चाउचाउको मूल्य बढ्यो, यस्तो छ कारण



काठमाडौं । तपाईंले पछिल्लो समय चाउचाउ किन्नुभयो ? यदी किन्नुभयो भने पहिलेको भन्दा बढी मूल्य परेको कुरा तपाईंलाई पक्कै पनि तपाईंलाई थाहा भएको हुनुपर्छ ।

बढी मूल्य तिनुपर्दा तपाईंको मनमा प्रश्न उठ्यो होला- लकडाउनको बेला व्यापारीहरुले मूल्य बढाउने मौका छोपेछन् ।

यसअघि तपाईंले खुद्रा पसलमा वाइवाइ चाउचाउ किन्दा २० रुपैयाँ पर्थ्यो । अहिले किन्न जानुभयो भने २५ रुपैयाँ पर्छ ।

उपभोक्ताले सबैभन्दा बढी रुचाएको र बजारमा सबैभन्दा बढी पाइने वाइवाइ कम्पनीका चाउचाउ हुन् । वाइवाइका विभिन्न तौल र नामका चाउचाउ बजारमा पाइन्छ । कम्पनीले यसअघि बजारमा पठाउने ७० ग्रामको ग्रामका वाइवाइ अहिले १०० ग्राम तौलमा प्याकेजिङ भएर बजारमा आएको छ । जसको मूल्य कम्पनीले २५ रुपैयाँ तोकेको छ ।

त्यसैगरी, कम्पनीले यसअघि बजारमा पठाएरहेको ७० ग्राम तौलको वाइवाइ क्वीकको अहिले ७५ ग्राममा प्याकेजिङ भएर बजारमा आएको छ । कम्पनीले यसको मूल्य २ रुपैयाँले बढाएर २० रुपैयाँ निर्धारण गरेको छ ।

अन्य कम्पनीका चाउचाउहरुमा रमपम, टू पीएम, रारा, रुची, लाली, करेन्टलगायत पनि यस अघि उत्पादन र प्याकेजिङ भएर आएका ५० ग्रामभन्दा बढी र ७५ ग्रामभन्दा थोरै तौल चाउचाउको मूल्य कम्पनीले बढाएको छैन ।

तर अब उत्पादन भएर प्याकेजिङ हुँदा भने यी कम्पनीका चाउचाउको तौल ७५ ग्राम र नयाँ मूल्यमा आउँछ ।

कम्पनीहरुले पछिल्लो समय ५० ग्रामभन्दा बढी र ७५ ग्रामभन्दा थोरै तौल बजारमा पठाएका छैनन् । कम्पनीहरुले १५/१८ रुपैयाँ एमआरपी तोकेर पठाउने विभिन्न तौलमा चाउचाउको तौल अहिले ७५ ग्राम भइसकेको छ । साथै कम्पनीले १८ रुपैयाँ एमआरपी ७५ ग्राम तौल भएका चाउचाउको प्याकेटको समेत २० रुपैयाँ मूल्य निर्धारण गरेका छन् ।

यो मूल्य वृद्धि लकडाउनले गर्दा कच्चा पदार्थको आपुर्तिमा समस्या वा त्यसको मूल्य वृद्धिका कारणले भने होइन । यस प्रकारले मूल्य बढ्दा साधारण बुझाइमा मूल्य बढेको देखिएपनि वास्तवमा भने उपभोक्ताले सामानको तौलअनुसार नै मूल्य तिरेका हुन्छन् ।

तर बजारमा केही भण्डाकर तथा होलसेल र खुद्रा व्यपारीले भने पुरानै तौलका चाउचाउलाई पनि मूल्य बढाएर बिक्री गरिरहेका छन् ।

चाउचाउको मूल्य बढाएको गुनासो बजारबाट उपभोक्तासँगै केही खुद्रा पसलेहरुको पनि आएको उद्योग, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक आचार्यले जानकारी दिए ।

‘होलसेल व्यापारीले पुरानै तौलका चाउचाउलाई पनि मूल्य बढाएर खुद्रा व्यापारीलाई बेचेको गुनासो पनि आइरहेका छन्,’ उनले भने, ‘केही भण्डारकहरु त मूल्य बढ्छ भनेर थाहा भएपनि स्टकमा सामान राखेर बस्छन् र पछि पुरानै सामानलाई नयाँ भनेर बेच्छन् ।’

यसप्रकारका गैरकानुनी कारोबारलाई कालो बजारी ऐनले समेट्ने र सोही अनुसारका कारबाही हुने उनले बताए ।

यदी बजारमा कुनैपनि व्यापारीले पुरानै ५० ग्रामभन्दा बढी र ७५ ग्रामभन्दा कम तौलका चाउचाउलाई कुनैपनि बहानाबाजी गरेर बढी मूल्य लिएमा उद्योग, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग सुचना दिएमा त्यस्ता कम्पनी र व्यापारीलाई तत्काल कारबाहीको दायरामा लाइने विभागले जनाएको छ ।

तर उपभोक्ता स्वयंले नै आफुले खरिद गरिरहेको चाउचाउको तौल र मूल्य निक्योल गर्न भने आवश्यक छ ।

अधिकांश नेपालीको खाजा चाउचाउ नै हो भन्दा फरक पर्दैन । स्वादिलो, बनाउन छिटो र मूल्य पनि सस्तो भएकै कारण उच्च घरानादेखि गरिबको भान्सामा पनि चाउचाउ खाजामा प्रयोग हुन्छ ।

काँचै खान सकिने हुँदा यात्रा गर्दा होस् या विद्यालय, कार्यालय चाउचाउका प्याकेट झोलामा बोक्ने धेरै हुन्छन् । गरिबदेखि धनी र बच्चादेखि वृद्धासम्मले प्रयोग गर्ने चाउचाउको प्रतिप्याकेट पर्ने मूल्यले धेरै महत्व राखेको हुन्छ ।

बजारमा अहिले सबैभन्दा बढी पाइने आन्तरिक उत्पादनका चाउचाउ वाइवाइ, रमपम, टु पीएम, रारा, रुची, लाली, करेन्टलगायत हुन् ।  यी चाउचाउको मूल्य प्रतिप्याकेट १५ रुपैयाँदेखि ६० रुपैयाँसम्म पर्न जान्छ । तर पछिल्लो केही दिनयता भने बजारमा चाउचाउको मूल्य बढेको छ ।

कसरी बढ्यो मूल्य ?

प्रायजसो उपभोक्ताले मोहरबन्द प्याकेटमा पाउने सामान तौलभन्दा बढी मूल्यमा मात्र ध्यान दिएका हुन्छन् । जसको फाइदा उठाएर उत्पादक कम्पनीले आफुखुसी सामानको तौल घटाएर चलनचल्तीको मूल्यमा सामान बिक्री गर्छन् ।

कतिपयले त सामानको तौल घटाएर मूल्यसमेत अत्याधिक घटाएर बजारमा उपभोक्ता झुक्याएर प्रतिस्प्रर्धी व्यवसाय गरिरहेका कयौं उदाहरण भेटिन्छ ।

यस्तै प्रकारका उपभोक्ता झुक्याउने व्यवसायीक प्रतिस्पर्धा चाउचाउ उत्पादन कम्पनीहरुमा छ । केही उत्पादक कम्पनीहरुको यस्तो प्रवृतिकै कारण नियमसंगत उत्पादन र व्यवसाय गर्नेलाई तथा उपभोक्ता मारमा नपरुन् भनेर उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयले मोहरबन्द प्याकेटमा पाइने सामानको तौल निर्धारण गरेको छ ।

स्ट्यान्डर्ड नापतौल नियामावली, २०७६ अधिकार प्रयोग गरी मन्त्रालयले मोहरबन्द प्याकेटका संदर्भमा नयाँ नियम निर्धारण गरेको हो । मन्त्रालयले मोहरबन्द प्याकेटका सामानको हकमा बनाएको नयाँ नियम २०७७ जेठ ५ गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।

अब उत्पादक कम्पनीहरुले स्टाण्डर्ड नाप र तौल नियामावलीले निर्धारण गरे जसअनुसार मंसिर ५ गतेसम्म तोकिएको मापदण्डमा नै मोहरबन्द सामान प्याकेजिङ गरी बिक्री वितरण गर्नु पर्ने नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।

बजारमा मानोमानी ढंगले उत्पादक कम्पनीहरुले तौल र मूल्य राखेर सामान बजार पठाएको हुँदा यस्तो प्रवृतिको अन्त्य गर्न चाउचाउको स्ट्यान्डर्ड नाप र तौल तोक्नु परेको विभागका महानिर्देशक विश्वबावु पुडासैनीले बताए ।

‘कम्पनीहरुले प्रतिस्पर्धा गर्न मनोमानी गर्दै ६५/६६/७२/७५ ग्रामका चाउचाउ बजार पठाइरहेका थिए,’ उनले क्लिकमाण्डूसँग भने, ‘अब कम्पनीहरुले ५०/६०/७५ र १०० ग्राम तौल भएका चाउचाउ प्याकेटमात्र बजार पठाउन पाउँछन् ।’

जसअनुरुप अब मंसिर ५ गतेभित्रमा कम्पनीहरुले तोकिएको मापदण्डअनुसार चाउचाउको तौल बढाएरमात्र बजार पठाइसक्नु पर्ने उनले जानकारी दिए ।

‘कम तौल भएको चाउचाउलाई उपभोक्ताले थोरै मुल्यमा खरिद गर्न पाउँथे भने अब तौल बढ्दा त्यसको मूल्यमा पनि फरक आउँछ,’ विभागका महानिर्देशक पुडासैनीले भने, ‘तौल नबढाएपनि तौल अनुसारको मूल्य बढाउने अधिकार उत्पादकलाई भएपनि अतिरिक्त मूल्य वृद्धि गर्ने भने सम्बन्धीत निकायको अनुमति लिनुपर्छ ।’

मोहरबन्द प्याकेटका सामान उत्पादक कम्पनीले विभागमा लकडाउनले गर्दा कच्चा पदार्थको आपूर्ति र मूल्य प्रतिकुल असरपरेको कारण देखाएर मूल्य बढाउन निवेदन दिएको उनले जानकारी दिए ।

उपभोक्ता ठगिएको बजारमा अनुगमन हुँदै, ठगमाथि कारबाही के छ ?

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय/ उद्योग, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग र गुणस्तर तथा नापतौल विभागले धेरै पहिलेबाट नै मोहरबन्द प्याकेटका सामानको तौल निर्धारणमा गृहकार्य गरेको थियो ।

अनुगमन विभागले गर्ने बजार अनुगमनमा पनि प्रायजसो तौलभन्दा बढी मूल्यमा बिक्री गरिएका घटनाहरु नै भेटिने उद्योग, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्यले बताए ।

‘बजार अनुगमनमा प्रायः भेटिने सामान परिमाणअनुसार बढी मूल्य तथा कालोबाजारीका अन्य गतिविधि हुन्,’ उनले क्लिकमाण्डूलाई भने, ‘केही दिनयता बजारमा लकडाउनको कारण देखाउँदै व्यापारीले चाउचाउको मूल्य बढी लिएको सुचना आइरहेको छ ।’

सुचनाको तथ्यता छानबिन गरी भोलि/पर्सी नै बजार अनुगमन गर्ने तयारीमा विभाग रहेका उनले जानकारी दिए ।

‘तौल नै नबढाएर मूल्यमात्र बढाएको रहेछन् भने कारवाहीको दायरामा पर्छन्,’ निर्देशक आचार्यले भने, ‘स्टकमा रहेका पुरानो तौलका चाउचाउमा पनि मूल्य वृद्धि गरेको भेटिएमा कालो बजारी ऐनअनुसार अनुगमन स्थलमा नै ५ हजारदेखि ३ लाख रुपैयाँसम्म गर्न सकिन्छ भने छानबिन गरी थप १ महिना देखि ५ वर्षसम्म जेल सजायको भागिदार हुन्छन् ।’

उत्पादकदेखि खुद्रा व्यवसायीसम्म कारोबारका कागजपत्र, खरिद बिल र सामानको अनुगमन गरी ठगी भएको पाइएमा सबैलाई कारबाही गरिने विभागका निर्देशक आचार्यले बताए ।

‘अनुगमनमा कहाँबाट कानुन विपरित मूल्यवृद्धि तथा उत्पादन, बिक्री वितरण गरिएको छ, त्यसको नियोल्ता गरिन्छ,’ विभागका निर्देशक आचार्यले थपे, ‘सामानको लागत र परिमाणअनुसारको मूल्य उत्पादकले निर्धारण गरी प्याकेजिङ गर्नु पर्छ भने भण्डारक र वितरक अधिकतम खरिद मूल्यमा २० प्रतिशतको मार्जिन राखेर बिक्री गर्न पाउँछन् ।’

बजारमा कुनैपनि व्यापारीले पुरानै ५० ग्रामभन्दा बढी र ७५ ग्राम भन्दा कम तौलका चाउचाउलाई कुनैपनि बहानाबाजी गरेर बढी मूल्य लिएमा उद्योग, वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभाग सुचना दिएमा त्यस्ता कम्पनी र व्यापारीलाई तत्काल कारबाहीको दायरामा लाइने विभागले जनाएको छ ।


पुष्प दुलाल