अबदेखि अर्को बैंकको एटिएमबाट पैसा झिक्दा निशुल्क सुविधा नपाइने, बैंकले शुल्क लिने



काठमाडौं । बिहिबारबाट डिजिटल कारोबार गर्दा शुल्क लाग्ने भएको छ । पैसाको कारोबारबाट हुने कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न करिब ४ महिनाबाट सम्पुर्ण विद्युतिय कारोबार निःशुल्क गरिएको थियो ।

बैंकर्स संघले डिजिटल कारोबार र अन्तर बैंक एटीएम कारोबारलाई निःशुल्क गर्ने गराएसँगै डिजिटल कारोबार बढेको छ । लकडाउन खुकुलो भएसँगै आर्थिक गतिविधि र मानिसहरुको आवत जावत बढेको भन्दै संघले साउन १ गतेबाट सबै प्रकारको विद्युतिय कारोबारमा शुल्क लिने जनाएको छ ।

संघले बुधबार एक परिपत्र जारी गर्दै भनेको छ ‘अन्तर बैंक एटीएम गर्दा शुल्क लिने÷नलिने निर्णय सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरु आफैले निर्धारण गर्ने तथा कनेट आएपीएस, एनसीएचएल–आइपीएस र एनसीएचएल– इसीसी सम्बन्धी शुल्क निर्धारण नेपाल क्लियरिङ्ग हाउसले नै निर्धारण गर्ने छ ।’

लकडाउनकारण र पैसाको कारोबारबाट कोरोना संक्रमणको जोखिम न्यून गर्नको लागि करिब ५ महिना क्लियरिङ्ग हाउसले आफ्ना सबै सेवा निशुल्क गरेको थियो । यसले डिजिटल कारोबारलाई प्रोत्साहन गरेको हुँदा कारोबारको शुल्क घटाइएको क्लियरिङ्ग हाउस सीइओ निलेशमान सिंह प्रधानले बताए ।

‘सेवा निशुल्क हुँदा डिजिटल कारोबार धेरै बढेको छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘लकडाउन सहज भइसकेको हुँदा डिजिटल कारोबारलाई प्रोत्साहन गर्न पहिलोको तुलनामा सबै शुल्क घटाएका छौँ भोलीबाटै घटाएको शुल्क लागू हुन्छ ।’

कम्पनीले कनेट आएपीएसमा, एनसीएचएल–आइपीएस र एनसीएचएलमा न्यूनतम ५ रुपैयाँ देखि १० रुपैयाँसम्म शुल्क घटाएको उनले जानकारी दिए ।

हालसम्मको सेवा शुल्क छुटले विद्युतिय कारोबारलाई प्रोत्साहन गरेको भएपनि कम्पनीले ५ करोड रुपैयाँभन्दा बढीको कारोबार निशुल्क गराएको कम्पनीका सीइओ श्रेष्ठले बताए ।


क्लिकमान्डु