मोबाइल फोन हरायो ? प्राधिकरणमा गर्नुस खबर, भेट्टिएको फोन बिक्री गरे पनि कारबाही



काठमाडौं । के तपाईंको मोबाइल सेट हराएको छ वा कुनै मोबाइल फोनसेट भेट्टाउनु भएको छ ? यदी त्यसो हो भने तुरुन्तै नेपाल दूरसञ्चार प्राधिकरणमा तपाईंले जानकारी गराउन सक्नुहुनेछ ।

तपाईंको मोबाइलसेट अनाधिकृतरुपमा कोही कसैले प्रयोग गर्ने वा गैरकानूनी रुपमा बिक्री वितरण गर्ने कामलाई रोक्ने ध्ययेका साथ प्राधिकरणले मोबाइल ट्रयाकिङ सेवा शुरु गरेको हो ।

मोबाइल फोनसेटको पहिचानका रुपमा हरेक मोबाइल फोनसेटमा ‘इन्टरनेशनल मोबाइल इक्यिुपमेन्ट आइडेन्टिटी (आईएमईआई)÷ इलेक्ट्रिोनिक सिरियल नम्बर (ईएसएन) मोबाइल इक्यिुपमेन्ट आइडेन्टिटी (एमईआईडी) रहन्छन् ।

प्राधिकरणको सिफारिसमा मात्रै मोबाइल फोन आयात हुने भएकाले नेपालमा आयात भएका सम्पूर्ण मोबाइल फोनसेटको रेकर्ड प्राधिकरणसँग नै हुन्छ । साथै प्राधिकरणले नेपालमा प्रयोग भइरहेका सबै मोबाइल फोनसेटको रेकर्ड प्राधिकरणबाट अनुमतिपत्र प्राप्त दुरसञ्चार सेवा प्रदायकलाई मात्रै दिएको हुन्छ ।

त्यसैले प्राधिकरणले कुनै पनि व्यक्तिको हराएको मोबाइल फोनसेटको ट्रयाकिङ गर्नका लागि ‘मोबाइल ट्रयाकिङ’ सेवा सबैका लागि उपलब्ध गराएको हो ।

प्राधिकरणले यदी कसैको मोबाइल सेट हराएको छ भने तुरुन्तै प्राधिकरणको वेवसाइट www.nta.gov.np  मा उपलब्ध वेवलिंक https://eir.nta.gov.np/main/individual/track  मा गइ निवेदन दिन सक्ने जनाएको छ । त्यसैले कसैले मोबाइल फोनसेट भेट्टाउनु भएको छ भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा प्राधिकरणमा जानकारी गराइ फिर्ता गर्न सक्ने जनाएको छ ।

तर यदी कसैले त्यस्तो भेट्टाएको फोनसेट सम्बन्धित व्यक्तिलाई नदिइ अन्य व्यक्तिलाई बिक्री गरेको वा कसैले खरिद गरेको पाइएमा सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकाले कानून बमोजिम कारबाही हुने समेत प्राधिकरणले जनाएको छ ।

त्यसैले प्राधिकरणले उपलब्ध गराएको मोबाइल ट्रयाकिङको सेवा प्रयोग गर्न, हराएको मोबाइल फोनसेट भेटिएमा फिर्ता गर्न र फोनसेट कसैले पनि खरिद गरी प्रयोग नगर्न सर्वसाधारणलाई भनेको छ ।

यसबाट मोबाइलका चोरी तथा अनाधिकृत बिक्री वितरणलाई नियन्त्रण गर्न सक्ने प्राधिकरणको बुझाइ छ ।


क्लिकमान्डु