अभिकर्ता जोगाएर डिजिटलबाट बीमा व्यवसाय चलाउनुपर्छ: नेपाल लाइफका सीइओ विवेक झा



कोरोना भाइरस (कोभिड १९) असर जीवन बीमा व्यवसायमा परेको छ । नेपालमा पछिल्लो समय जीवन बीमाको दायरा बढ्दो क्रममा थियो जसलाई कोरोनाले रोक्ने देखिन्छ । जीवन बीमा कम्पनीहरुमा सबैभन्दा बढी व्यवसाय गर्ने र पूँजीको आकारले पनि सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झासँग क्लिकमाण्डूका आशीष ज्ञवालीशोभित थपलियाले कोरोनाको कारण जीवन बीमामा परेको असर र देखिएका सम्भावनाको बारेमा गरेको कुराकानी

लकडाउनको अवधिमा कसरी व्यवसाय चलाइरहनु भएको छ ?

हामीले कोरोना शुरु हुनुभन्दा अगाडि बीमा व्यवसायमा नयाँ-नयाँ प्रडक्ट ल्याउने, सेवाग्राहीमैत्री भएर सेवा दिने काम गरेका थियौं । विश्वभर फैलिएको कोरोनाका कारण चैत ११ गतेबाट नेपालमा लकडाउन शुरु भयो । त्यसपछि सबैकाम थाँती राखेर सरकारलाई सहयोग गर्दै जो जहाँ छ, त्यहीँ नै बस्यौं ।

त्यो बेला १४ दिन वा २० दिन क्वारेन्टाइनमा बसेपछि सबै ठीक हुन्छ भन्ने सोच थियो । त्यसपछि राहतका कुराहरु पनि आए । हामीले पनि नयाँ बीमितको बारेमा केही नसोची कायम भएका बीमितहरुको विषयमा काम गर्न थाल्यौं । उनीहरुलाई चाहिने सेवा दिनतर्फ लाग्यो । त्यो समयमा मानिसमा तरलताको अभाव हुने देखियो । मानिसहरुले साथमा पर्याप्त पैसा बोकेर नबस्ने भएर उनीहरुलाई ऋण चाहिने अवस्था पनि देखियो ।

हामीले तत्कालिन समयमा सूचना निकालेर डिजिटल माध्यमबाट सेवा दिने भन्याै । कतिलाई ऋण चाहिएला, कतिको बीमा पोलिसी परिपक्व भएको होला । पोलिसी परिपक्व भयो । तर उ बीमा कम्पनीका आउन सक्ने अवस्था छैन । त्यही भएर हामीले डिजिटल माध्यमबाट पैसा भुक्तानी गरेका छौं । त्यसपछि आवश्यक पर्नेलाई ऋण पनि दिएका छौं । त्यो समयमा मृत्यु दाबी भुक्तानी पनि गरियो ।

लकलाउनको अवधिमा बीमा समितिबाट पनि मृत्यु दाबी भुक्तानीको लागि प्रोसेसिङ गर्नु भनेर सूचना आयो । हामीले प्रोसेसिङ मात्रै नभएर दाबी भुक्तानी नै गर्यौ ।

गरेको बीमाको नविकरण शुल्क तिर्न सक्ने अवस्था थिएन । त्यो नतिरेपनि रिक्स कभरेज गर्ने काम भएको छ । साथै लकडाउनको अवधिमा लाग्ने ब्याजलाई एक महिना छुट दिने भएका छौं । पोलिसी राखेर ऋण लिनेहरु पनि छन् । उनीहरुलाई पनि राहत भयो ।

जब सरकारले कार्यालयसम्म जानका लागि पास दिन थाल्यो । त्यसपछि हामी पनि कोरोनासँगै हिँड्नुपर्छ भनेर लाग्यो । अहिलेको अवस्थामा हाम्रो दैनिक व्यवसाय हेर्ने हो भने ६० देखि ७० प्रतिशत भएको छ ।

अन्य क्षेत्रमा भएको चुनौती जस्तो बीमा क्षेत्रमा पनि छ भने त्यो भनेको अभिकर्ता पलायन हुने चुनौती हो । यदी अभिकर्तालाई यो क्षेत्रमा टिकाउन नसकेको खण्डमा भोलि समस्या हुने छ ।

कोरोनाले बीमा व्यवसायको मार्केटिङमा अवरोध त भयो होला नि ?

बीमा व्यवसायको मार्केटिङ आउट सोर्स हुने गरेको छ । यसमा ऐजेन्सी बेस र पार्ट टाइममा पनि काम हुने गर्दछ । अहिलेसम्म नेपालमा मात्रै होइन कहीँ पनि मलाई जीवन बीमा आवश्यक छ, मैले गर्नुपर्छ भन्ने मानसिकता बनिसकेको छैन । यसलाई फोर्स सेलिङ पनि भन्ने गरिएको छ । नेपालमा यसको बिजनेश मोडालिटी फेस टु फेस हुने गरेको छ । हामी पेपरबेस मोडालिटीमा थियौं ।

नेपालमा आजसम्म रिक्स नदेखिएको मात्रै बीमा गर्ने प्रचलन छ । रिक्स देखेपछि बीमा गर्न मिल्दैन र जहाँ कुनै रिक्सको सम्भावना देखिन्छ, मूल्य पनि त्यही अनुसार निर्धारण हुन्छ । र, त्यहाँ स्वास्थ्य जाँच गरिन्छ । यही अनुरुप हामीले बीमा व्यवसाय गरिरहेको थियो ।

लकडाउनको अवधिमा तपाईंहरुले कतिलाई विद्युतीय माध्यमबाट सेवा दिनुभयो ?

यो अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ११४३ वटा पोलिसी लोनमा २३ करोड रुपैयाँ, ७२४ वटा म्याचुरिटी भएको पोलसीमा १५ करोड ६ लाख रुपैयाँ, सर्भाइभल बेनिफिट ८०० वटामा १२ करोड, ३७ वटा क्लेममा २ करोड १० लाख र ७ हजार २१८ वटा पोलिसी नविकरण गरेर १४ करोड १३ लाख संकलन भएको छ ।

कोरोनाको संक्रमणले जीवन बीमा व्यवसायमा कस्तो असर पर्ला ?

अब भनेको अवस्था परिवर्तन भए अनुसार नै चल्नुपर्छ । कुन अवस्थामा कस्ता व्यापार होलान्, कुन अवस्थामा नहोला भनेर हेर्नुपर्ने बेला भएको छ । कोरोना भन्दा अघि र पछिको समयमा हामीले म्यानुअलबाट डिजिटलमा जानैपर्छ । अहिले सबैकुरा डिजिटलमा जाँदैछ ।

नेपालमा अहिले पनि बीमा गर्दा बढी मानवियतामा जोडेर हेर्ने गरिएको छ । मानिसमा बीमा भनेको गर्नै पर्ने रहेछ भन्ने भएको छ । यो पटक माग बढेको छ तर आपुर्तिकर्ताले सहजै सेवा दिन सक्ने अवस्था थिएन । चैत महिनामा ७०, ८० करोडको व्यापार गर्ने समयमा हाम्रो नयाँ ब्यापार १५ करोडको भयो । वैशाख महिनामा १ अर्बको ब्यापार हुने थियो होला तर ११, १२ करोड मात्रै भयो ।

हामीले परिस्थिती परिवर्तन गर्दै गयौ । अहिले हामीले वैशाख महिनाभरी गरेको ब्यापार जेठको १५ दिनमा गरेका छौं । नयाँ मोडालिटीमा जाँदा केही फरक हुने रहेछ । तर बीमा चाँही अभिकर्ताबाट नै गर्ने हो भन्ने सोचाइ परिवर्तन हुने वालाछैन । नेपालका सबै बीमा कम्पनीले अनलाइन सेल्स राख्ने अनी सबै व्यक्तिले बीमा पोलिसी लिने सम्भावना नहुने रहेछ । बीमाले रिक्स कभर हुन्छ । बीमामा भनेको एकै पटक पैसा तिर्नु पर्दैन । बीमा बापतको तिरेको प्रिमियमबाट ब्याज कमाएर त्यो ब्याज पहिला बिमितलाई दिएर बाँकी रहेकोले कम्पनी चलेको हुन्छ ।

अब यो बेलामा बिजनेश मोडल परिवर्तन भएर पोलिसीमा पनि परिवर्तन आउने छन् । अहिले आर्थिक कृयाकलाप ठप्प रहेको छ । यो बेलामा खर्च कटौति गर्न श्रमिक कटौती हुने गर्दछन् । उनीहरुले बीमा गरेका हुनसक्छन् । अब उनीहरुको प्राथमिकतामा बीमा पर्दैन । खानतर्फ लाग्छ । उनीहरुले प्रिमियम तिर्न गाह्रो हुन्छ ।

आम्दानी घट्दा प्रोडक्ट पनि नयाँ चाहिने हो ?

अहिले मानिसको सोचाइ के छ भने बीमा भनेको निकै महंगो चीज हो । हामीले बचत प्रकृतिका बीमाको तुलना गरेका छौं । जोखिमको लागि बीमाको प्रिमियम निकै थोरै छ । मानौ १ लाखको १५ वर्षे योजनामा बचत हुने खालको बीमा गरेको खण्डमा वर्षमा ८ हजार लाग्ने गर्दछ । त्यो ८ हजार भित्र मृत्यु पहिला नै भएका कारण पहिला पाउने क्षति निकै सानो हुनेगर्दछ । अहिले विदेशमा बीमा बढेर गएको छ । त्यो भनेको प्रोटेक्सन र स्वास्थ्य बीमा हो ।

यस्तो बीमा वर्षमा साढे २ सयको हाराहारीमा पैसा तिर्दा हुनसक्छ । बीमा अपरिहार्य नै हो । त्यसको लागि पहिला रिक्स कभर गर्ने र रिटर्न लिने पछि हो । अब भनेको रिक्स कभरेजवाला बीमा बढेर जानेछ । त्यसले संख्या बढाउँदै लैजान्छ । त्यस्तो बेलामा बचत प्रकृतिको बीमा १ लाखको गर्ने क्षमता थियो भने जोखिमको मात्रै बीमा गर्नेले १० लाखको गर्नेछन् । नेपालमा यो आवश्यक पनि छ ।

नेपालमा हरेक व्यक्तिमा प्रोटेक्सन र स्वास्थ्य बीमा आवश्यक छ । यो भयो भने नेपालमा अहिले भएका बीमा कम्पनीले मात्रै धान्न सक्दैन । अबको बेलामा यसमा माग बढने नै छ । पहिला गरिएको बीमा माग भन्दा कम हुने गरेको थियो । अहिले मानिसले बीमा गर्दै आफ्नो आवश्यकता भन्दा पनि कति लाग्ने रहेछ, फाइदा वा बेफाइदा तिर ध्यान दिइन्छ । प्रिमियम तिर्न सक्ने आधारमा यो पुरा भएको छैन । आगामी दिनमा जसरी माग बढ्ने हो हो त्यो अनुसार अघि बढ्नै पर्छ । बीमा कम्पनीमा अभिकर्ताहरु पनि रहेका छन् । उनीहरुलाई डिजिटल मैत्री बनाउन आवश्यक छ । त्यो भएको खण्डमा पहिलाको भन्दा राम्रो बिजनेश गर्न सकिन्छ ।

अहिले संस्थागत डिपोजिट भनेर सबैलाई एउटै बास्केटमा हाल्ने काम भएको छ, यो हुुनुहुँदैन । यसलाई बीचको बाटो चाहिन्छ ।

बीमा क्षेत्र डिजिटलतर्फ जाँदा त लागत पनि घट्ने होला नि ?

डिजिटल आजबाट शुरु भएको होइन । हामी अहिले कुनै न कुनै माध्यममा डिजिटलतर्फ जोडिएका छौं । हामीले के बुझौ भने बीमा भनेको सामान बेच्ने होइन, विश्वास बेच्ने हो । नेपाल लाइफकै कुरा गर्ने हो भने हामी जहाँ-जहाँ पुगेका छौं, कुनै न कुनै योजना नै लिएर जाने गरेका छौं । बीमा कम्पनीहरुले आफूलाई विस्तार गर्दै आज अघि बढौं भोलि नसके फर्कौला भनेर काम गरेको हुँदैन ।

प्रसङ्ग बदलौं, कोरोनाका कारण अहिले बीमा कम्पनीले नै धेरै कर्मचारी कटौती भएका छन्, त्यो बेला भइसकेको थियो र ?

केही क्षेत्र यस्ता छन् जसलाई दीर्घकालिन असर पर्ने छ । त्यसको लागि आजै प्रष्ट देखिएको छ । जुन क्षेत्रमा यो भएको छ त्यो क्षेत्रकोले नै प्रष्ट रुपमा भन्न सक्ने हो । हाम्रो प्रोडक्ट सिफ्ट भए जस्तो कर्मचारीको कामको प्रकृती फरक पर्न जाने छ । बीमा क्षेत्रमा अरुको किन कुरा गर्नु नेपाल लाइफकै कुरा गर्दा अगाडि राम्रो चित्र देखिएको छ । भोलि क्षेत्र पनि बढाउनु पर्ने, मान्छे बढाउने पर्ने आवश्यकता हुनसक्छ । हामी थोरै सञ्चालन खर्चमा काम गरिरहेका थियौ ।

नेपालीमा बीमाको योगदान २७ प्रतिशतको रहेको छ । बीमाको साइज पनि सानो छ । २७ प्रतिशतले नै आवश्यकता अनुसारमा बीमा गर्ने हो भने आज १ खर्बको देखिएको बजारको प्रिमियम भोली ३ खर्बको हुनसक्छ । आज जुन कम्पनीले निडरताका साथ मेहनत गरेर जान्छ उनै अघि बढने सम्भावना रहेको छ ।

त्यसोभए नेपाल लाइफको योजना के छ ?

त्यसमा हाम्रो योजना निकै प्रष्ट रहेको छ । हामीले अगाडिको दिन निकै राम्रो देखेका छौं । बीमा निकै फस्टाउने सम्भावना छ । यसमा आवद्ध भएका लगानीकर्ता, कर्मचारी, अभिकर्ता सबैले राम्रो लाभ लिने सक्ने दिन आउने छ ।

यसको लागि बीमा अभिकर्ता बीमितकोसम्म त पुग्नेपर्ने देखिन्छ । पहिला पनि अभिकर्ताको लागि सहज थिएन । अभिकर्ताले सँदैव अरुको लागि नै काम गर्ने गरेका छन् । अहिले झन गारो हुने छ । यो बेलामा हामीले अभिकर्तालाई त्यही अनुसार अघि बढाउनुपर्ने छ । अहिले हामीले जति जाँडै अभिकर्तालाई प्रविधिमैत्री बनाउन सकिन्छ, अहिले भएका बीमितलाई र अभिकर्तालाई आमनेसामनेबाट जब डिजिटलीमा लैजान सकिन्छ त्यती चाँडै प्रगतितर्फ लागिने छ ।

यो बेलामा सबैलाई टार्गेट पुर्याउन सम्भव नहोला । टाग्रेट पुर्याउन नसकेको कारण बीमा क्षेत्रबाट बाहिरिनु पर्ने अवस्था आयो भने त्यो राम्रो भएन ।

बीमा कम्पनी बलियो भएर देशबासिको बीमा गर्नुका साथै दीर्घकालिन लगानी योग्य रकम संकलनको लागि उपयुक्त माध्यम हो । त्यसको लागि महत्वपूर्ण काम भनेको बीमा अभिकर्ताको नै हुने छ । बीमा गर्नु भन्दा अभिकर्ता बनाउनु उतिकै गारो काम हो ।

नेपालमा हरेक व्यक्तिमा प्रोटेक्सन र स्वास्थ्य बीमा आवश्यक छ । यो भयो भने नेपालमा अहिले भएका बीमा कम्पनीले मात्रै धान्न सक्दैन

बीमा क्षेत्रमा नै देखिएको समस्या चाँही के हो ?

अन्य क्षेत्रमा भएको चुनौती जस्तो बीमा क्षेत्रमा पनि छ भने त्यो भनेको अभिकर्ता पलायन हुने चुनौती हो । यदी अभिकर्तालाई यो क्षेत्रमा टिकाउन नसकेको खण्डमा भोली समस्या हुने छ । आशाको किरण देखिएन भने मान्छे पलायन हुने सम्भावना देखिन्छ । यो बेला बीमा समितिले नी केही सहयोग गरेको छ । अहिले हामीले अभिकर्ताहरुसँग डिजिटल तालिम दिइरहेका छौं ।

डिजिटल बीमा पोलिसी बेच्ने हो भने अभिकर्ताले प्रपोजल फर्महरु त्यही अनुसार बनाउने । उनीहरुको लागि छुटै पोर्टल बनाउने, फोनको प्रयोग गर्ने तर्फ जान सकिन्छ । त्यसबाट फोकस गर्र्न सकिन्छ । त्यसको लागि तालिम आवश्यक छ । त्यही अनुसारको वेवसाइट पनि आवश्यक छ । एप पनि बनाउने पर्छ । अहिले पनि बनेको छ, यसलाई झनै सहज बनाउन अवाश्यक छ ।

कोरोनाका कारण बैंकहरुले निक्षेप ब्याजदर घटाउने निर्णय गरे । यसको असर बीमा कम्पनीमा कस्तो पर्छ ?

अहिले हामीले चुनौतीभित्र पनि अवसर खोजिरहेका छौं । यो बेलामा दुखेको घाउमा चलाएको जस्तो भएको छ, हामीलाई । बीमा कम्पनीको प्रमुख कमाइ भनेको भएको फण्डलाई लगानी गरेर हुने आम्दानी नै हो । बीमा हामीले अहिले बेच्ने गरेको छौं । भोलि प्रोटेक्सन बीमा आयो भने त्यो अण्डर राइटिङबाट आम्दानी हुन्छ । त्यो फरक हो । त्यसले ब्याज आम्दानीसँग खासै अर्थ हुँदैन । बचतमा त यसले अर्थ राख्दछ ।

कम्पनीमा आएको प्रिमियम भएको जनताको पैसा हो त्यो हाम्रो होइन । त्यो हामीले फर्काउनु पर्छ । धेरै हाई रिक्समा जान पाइएन । यसबाट धेरै आय गर्न सक्नुपर्छ ।

बजारमा ब्याजदरको सन्दर्भमा तत्कालिन र दिर्घकालिन निक्षेपकर्तालाई हेर्ने व्यवहार मिलेन । ७० प्रतिशत पैसा सरकारी क्षेत्रमा जानुपर्ने हो । त्यहाँ जाँदा धेरै नै सुरक्षित हुने छ । सरकारले ५,१०, १५, २० वर्षे योजना बनाएर बीमा कम्पनीको लागि ऋणपत्र जारी गर्नुपर्छ । त्यसमा तोकेर ब्याज राख्ने थियो । त्यो स्थिर हुने थियो । त्यो हुँदा जनता पनि मेरो पैसा सुरक्षित छ र हामीले पाउने ब्याजदर पनि निश्चित हुन्छ भनेर निश्चिन्त हुन्छन् । कोरोनाको दौडानमा हामीले ब्याजदरमा मार खेप्नु पर्यो ।

अहिले संस्थागत डिपोजिट भनेर सबैलाई एउटै बास्केटमा हाल्ने काम भएको छ, यो हुुनुहुँदैन । यसलाई बीचको बाटो चाहिन्छ । सरकारबाट दीर्घकालिन लगानिको बाताबरण बनोस । त्यसो भयो भने हाम्रो पैसा यता सिफ्ट हुन्छ । अहिले सरकारले ९० दिने, १२८ दिन, १ वर्षको ट्रेजरी बिल्स जारी गर्ने गरेको छ । त्यसमा पनि हामीले बैंकसँग प्रतिस्पर्धा गर्नुपरेको छ । जहाँ पनि संस्थागत रुपमा धक्का बीमा कम्पनीले खाएका छन् । आशा छ यो समस्या चाँडै नै समाधान हुने छ । सायद बीमा कम्पनीले यो कुरा नियामक निकायमा पुर्याउन सकेन की भन्ने पनि देखिएको छ । अब सरकारबाट नै १५/२० वर्षको लगानीको लागि केही काम गर्न आवश्यक छ । यो भयो भने बीमा क्षेत्रको अवस्था अहिलेको भन्दा धेरै राम्रो हुनेछ ।

 बीमा कम्पनीहरुको गत आर्थिक वर्षको नै एक्चुअरीको भ्यालुएसन भएको छैन, त्यसको दोष कोरोनालाई नै जान्छ कि ?

अहिले सबै कम्पनीको एक्चुअरी गर्नुपर्छ । त्यसको लागि हामी भारतको भर पर्नुपरेको छ । पहिला त एक्चुरी गर्ने कम्पनी नै खोज्न गारो भयो । हामीले पनि कोरोना भन्दा केही अघिमात्रै पाएको हो । क्यालकुलेसन गर्दै गर्दै लकडाउन भयो ।

त्यसपछि कोरोनाका कारण पनि केही समस्या भएको हो । तर अब हामी अन्तिम चरणमा पुगको छौं । चाँडै नै आउने छ । आएपछि हामी बीमा समितिमा पठाउने छौ । अब धेरै समय लाग्दैन । यो वर्ष धेरै समय लागे पनि अर्को वर्ष यति समय नलाग्न पनि सक्छ ।

धेरै एक्चुअरी गर्नेहरु मुम्बइमा रहेका छन् । त्यहाँ हुनेहरुको अवस्था दयनिय नै रहेको छ । तै पनि उनीहरुले काम गर्न थालेका छन् ।

हामी पनि कोरोनासँगै हिँड्नुपर्छ । अहिलेको अवस्थामा हाम्रो दैनिक व्यवसाय हेर्ने हो भने ६० देखि ७० प्रतिशत भएको छ ।

अहिलेको अवस्थामा कोरोनाका कारण कुनै असर पर्ला कि नपर्ला ?

कोरोनाका कारण जगेडा कोष बढ्ने सम्भावना हुनसक्छ । हामी आफै पनि यो बढाउने पक्षमा रहेका छौं । कोरोनाका कारण मृत्युदरमा केही कमी हो कि जस्तो देखिएको छ अहिले । बिजनेश भोलुमले पनि कही फरक पार्न सक्छ ।

कुनै व्यक्तिले अली बढी नै प्रिमियम तिर्नेगरी बीमा गरेको छ, कोरोनाका कारण उसको आम्दानी घट्यो, उसले प्रिमियम तिर्न नसक्ने अवस्था भयो भने उसले पोलिसी सरेन्डर गर्नुपर्ला वा अन्य कुनै विकल्प हुन सक्लान् ?

नेपालमा जस्ता नेचरको बीमा गर्ने गरेको छ, त्यही अनुसार अघि बढ्ने हो । ४/५ वर्षमात्रै कमाइ हुने भयो भने ५ वर्ष तिर्ने, १५ वर्षको बीमा गर्न सकिने हुन्छ । आफ्नो सेवा अवधिभर कमाउने सक्नेले रिकरिङ बीमा नै गर्छन । रिकरिङ बीमा गरेको मान्छेले पहिलो प्रिमियम तिर्यो, आज आएर आम्दानी घट्यो, १ वर्षको लागि गारो भयो भने हामी सिधै सरेन्डरमा जाँदैनौ । तपाईको बीमाबाट ऋण लिन सकिन्छ । आफ्नो क्षमता कति छ त्यो अनुसार प्रिमियम तिर्न सकिन्छ । बाँकी नपुग रकम ऋण लिएर पनि तिर्न सकिन्छ । नेपाल लाइफको कुरा गर्दा हाम्रो बोनस दर राम्रो भएको कारण त्यसको पेडअप भ्यालु निकाल्न सहयोग गरेको हुन्छ । जति बढी बोनस हो त्यती नै बढी क्यास भ्यालु आउँछ । हाम्रोमा ३ वर्ष कटेपनि सरप्लस क्यास आउने गरेको हुन्छ ।

हामी तत्कालका लागि ऋण लिनु र तपाइको पैसा आएपछि रेगुलर गर्नु भन्छौ । त्यसमा रिक्समा कुनै कम्परमाइज हुँदैन । लोन लिँँदा सबै रकम तिर्नुपर्छ भन्ने पनि छैन । ब्याज मात्रै तिरेपनि पछि रेगुलर गर्न धेरै मद्दत पुग्छ । जब मानिसले कुनै माध्यमबाट पनि पैसा तिर्न सक्दैन भने उसले त्यही नै रोक्यो भने त्यो पोलिसी पेडअप भ्यालुमा कन्र्भट हुन्छ । मानौ १ लाखको बीमा गरेको छ भने तिरन्तर तिरे भने मैले १ लाख र बोनस पाउँछु । ४ वर्ष तिरेर ४ वर्षपछि छोडे पनि ४ को आधारमा नयाँ भ्यालु निस्कन्छ । मानौ त्यो २० वा २५ हजार आयो भने त्यो कभर भएर अन्तिममा बोनस फिर्ता पाउन सक्छु । अन्तिम बिकल्प भने पोलिसी सरेन्डर नै हो ।

यस्तै बैंकहरुमा ऋण रि–स्टक्चरिङ गरिन्छ, नयाँ इएमआई गरिन्छ, बीमामा पनि त्यस्तो सम्भव रहन्छ । हामीले त्यस्तो खालको प्रडक्ट ल्याउन आवश्यक छ । नयाँ प्रडक्ट आउन आफ्नो वित्तीय क्षेत्र विकास गर्न पनि आवश्यक छ । त्यसको लिंक प्लानको लागि पुँजी बजारको पनि आवश्यक हुन्छ । त्यसमा लङट्रम बण्ड पनि आउन सक्छन् । सेल्फ डिसिप्लेन इकोनोमीमा गएपछि धेरै खालको प्रक्डक्ट बजारमा आउन थाल्नेछन् ।

यतिबेला मानिसहरु घरमै बसेर ऋण कसरी पाउन सकिन्छ ?

हामीले नयाँ बीमा भन्दा हाल भएका बीमालाई चाहिने सेवा डिजिटली भएपनि सुचारु गरेका छौं । सम्पर्क व्यक्तिको नम्बर पनि दिएका छौं । जो अभिधकर्ताले बीमा गरेका छन् उनीहरुमार्फत आफूलाई ऋण चाहिएको हो भने नजिकैको शाखाले ऋण उपलब्ध गराउने छ ।

हामीले हाम्रो वेवसाइटमा ठाँउ राखेका छौं । ताकी हाम्रा बिमितले एप्लाइ गर्न सकुन । केहीले त अनलाइनको सहयोगमा ऋण लिनु भएको पनि छ । फेरि यो डिजिटल जसको लागि बनाएको हो उसैलाई चलाउन आएन भने त्यसको अर्थ पनि हुँदैन । त्यसैले यसलाई सबैले चलाउन सक्ने पनि बनाउनु पर्छ । पहिला त मानिसलाई ऋण पनि पाइन्छ र भन्ने थियो । यो अंक बढदैछ ।

लकडाउनको अवधिमा अनलाइनबाट पनि बीमा भएको छ कि छैन ?

अनलाइनबाट नयाँ बीमा गराउन गाह्रो छ । भइहाल्यो भनेपनि प्रोटेक्सनवाला (ट्रम लाईफ) बीमा मात्रै हुन्छ, त्यो सजिलो पनि छ । २० लाख भन्दा माथि गयो भने मेडिकल रिपोर्ट चाहिन्छ । त्यो सम्भव अहिले छैन । अब हामी टेलिमेडिसिन तर्फ पनि सोचिरहेका छौं । यो आवश्यक पनि छ । अब नेपालमा नभएको योजना पनि ल्याउन तर्फ सोच्ने बेला भएको छ । अब पनि हामीले यो सोचेनौ भने जहाँको त्यही हुन्छौ । बीमा समितिले जहाँसम्म मेडिकल रिपोर्ट चाँहिदैन त्यहाँसम्म गरौ भनेर सिलिङ मागेका छौं । त्यसको फर्म डिजिटलमा राख्ने । आफ्नो त्यहाँ डिटेल भर्ने । आफु स्वास्थ रहेको नरहेको पनि त्यहाँ उल्लेख गर्नुपर्छ । मानिस पूर्ण स्वास्थ्य भएमात्रै बीमा गर्न पाउँछ । कुनै रोग छ भने त्यो हेरेर प्रिमियम बढी लाग्न सक्छ ।

यस्ता बीमा गर्दा सम्पती शुद्दिकरणको पनि विषय उठने गरेको छ । विगतमा सिङगल प्रिमियम हुने, प्रिमियमको रकम ठूलो हुने गर्दछ । १ लाख माथिको रकममा थ्रेसहोल्ड अनुसार माथिल्लो निकायमा रिपोर्ट गर्न सकिन्छ । तथापी आम्दानीको स्रोत उल्लेख गर्ने बाताबरण बनाउन आवश्यक छ । त्यसपछि बीमा गर्ने मान्छे वास्तविक होकी होइन । उसको स्वास्थ्य अवस्था कस्तो छ भनेर विभिन्न किसिमका फोन तथा भिडियो कलबाट पनि थाहा पाउन सकिन्छ भनेर अघि लैजाने तयारीमा छौं । यो चाँही कम्पनीबाट अभिकर्ता, अभिकर्ता हुँदै बिमितमा लैजाने सोचमा छ ।


क्लिकमान्डु