अधिक तरलताको मारमा बैंकहरु, सस्तो ब्याजदरमा निक्षेप जम्मा गर्न राष्ट्र बैंकमा भिड



काठमाडौं । वित्तीय बजारमा अधिक तरलता भएसँगै नेपाल राष्ट्र बैंकमा पैसा बुझाउन बैंकहरुको भिड लागेको छ ।
बैंकहरुले आफूसँग लगानी योग्य रकम थुप्रिएपछि न्यून व्याजदरमा नै माग भन्दा बढी रिभर्स रिपोमा पैसा राख्न आवेदन दिएका हुन् ।

बजारमा अधिक तरलता हुँदा केन्द्रीय बैंकले वित्तीय औजार प्रयोगमार्फत रिभर्स रिपो जारी गरी पैसा तान्ने गर्छ । तरलता अभाव हुँदा रिपो जारी गरी बजारमा पैसा पठाउने गर्दछ ।

राष्ट्र बैंककाअनुसार बजारमा अहिले १ सय ८६ अर्ब ७० करोड रुपैयाँ अधिक तरलता छ ।

साउनयता राष्ट्र बैंकले २०/२० अर्ब रुपैयाँ गरी ३ पटक रिभर्स रिपो जारी गरिसकेको छ । जारी रिभर्स रिपोमा अधिकांश वाणिज्य बैंकले नै आवेदन दिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

‘अहिलेसम्म आवेदनपनि वाणिज्य बैंकहरुको नै बढी छ , जसकारण राष्ट्र बैंकले पैसा पनि वाणिज्य बैंकहरुको नै रिभर्स रिपोमार्फत् लिएका छन् ’ उनले भने ।

राष्ट्र बैंकले बिहीबार २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । त्यसमा १७ वटा वाणिज्य बैंकले ७० अर्ब ९० करोड रुपैयाँका लागि ७७ आवेदन दिएका थिए ।

त्यसमा कृषि विकास, सिद्धार्थ, सनराइज, हिमालयन, सिटिजन, नेपाल बैंक र प्रभु बैंकको आवेदन स्वीकृत गरिएको भट्टले जानकारी दिए । सो रिभर्स रिपो यही साउन २९ गते परिपक्व हुन्छ ।

सो रिभर्स रिपोमा पैसा राखे वापत बैंकहरुले अधिकतम ०.०२२८ प्रतिशत ब्याज राष्ट्र बैंकले निर्धारण गरेको छ । जुन हालसम्म जारी रिर्भस रिपोमध्ये सबैभन्दा कम हो ।

यसअघि साउन ८ गते रिपोमा ०.०४६ प्रतिशत र साउन १५ को रिपोमा ०.०३३ प्रतिशत ब्याज राष्ट्र बैंकले दिएको थियो ।
चालु आर्थिक वर्षमा पहिलो पटक साउन ८ गते जारी गरिएको २० अर्ब रुपैयाँको रिर्भस रिपोमा २२ वटा बैंकले ६८ अर्ब २० करोड रुपैयाँका १३५ आवेदन परेको थियो ।

यसैगरी, दोस्रो पटक २० अर्ब रुपैयाँको रिभर्स रिपोमा १९ वटा बैंकले ८३ अर्ब ५ करोड रुपैयाँ बराबरको १२३ वटा आवेदन परेको थियो ।


क्लिकमान्डु