम भएको व्यावसायीको भनाइ छ ।

हाल अमेरिका, यूरोप, बेलायत, जर्मन, जापानलगायत अन्य ४२ देशमा निर्यात भइरहेको छ । नेपालबाट सामान निर्यात गर्दा प्रतिकेजीको हिसाबले भाडा तिर्नुपर्ने हुन्छ । त्यस्तै लकडाउनको समयमा निर्यात भएको मध्ये अमेरिकामा पहिले प्रतिकेजी ३ डलर भाडा रहेकोमा अहिले त्यो बढेर ९ डलर पुगेको छ । त्यसैगरी २ डलर रहेको जापान पठाउन अहलि ४ तिर्नु परेको छ ।

त्यसैगरी बेलायतमा ३ डलरमा पठाउँदै आएकोमा अहिले ७ डलर, ३ डलर रहेको जर्मनीमा अहिले ९डलर पर्ने उनले जानकारी दिए ।

निर्यातमा ६० प्रतिशतले गिरावट
लकडाउनको समयमा पनि निरन्तर उत्पादन भइरहेको हस्तकला तथा पस्मिनामा लकडाउनको अवधिमा ६० प्रतिशतले गिरावट आएको महासंघले जनाएको छ ।

वार्षिक १० अर्ब देखि १५ अर्ब कारोबार हुनेमा अहिले लकडाउनले गर्दा कारोबार निकै सुस्त बनेको छ ।

साथै, उत्पादन भइरहेको हस्तकला र पस्मिना सबै नेपाली बजारमा स्टकको रुपमा थन्किरहेको हस्तकला महासंघको महानिर्देशकले बताए ।

नेपालमा ४२ प्रकारभन्दा बढी हस्तकला र पस्मिना उत्पादन हुन्छ । तीमध्ये अहिले २०÷२२ प्रकारको मात्र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकेको उनले बताए ।

परम्परागत हस्तकलामा बढी प्रभाव
अहिले नेपालमा दुई प्रकारको हस्तकला उत्पादन हुने गर्दछ । पछिल्लो समय आधुनिक तथा परम्परागत हस्तकला दुबै प्रकारका हस्तकला बजारमा पाइन्छ । लकडाउनको समयमा पनि उत्पादनमा कुनै असर नपर्ने यो क्षेत्रमा कोरोनाको समयमा पनि राम्रो उत्पादन भएका छन् ।

यस्तै, बजारमा पछिल्लो समय आधुनिक र परम्परागत उत्पादन भएको बेला परम्परागत रुपमा उत्पादन भइरहेको मूर्तिकला, चित्रकला, थाङ्का, काष्ठकलालगायत संस्कृति झल्काउने प्राचिन हस्तकला कोरोनाको कारण बढी प्रभाव परेको महासंघको दाबी छ ।

विगतको दिनमा पर्यटनलाई मात्र लक्षित गरी हस्तकलाको उत्पादन हुन्थ्यो भने पछिल्लो समय स्वदेशी उपभोक्तालाई पनि लक्षित गरी हस्तकलाको उत्पादन बन्न थालेको महासंघका महानिर्देशक सुवेदीले बताए ।

पस्मिनाको व्यापार संकटमा
यस्तै, नेपालबाट व्यापारमा बढी निर्यात रहेको पस्मिनाको व्यापार संकटमा परेको पस्मिना महासंघले जनाएको छ । नियमित अन्तर्राष्ट्रिय उडान भएसँगै पस्मिनामा ६० देखि ६५ प्रतिशतले गिरावट आएर २५ देखि ३० प्रतिशतले मात्र आयात गर्न सकेको नेपाल पस्मिना महासंघका अध्यक्ष दुर्गा विक्रम थापाले बताए ।

‘पस्मिना उद्योग अहिले निकै जटिल अवस्था छ, ‘उनले क्लिकमान्डूसँग भने, ‘लकडाउनको बेलामा कलिहेकाहीँ उडान हुने कार्गोमा तीन गुणाभन्दा बढी भाडा तिर्न बाध्य भएकाले व्यावसायी मारमा परेका छन् ।’

उनका अनुसार प्रतिकेजी ३ डलरमा लाने पस्मिना अहिले १२ देखि १४ पुगेको बताए ।

हस्तकला र पस्मिना सबैभन्दा बढी यूरोप देशमा निर्यात हुने गर्दछ । तर, कोरोनाले गर्दा अन्तर्राष्ट्रिय बजारमा माग पनि कम र भएका सामान पनि व्यापार गर्न नपाउँदा धेरै मारमा परेको उनको भनाइ छ ।

यसैगरी, व्यावसायीको लागि गत जेठ १५ गतेकोे बजेट भाषणमा राष्ट्र बैंकबाट व्यावसायीलाई विशेष सहुलियत दिने भनिएको थियो । त्यसपछि साउन २ मा मौद्रिक नीति पनि निर्यातमा सघाउ पुग्नेगरी आएको थियो । तर, साउन महिना बितिसक्दा पनि कुनै कार्यान्वयन नभएको र व्यावसायले कुनै पनि सुविधा लिन नसकेको पस्मिना महासंघका अध्यक्ष थापाको भनाइ छ ।


क्लिकमान्डु