पुनर्निर्माण अभियानमा मेयर-उपमेयर सँगै, क्षतिग्रस्त सम्पदा पुनर्निर्माणले गति लियो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण पोखरी, मन्दिर, ढुंगेधारा, बहाःबही लगायतका सांस्कृतिक सम्पदाको संरक्षण र संर्वद्धनलाई प्राथमिकतामा राखेको छ ।
कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा काठमाडौँ महानगरपालिका जनप्रतिनिधिबीच पनि एकमत देखिन थालेका छन् ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा ९० वढी शीर्षकमा सम्पदा निर्माण-पुनर्निर्माणलगायतका लागि बजेट विनियोजन गरेको छ । यसले पनि महानगरपालिकाले सम्पदा निर्माण-पुनर्निर्माणलाई प्राथमिकतामा राखेको संकेत गर्छ ।
आर्थिक वर्ष २०७७/०७८ का लागि महानरपालिकाले अघि सारेका कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धन शीर्षकका योजना २० लाखदेखि २ करोडसम्मका छन् ।
२०७२ सालको भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त काठमाडौँ महानगरपालिकाको वडा–२२ मा अवस्थित नासःद्यः (नाट्यश्वर) को द्यःछेँ (भगवानको घर) पुनर्निर्माणका लागि पनि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । नासःद्यः (नाट्यश्वर) को द्यःछेँ पुनर्निर्माणका लागि केही दिन अघि गरिएको क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) दुबै जना उपस्थित रहेको थियो ।
बेलाबखत काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि बीचको विवादका कारण सम्पदा पुनर्निर्माणलगायतका कामले गति लिन नसकेको भन्ने आरोप लाग्ने गर्छ । तर, क्षमापुजामा सहभागी काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्की (श्रेष्ठ)ले काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि कला, संस्कृति र सम्पदाको संरक्षण र संर्वद्धनमा निकै महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै प्रमुख विद्यासुन्दर शाक्यको प्रशंसा गरे ।
‘काठमाडौँ महानगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि यहाँका कला, संस्कृति र सम्पदा संरक्षणका लागि निकै ठूलो भूमिका खेल्दै आएका छौँ,’ प्रमुख विद्यासुन्दर शाक्यप्रति संकेत गर्दै उनले भने,‘काठमाडौँ महानगरपालिकाका प्रमुख, म आफैँ, वडाध्यक्ष र प्रत्येक वडाका जनप्रतिनिधि पनि सम्पदा संरक्षणको अभियानमा अहोरात्र खटिरहेका छौँ ।’
उपप्रमुख खड्कीले धेरै सम्पदा पुनर्निर्माणका काम सूचारु रहेको पनि जानकारी दिए । उन त्यो भनाईले पनि महानगर क्षेत्र भित्रका कला, संस्कृति र सम्पदा संरक्षणका लागि जनप्रतिनिधिहरु एकमत रहेको संकेत गर्छ ।
द्यःछेँ पूर्णरुपमा क्षति भएपछि वटु नाट्यश्वर गुठीले कामचलाउ रुपमा पुर्ननिर्माण गरी पूजा-आजा गर्दै आएको थियो ।
क्षतिग्रस्त अवस्थाको मन्दिरलाई पुनर्निर्माण गर्न त्यहाँ रहेका सामान सार्नु पर्ने र द्यःछेँ समेत भत्काउनु पर्ने भएकाले त्यसका लागि क्षमापूजा गर्नु पर्ने परम्परा अनुसार उक्त पूजा गरी पुनर्निर्माणको काम अघि बढाएको वटु गुठीका अध्यक्ष शान्तराज महर्जनले जानकारी दिए । पुरात्वात्विक तथा अभिलेखको संरक्षण गर्ने काम नाट्यश्वर गुठीले गर्दै आएको छ ।
‘काठमाडौँ महानगरपालिकाले यो मन्दिरको पुनर्निर्माणका लागि लाग्ने सम्पूर्ण आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको छ,’ गुठीका अध्यक्ष महर्जनले भने, ‘काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले गुठीले संरक्षण गरिरहेको गुठीघरमा रहेका पुरात्वात्विक महत्वका र अभिलेखको संरक्षण गर्न हामीलाई आग्रह गर्नुभएको छ ।’
निर्माण कार्यको सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेको पनि महर्जनले जानकारी दिए । ‘साउनको दोस्रो हप्ताबाट मन्दिर पुर्ननिर्माणको काम अघि बढ्छ,’ महर्जनले भने, ‘निर्माणपछि त्यहाँ बत्ती, धारा र पुरात्वात्विक महत्वलाई झल्काउने खर्च गुठीले व्यहोर्ने भन्ने छ ।’
क्षमापुजा कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्य, संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश सांसद डाक्टर अजयक्रान्ति शाक्य, उपप्रमुख खड्की, वडाध्यक्ष चिनकाजी महर्जन, गुठीका सदस्यलगायतको उपस्थिति थियो ।
मन्दिर आगामी आर्थिक वर्षको असोज मसान्तसम्ममा पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नासःद्यः पुर्ननिर्माणका लागि करीब १ करोड २५ लाख लाग्ने अनुमान गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा कीर्तिपुण्य महाविहार दुगुद्यः, दुर्गा विनायक मन्दिर, मुगःद्यः, वलाछेँ त्वाःछेँ, स्वयम्भू स्तुप भजनघर लगायतका पुनःनिर्माण सम्पन्न गरिसकेको छ । त्यसैगरी सत्यनारायण मन्दिर, लयाश्वर मन्दिर, दीप्याखं (देवीनाच) द्यँछेँ, कोटेश्वर महादेवस्थानमा भगवती मन्दिर, जनबहाः दिगीछेँ, किलाघः त्वाःछेँ, न्हय्मू त्वाःछें, वटु भद्रकाली मन्दिर, भगवान बहाल, गोरखनाथ मन्दिर परिसर, पञ्चेधारा निर्माणको कामलाई पनि पूर्णता दिएको छ ।
टेबहालस्थित क्वाःपाःद्यःछेँ, क्वहिटी सत्तल तथा बहाल, मणीसंघ महाविहार, परम्परागत लाय्कूसाः गुठी भवन, नाट्येश्वरी गुठी भवन, नित्यनाथ गुठी भवन आदिको पुनःनिर्माण कार्य अघि बढिरहेको महानगरपालिकाले जानकारी दिएको छ । परम्परागत बाजा सिकाउने गुरुलाई सम्मान गर्ने, ऐतिहासिक सोह्रखुट्टे पाटी पुनस्र्थापना गर्ने जस्ता कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।
विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीमा गुरुयोजना अन्तर्गत नेपाल बज्रयान महाबिहारमा मौलिक परम्परागत प्रवेशद्वार, झ्याल तथा टुँडाल निर्माणको लागि नेपाल परम्परागत बौद्ध धर्म संघलाई, धम्महल भवन निर्माणको लागि अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्र बुद्धनगरलाई र भवन निर्माणको लागि बागबजारस्थित बुद्धबिहारलाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्य पनि महानगरले गरेको छ ।