९१ मुलुकका श्रमिक नेपालमा, भारतीय नागरिकलाई श्रम स्वीकृतिको प्रावधान छैन



काठमाडौं । नेपालले संस्थागतरुपमा वैदेशिक रोजगारीका लागि ११० मुलुक खुला गरेको छ । तर, व्यक्तिगतरुपमा १७२ भन्दाबढी मुलुकमा नेपाली कामदारले काम गरिरहेका छन् ।

नेपालबाट करिब वार्षिक ५ लाखको हाराहारीमा विदेशिने गर्दछ । यसमा सबैभन्दा बढी अदक्ष कामदार जाने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

यस्तै, नेपालमा पनि हालसम्ममा ९१ मुलुकमा विदेशी श्रमिक नेपालमा आएर श्रम गरिरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मातहतको श्रम तथा व्यावसायजन्य सुरक्षा विभागले जनाएको छ ।

छिमेकी मुलुक भारतबाट नेपालमा श्रम गरिरहेको भारतीय नागरिक उल्लेखनीय छ । तर, नेपाल सरकारसँग नेपाली बजारमा कति भारतीय छन् भन्ने कुनै तथ्यांक छैन् । भारतका नागरिकले नेपालमा आएर कुनै पनि श्रम स्वीकृति बिना नै काम गरिरहेको पाइन्छ ।

१० हजारबढी विदेशीले लिए श्रम स्वीकृति
श्रम विभागले आर्थिक वर्ष २०६९/७० देखि विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृति दिन थालेको हो । नेपालमा श्रम स्वीकृति दिन थालनी गरेदेखि हालसम्ममा १० हजार ३७१ विदेशी श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

श्रम विभागले आर्थिक वर्ष २०६९/०७० मा ९ सय ८४ विदेशीलाई श्रम स्वीकृति दिएको थियो । यस्तै आव २०७०/७१ मा ७ सय १९, आव २०७१/०७२ मा २ हजार १९, आव २०७२/०७३ मा १ हजार ४ सय ७२ विदेशी नागरिकलाई श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ ।

यसैगरी आव २०७३/०७४ मा १ हजार ३ सय २४ नयाँ श्रम स्वीकृति प्रदान गरिएको थियो भने सोही आवमा ६ सय ४८ श्रम स्वीकृति नवीकरण गरेको थियो ।

आव २०७४/०७५ मा १ हजार ६ सय ८ नयाँ श्रम स्वीकृति र ९ सय ६२ नवीकरण तथा आव २०७५/७६ मा एक हजार १ सय १९ नयाँ श्रम स्वीकृति र ८ सय ६२ श्रम स्वीकृति नवीकरण गरेको थियो । त्यसैगरी आव २०७६/७७ मा नयाँ श्रम स्वीकृति एक हजार १ सय २६ र ९ सय ६० जनाले नवीकरण गरेका छन् ।

सबैभन्दा बढी चिनियाँ
नेपालमा विभिन्न ९१ मुलुकका विदेशी श्रमिकले श्रम गरिरहेका छन् । त्यसमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक छ । नेपालमा २०७३ को पुसदेखि साउनसम्ममा ४ हजार २ सय ८७ जना चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका छन् ।

त्यसमध्ये २ हजार ९ सय ६७ जनाले नयाँ श्रम स्वीकृति लिएका छन् भने १ हजार ३ सय जना २० ले नवीकरण गरेका छन् । त्यसमा ४ हजार १४ जना पुरुष छन् भने २ सय ७३ जना महिला रहेका छन् ।

त्यसैपछि नेपालमा सबैभन्दा बढी आउने बेलायतबाट रहेको छ । बेलायतबाट ८ वर्षमा ३ सय १९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यसमध्ये एक सय १८ जना नयाँ श्रम स्वीकृति लिएका छन् भने २ सय १ जनाले नवीकरण गरेका छन् । साथै, अन्य देशमा अमेरिका, दक्षिण कोरिया, उत्तर कोरिया, अष्ट्रेलिया रहेको छ ।

आईनजीओ र ठूला परियोजानमा विदेशी श्रमिक
सामान्यतया विदेशी नागरिक आएर काम गर्ने खालको कम्पनीमा नेपालमा छैनन् । तर, आईएनजीओ, एनजीओ र ठूला परियोजनामा मात्र विदेशी श्रमिक रहेको श्रम विभागका निर्देशक मणिनात गोपले जानकारी दिए ।

उनका अनुसार कुनै पनि देशसँग सम्झौता भएको ठूला परियोजनामा विदेशी नागरिक नभई नहुने अवस्थामा मात्रै विदेशी नागरिकलाई श्रम स्वीकृति दिने गरेको बताए । उनले भने, ‘नेपालमा परियोजना अनुसार दक्ष कामदार नपाएको खण्डमा मात्रै विदेशी श्रमिकलाई श्रम स्वीकृति दिने गरेको छ ।

सहज छैन श्रम स्वीकृति लिन
विदेशी नागरिकलाई श्रम स्वीकृति दिने प्रक्रिया भने त्यति धेरै सहज छैन । कुनै पनि संस्थालाई विदेशी नागरिकको आवश्यक छ भने पहिले सबै खुलाएर विशेषज्ञताको विज्ञापन गर्नुपर्दछ ।
नेपालबाट विदेश जाने बेलामा सबैभन्दा अगाडि नेपालबाट श्रम स्वीकृति लिएको हुनुपर्छ । तर, विदेशी नागरिकलाई भने नेपालमा भिजिट भिसामा आएर मात्र श्रम स्वीकृतिको लागि निवेदन गर्नुपर्ने प्रावधान रहेको छ ।

‘नेपालमा आएपछि कुन संस्थाको लागि आएको हो त्यही अनुसारको मन्त्रालयको सिफारिस लिनुपर्दछ,’ विभागका निर्देशक गोपले क्लिकमान्डूसँग भने, ‘त्यसपछि विदेशी श्रमिकको श्रम स्वीकृति जारी गर्नका लागि गृह मन्त्रालयको सिफारिस आवश्यक पर्दछ ।’

श्रम स्वीकृतिको लागि विदेशी नागरिकले सम्बन्धित संस्थाको मन्त्रालयको सिफारिस, गृह मन्त्रालयको सहमति र रोजगारदाताको सम्झौता मागजपत्रसहित विभागमा पेश गरेपछि मात्र श्रम स्वीकृति लिन पाउने व्यवस्था रहेको निर्देशक गोपले बताए ।

६ महिना र १ वर्षको मात्र श्रम स्वीकृति
सामान्यतया नेपाली वैदेशिक रोजगारीमा जाँदा कम्तीमा दुई वर्षको लागि श्रम स्वीकृति लिन पाउँछन् । त्यसपछि नवीकरण गर्नुपर्ने प्रावधान छ । श्रम नियमवली, २०७५ मा विदेशी नागरिकलाई ६ महिनासम्मको अवधिको लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँ र एक वर्षका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँ श्रम स्वीकृति शुल्क तोकिएको छ । त्यसपछि पटक–पटक नवीकरण गर्नुपर्दछ । जसमा प्रत्येक वर्ष नवीकरण गर्दा २० हजार रुपैयाँ लाग्नेछ ।

बढीमा ७ वर्ष काम गर्न पाउने
नेपाल सरकारले विदेशी नागरिकलाई ६ महिनादेखि एक वर्षसम्मका लागि मात्र श्रम स्वीकृति दिए प्रत्येक वर्ष नवीकरण गरी पाँच बढीमा वर्षसम्म नेपालमा श्रम गर्न पाउनेछन् ।
विभागका निर्देशक गोपले भने, ‘विदेशी नागरिकलाई बढीमा ३ वर्षको लागि श्रम स्वीकृति दिन सन्छन् तर नियमावलीमा दक्ष कामदारलाई बढीमा ५ वर्षसम्म स्वीकृति दिने व्यवस्था मिलाएको छ ।’

यस्तै, कुनै पनि विदेशी नागरिकले नेपाल सरकारको लागि ५ वर्षको अवधिका उल्लेखनीय योगदान गरेको खण्डमा मात्रै ५ वर्षमा थप २ वर्ष स्वीकृति दिने व्यवस्था गरेको निर्देशक गोपले बताए । जसले गर्दा विदेशी नागरिकले ७ वर्ष श्रम गर्न पाउनेछन् । तर, ७ वर्ष पछि विदेशी नागरिक नेपाल बस्न पाउँदैनन् ।

भारतीय नागरिकलाई छैन् प्रावधान
श्रम नियामवाली २०७५ मा भारतीय कामदारको अभिलेख राख्ने र श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ ।

साथै, गत जेठ १५ गते बजेट भाषणमा अर्थमन्त्री डा. युवाराज खतिवडाले श्रम स्वीकृति विना कुनै पनि विदेशी नागरिकले श्रम गर्न नपाउने भनिएको छ । साथै, नेपालमा श्रम स्वीकृति अनिवार्य घोषणा गरेको छ ।

तर, नेपाल र भारतको खुला नाका र सन् १९५० को शान्ति तथा मैत्री सन्धिका अनुसार दुबै सरकारले औद्योगिक आर्थिक र विकास सम्बन्धि ठेक्कामा भाग लिन राष्ट्रिय व्यवहार कबुल गर्ने उल्लेख भएकाले कुनै श्रम स्वीकृतिको प्रावधान नरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।

नेपालमा श्रम गरिरहेका भारतीय नागरिक उल्लेखनीय छ भने नेपालबाट भारतमा गएका नेपालीको संख्या पनि उल्लेखनीय छ । यदि भारतीय नागरिकलाई पनि अनिवार्य श्रम स्वीकृतिको व्यवस्था गर्नको लागि सरकारले पहिलो कुन उदोग तथा व्यावसायमा कति भारतीय छ भन्ने पहिचान गर्नुपर्ने उनको भनाइ छ । साथै, श्रम स्वीकृति लिनुपर्ने भनिएता पनि खुल्ला नाका कारण निकै कठिन हुने उनको बुझाइ छ ।


क्लिकमान्डु