कोरोना कहरः उद्योग वाणिज्य महासंघको निर्वाचन साउनमै हुन्छ कि हुँदैन भन्ने अन्यौल बढ्यो




काठमाडौं । नेपाल उद्योग वाणिज्य महांघको कार्यसमिति बैठकले साउ २६ र २७ गतेका अधिवेशन गर्ने निर्णय गर्यो । साउन ७ गते सरकारले लगाएको लकडाउन खुल्ने अनुमान गर्दै महासंघले निर्वाचनको मिति तोकेको हो ।

सामान्य अवस्था भएको भए गत चैत मसान्तमै महासंघको अधिवेशन भइसक्ने थियो । तर कोरोना भाइसर नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि गरेको लकडाउनका कारण महासंघको निर्वाचन पनि पछि धकेलिएको हो ।

कोरोनाका कारण महासंघको निर्वाचन गर्न दिने कि नदिने भन्ने निर्णय नहुँदा अन्यौलता बढेको छ ।

महासंघले सानेपास्थित हेरिटेज गार्डेनमा अधिवेशन गर्ने जनाएको छ । त्यसका लागि उक्त भेन्यूले पनि जिल्ला प्रशासनको अनुमति लिनुपर्छ । हेरिटेज गार्डेनलाई जिल्ला प्रशासनले अनुमति दिएको छैन ।

निर्वाचन गर्नका लागि महासंघले पनि सरकारसँग अनुमति माग्नुपर्छ । महासंघले उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको कोरोना नियन्त्रण तथा रोकथाम समितिलाई पत्राचार गरेको थियो ।

आइतबार बसेको समितिको बैठकले अन्तिम निर्णयका लागि मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको थियो ।

तर सोमबारको मन्त्रिपरिषदको बैठकमा महासंघको निर्वाचन गर्न दिने कि नदिने भन्ने विषयमा कुनै पनि छलफल नै नभएको पर्यटनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

‘सोमबारको मन्त्रिपरिषदले भदौ १ गतेदेखि आन्तरिक हवाइ उडान खोल्ने निर्णय गरेको छ,’ मन्त्री भट्टराईले क्लिकमाण्डूसँग भने, ‘एफएनसीसीआईको निर्वाचनका विषयमा कुनै छलफल नै भएको छैन ।’

जसकारण निर्वाचन साउनमै हुने वा नहुने भन्नेमा पूरानो व्यवस्थाको ब्याख्या कसरी हुन्छ भन्ने थाहा छैन । किनभने सरकारले लकडाउन पूर्णरुपमा नखोल्दासम्म २५ जनाभन्दा बढी भेला हुन नपाइनेलगायतका व्यस्था गरेको छ ।

‘एफएनसीसीआइको निर्वाचन हुन्छ वा हुँदैन भन्ने अन्यौलता भएको हुनसक्छ,’ मन्त्री भट्टराईले भने, ‘समय अझै बाँकी छ, आगामी मन्त्रिपरिषदको बैठकले प्रष्ट पार्नसक्छ ।’

उद्योगा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पनि सोमबारको मन्त्रिपरिषदको बैठकमा एफएनसीसीआइको निर्वाचन लक्षित निर्णय नभएको जानकारी दिए ।

सरकारबाट प्रष्ट निर्णय नआएकाले तोकिएको समयमै निर्वाचन हुन्छ वा हुँदैन भन्ने कन्फ्युजन रहेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

‘हामीले त निर्वाचन गर्न खोजेका हौं, यो विशेष परिस्थितिमा सरकारको अनुमति अनिवार्य हुन्छ, सोमबारको मन्त्रिपरिषदले यसबारे प्रष्ट निर्णय नगरिदिँदा के गर्ने भन्ने अन्यौलमा परेका छौं,’ अध्यक्ष राणाले भनिन् ।

कोरोना संक्रमणको जोखिम कायमै रहेको र यहीबेला बाढीपहिरो पनि आएकाले तोकिएको समयमा महासंघको निर्वाचन गर्ने आफूहरुको प्रयासमा चुनौति थपिएको बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले जानकरी दिए ।

निर्वाचन हुन नसक्ने परिस्थिति आएपरेको भन्दै महासंघकै केही व्यक्तिले गलत सन्देश प्रवाह गरेको भन्दै महासंघका विशिष्ट सदस्यसमेत रहेका पूर्वअध्यक्ष चण्डीराज ढकाल बताउँछन् ।

बरिष्ठ उपाध्यक्षका उम्मेद्धार चन्द्र ढकाल पक्ष जसरी भएपनि तोकिएको समयमै निर्वाचन हुनुपर्छ भन्ने पक्षमा छ ।

यता संस्थापन पक्ष भवानी राणा, शेखर गोल्छा लगायत भने भोलि नराम्रो भयो भने त्यसको अपजस आफूहरुलाई लाग्ने भन्दै कोरोनासँग डराएका छन् । यद्यपि सरकारले अनुमति दिएको खण्डमा उच्च सुरक्षा सतर्कता अपनाएर निर्वाचन गर्ने उनीहरुको सोच छ ।

यस्तो अवस्थामा मन्त्रिपरिषदले निर्णय नगरिदिँदा साउनमै निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्यौल छ । चन्द्र ढकाल पक्ष मन्त्रिपरिषदबाट साउनमै निर्वाचन हुने निर्णय गराउन तीब्र लबिङ गरिरहेको छ ।


पुष्प दुलाल