5G नेटवर्कमा हुवावेको प्रविधि प्रयोग नगर्ने बेलायतको निर्णय, चीनले भन्यो- अमेरिकाको निर्देशन



बेलायतले फाइभ जी नेटवर्कमा हुवावेको प्रविधि प्रयोग नगर्ने निर्णय अमेरिकाको निर्देशनमा भएको चीनले आरोप लगाएको छ ।

बेलायतका लागि चिनियाँ राजदूत लिउ स्यावोमिङ फाइभ जीमा हुवावेको प्रविधि प्रयोग नगर्ने भन्ने निर्णय ‘निराशाजनक र गलत’ भएको बताए ।

बेलायत सरकारले सन् २०२७ सम्ममा यसअघि प्रयोग गरिएको हुवावेको प्रविधि समेत विस्तारै कटौती गर्न त्यहाँका टेलिकम कम्पनीहरुलाई निर्देशन दिएको छ ।

अमेरिका र चीनबीच भइरहेको व्यापार युद्धका कारण अमेरिकाले चिनियाँ प्रविधिमा सुरक्षाको प्रमुख चुनौती बन्ने भन्दै हुवावेमाथि रोक लगाउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको पछिल्लो निर्णयलाई स्वागत समेत गरेका छन् ।

‘हामीले धेरैभन्दा धेरै देशहरुलाई यसबारेमा मनाउने प्रयास गर्यौ, हुवावे राष्ट्रिय सुरक्षाका लागि चुनौतीपूर्ण भएकाले प्रयोग गर्नु उचित हुँदैन,’ राष्ट्रपति ट्रम्पले भने । ट्रम्पले बेइजिङले हङकङमाथि लागू गरेको नयाँ कानूनको समेत विरोध गरे ।

सुरक्षा चुनौतीबारे अमेरिका र बेलायतले लगाएको आरोप भने हुवावेले अस्वीकार गर्दै आएको छ । उसले भनेको छ, ‘यो कुनै सुरक्षा चुनौतीको विषय नै होइन, केवल व्यापार युद्ध मात्रै हो ।’

चिनियाँ राजदूतले हुवावेको प्रविधिमा लगाइएको बन्देजका कारण बेलायतमाथि ‘फेयर’ बिजनेसको वातावरणमाथि प्रश्न उठेको बताए ।

‘हुवावेमाथिको प्रतिबन्धले अब बेलायतमा विदेशी लगानीका लागि खुला, स्वतन्त्र र भेदभावरहित व्यापार गर्ने वातावरण छ वा छैन भन्नेमा प्रश्न उठेको छ,’ राजदूतले भने ।

बेलायतका लागि हुवावेका सञ्चार निर्देशक इडी ब्रिउवेस्टरले अमेरिकाको चर्को दवाबका कारण बेलायतले हुवावेमाथि प्रतिबन्ध लगाएको आरोप लगाए ।

यो कुनै सुरक्षाका कारण नभइ व्यापारका लागि मात्रै भएको उनले तर्क गरे ।

‘यो अमेरिकाको हाम्रो व्यवसायमाथि आक्रमण गर्ने अभियान हो, साथै अमेरिका पुनः प्रविधिमाथिको अधिपत्य जमाउन खोज्दैछ भन्ने देखाउँछ,’ उनले भने ।

उनले आफूहरुले चीन सरकारका लागि काम नगर्ने, निजी कम्पनी भएको बताउँदै टेलिकम क्षेत्रमा मात्रै काम गर्ने स्पष्ट पारे ।

बेलायत सरकारले सन् २०२७ सम्ममा फाइभ जी नेटवर्कबाट हुवावेका प्रविधि हटाउने निर्णय गरिसकेको छ । बेलायतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सचेत गराएपछि सरकारले उक्त निर्णय गरेको थियो ।

हुवावेमा लगाइएको प्रतिबन्धका कारण बेलायतमा फाइभ जी विस्तारको काम एक वर्ष ढिलो हुने र त्यसबाट औसतमा २ बिलियन पाउन्ड बराबरको थप खर्च हुने उनको अनुमान छ ।

यसअघि अमेरिकाले फाइभ आइज अलाइन्समा रहेका देशलाई हुवावेको प्रविधि प्रयोग नगर्न आग्रह गरेका थिए । अलाइन्समा अमेरिकासँगै बेलायत, क्यानडा, अष्ट्रेलिया र न्यूजिल्याण्ड छन् ।

समाचार स्रोतः बीबीसी


क्लिकमान्डु