जलविद्युत् आयोजनाले उठायो ३ अर्ब रोयल्टी, तर आयोजनाको प्रगति निराश



काठमाडौं । देशभित्र हाल सञ्चालनमा रहेका जलविद्युत् आयोजनाबाट झण्डै ३ अर्ब रुपैयाँ बराबरको रोयल्टी संकलन भएको छ ।

विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा कूल २ अर्ब ८७ करोड ९३ लाख ५९ हजार ४०४ बराबरको रोयल्टी संकलन भएको छ ।

विभागका अनुसार हालसम्म देशभित्र कूल ९० जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । ती आयोजनाबाट कूल १ हजार २२३ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

जलविद्युत् आयोजना भएका जिल्ला तथा गाँउपालिकालाई रोयल्टी रकम उपलब्ध गराइनेछ । यस्तै विभागले १०६ आयोजनालाई विदेशी मुद्रा सटहीको सुविधा दिइएको छ । विभागले ५३९ आयोजनालाई भन्सार महसुल तथा मूल्य अभिवृद्धिकर छुट दिइएको छ । यस्तै ४३ आयोजनाको स्थलगत निरीक्षण गरिएको जनाएको छ ।

विभागले सो आवमा कूल १ हजार ७७२ मेगावाट क्षमताका कूल ३८ आयोजनालाई विद्य्ुत् सर्वेक्षण अनुमतिपत्र दिएको छ । यस्तै विद्यु्त् उत्पादनतर्फ कूल ७१२ मेगावाट क्षमताका कूल ३७ आयोजनालाई अनुमति दिएको छ ।

४०० केभीका ५ आयोजनालाई अनुमति
विभागले सोही आवमा उच्च क्षमताको ५ प्रसारण लाइनलाई अनुमति दिएको छ । कूल १४ आयोजनाले अनुमतिका लागि आवेदन दिएपनि विभागले ५ वटालाई मात्रै सर्वेक्षणको अनुमति दिएको हो । ती प्रसारण लाइन ४६६ किलोमिटर छ । आवेदन दिएका मध्ये सबैले पाएको भए १ हजार २४० किलोमिटर बराबरको थियो ।

पूर्व पश्चिम राजमार्गको समानान्तर रुपमा निर्माण भइरहेको प्रसारण लाइनको क्षमता समेत ४०० केभी कै छन् । यस्तै उत्तर दक्षिण नदी करिडोरमा निर्माण हुने प्रसारण लाइनको क्षमता समेत ४०० केभीका नै छन् । यस्तै काठमाडौंको नाङलेभारेदेखि बुटवलसम्म निर्माण हुने ३१२ किलोमिटर लामो प्रसारण लाइनको क्षमता समेत ४०० केभीको छ । सो प्रसारण लाइन अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशनको सहयोगमा निर्माण हुन लागेको छ ।

सत्तारुढ दल नेकपाभित्रको विवादले सो आयोजना हाल होल्डमा छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सो आयोजनासम्बन्धी सम्झौता र आयोजना होल्डमा रहेको बताएका थिए । यस्तै विभागले २२० केभी क्षमताका २ वटा प्रसारण लाइन आयोजनाले अनुमति पाएका छन् ।

प्रगति निराशाजनक
विभागको भौतिक तथा वित्तीय प्रगति भने निराशाजनक रहेको पाइएको छ । विभागमा पहिलो प्राथमिकतामा रहेका आयोजनाको भौतिक प्रगति ७१ प्रतिशत रहेको छ ।

यस्तै वित्तीय प्रगति भने ७१ प्रतिशत रहँदा अन्य आयोजना जुन वर्षौ अघिदेखिका थिए, उनीहरुको अवस्था भने निराशाजनक छ । विद्युत् विकासमा निजी क्षेत्रको प्रवर्द्धन  गर्ने जिम्मेवारी समेत पाएको विभागले ४१ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । जलविद्युत् आयोजना अध्ययनतर्फ ५१ प्रतिशत वित्तीय प्रगति रहेको छ ।

जलविद्युत् आयोजना सम्बन्धी मापदण्डको अध्ययनतर्फ भने शुन्य प्रतिशत वित्तीय तथा भौतिक प्रगति भएको छ । झण्डै २० र्वादेखि चर्चामो शिखरमा रहेको बुढीगंगा जलविद्युत् आयोजनाको वित्तीय प्रगति मात्रै ४.१२ प्रतिशत रहेको छ । सो आयोजना निर्माण शुरु हुन नुसकेपनि भौतिक प्रगति भने ६२ प्रतिशत देखाइएको छ ।

त्यस्तै सप्तकोशी बहुउद्देश्यीय आयोजना तर्फ पनि वित्तीय प्रगति मात्रै ३० प्रतिशत रहेको छ । त्यसको भौतिक प्रगति मात्रै २८ प्रतिशत रहेको छ । नेपाल भारत सीमा क्षेत्र महाकाली नदीमा निर्माण हुने भनिएको पञ्चेश्वर जलविद्युत् आयोजनाको भने हालसम्म विस्तृत परियोजना प्रतिवेदन नै तयार हुन सकेको छैन । सो आयोजनाको भौतिक प्रगति शुन्य रहेको छ । कर्मचारी तथा कार्यालय सञ्चालनमा नाममा भएको वित्तीय प्रगति भने ४६ प्रतिशत रहेको छ ।


क्लिकमान्डु