सहकारी सचिव न्यौपाने भन्छन्- संकटमा सहकारीले सदस्यको हितमा काम गरेनन्



काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेले सहकारी संस्थाहरुले आफ्नो विनियममा भएको कुरा बिस्रेर सदस्यका हितमा काम गर्न नसकेको बताएका छन् ।

सहकारी पत्रकार समाजले आयोजना गरेको महामारिको बेलामा सहकारी सदस्यहरुको भूमिका विषयक भिडियो कन्फ्रेन्स सचिव न्यौपानेले यस्तो बताएका हुन् ।

‘सहकारी संस्थाहरुको विनियममा सदस्यका हित गर्ने भनेर लेखिएको हुन्छ,’ सचिव न्यौपानेले भने ‘तर सहकारीहरुले सदस्यका हित हुने काम गरेनन् । जे विषयका सहकारीहरु हुन, त्यसैमा नै केन्द्रित भए । बचत तथा ऋणले बचत तथा ऋणको मात्रै, कृषिले कृषिको मात्रै वा अन्य विषयगत संघले त्यसमा मात्रै केन्द्रित भए । उनीहरुले विनियम पढेनन् । जसले गर्दा कोरोनाको महामारीमा सदस्यलाई के आवश्यक छ भन्नेमा ध्यान नै दिएनन् ।’

कोरोनाका कारण सरकारले लकडउन गरेको छ यो बेला सहकारीहरुले आफ्ना सदस्यलाई ग्यास, चामल, तरकारी वा अन्य के कुराको अभाव भएको छ त्यसका ध्यान नदिखएको भन्दै सचिव न्यौपानेंले गुनासो गरेको छन् ।

उनले भने ‘यो बेला सहकारी संस्थाहरुले आफ्ना सदस्यलाई ग्यास, चामल तरकारी के चाहिन्छ सोध्नु पर्ने हो, त्यो फोनबाट पनि हुनसक्छ । सामाजिक सञ्जालबाट पनि हुनसक्छ । सहकारीले चाहेको खण्डमा सदस्यलाई अत्यावश्यक सामान घरमा नै पुर्याउन पनि सक्छन् । सदस्यको चुलो बल्यो की बलेन, उसलाई पैसा चाहिएको छ की छैन न ऋण चाहिएको छ की, सापटी दिन सकिन्छ कि यस्ता विषयमा सहकारीले ध्यान नदिएको उनको गुनासो छ ।’

यो बेला कतिपय मान्छेले मास्क, स्यानिटाइजर नपाएको भन्दै सहकारीले मास्क, स्यानिटाइजर वितरण गर्नु पर्ने बताए ।

उनले भने ‘सहकारी मास्क उत्पादन गर्न पनि सक्छन, त्यसमा ध्यान दिएको पाइएन । सहकारीले सदस्यको हितमा काम नगर्नु भनेको आफ्नो सिद्दान्तबाट विक्षिप्त हुने हो ।’

यो बेला सहकारीका सदस्यले म सहकारीको सदस्य छु, म ढुक्क छु । मेरो रेखदेख सहकारीले गर्छ भन्ने अवस्था हुने पर्नेमा त्यसो हुन नसकेको उनको बुझाई छ । सचिव न्यौपानले सबै विषयगत सहकारीहरुलाई आफ्नो सदस्यका अवस्था कस्तो छ बुझेर आवश्यक सहयोग गर्न समेत आग्रह गरेका छन् ।

उनले जिल्लामा रहेका सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणमा ध्यान दिन आग्रह गरे । कृषकले उत्पादन गरेको तरकारी पछि बिचौलिया , दुध पछि बेचौला भनेर बस्न नहुने भएकाले उत्पादन भएको बस्तुको बजारीकणमा ध्यान दिने र उत्पादनमा पनि ध्यान दिन आग्रह गरेका छन् ।

लकडाउनको समयमा सहकारीका सदस्यको टेक्ने लौरो सहकारी नै हुनुपर्ने, सहकारीले क्यारेन्टाइन बनाउनु पर्ने, विदेशबाट आएकाहरुको तथ्याङ लिन सक्नेमा त्यस्तो कुनै काम नगरेको गुनासो गरे । सहकारीले यस्तो काम गरेको खण्डमा सरकारलाई पनि काम गर्न सजिलो हुने उनको बुझाई छ ।

अहिले कतिपय सहकारी संस्थाहरुले पास नपाएको भन्ने गुनासो गरेको र उनीहरुलाई आफुले पास उपलब्ध गराएको पनि उनले बताए । ‘तरकारी बेच्न जान पास भएन भन्नेलाई सहजीकरण गरेको छु । घरघरमा पास पुर्याउन सकिन्दैन । पास नभएर काम रोकिएकालाई आफैले पास दिएको छु ।’

यो बेला सहकारीले सरकारले निर्देशनमा काम गर्ने भन्दा पनि आफैले जानेर गर्नुपर्ने उनको तर्क छ । ‘सरकारले निर्देशन दिएर काम गर्दा सहकारी सहकारी जस्ता हुँदैन । सरकारको शाखा जस्तो हुन्छ । सरकारले हात जोडेर गरेको काम प्रभावकारी हुदैन । सहकारीले स्वचालित रुपले काम गर्नुपर्छ’ उनले भने ‘ सदस्यको भावना चाहना अनुसार काम गर्नुपर्छ ।’ भूकम्प गएको समयमा सदस्यको अवस्था कस्तो छ नहेरेका सहकारीले अहिले पनि केही पाठ नसिकेको सचिव न्यौपानेको तर्क छ ।

एक फरक प्रसङगमा उनले विप्रेषण देश बनाउने अचुक औषधी नभएको भन्दै अब सबै नेपालीलाई आफ्नो देशमा काम गर्ने, पसिना बगाउने बाताबरण बनाउन आवश्यक रहेको बताए । ‘हाम्रो गाँउका खेतबारी बाँझो भएका छन् । पहिला निर्यात गर्नेमा अहिले आयात गरेको छौ । विदेशबाट आउनेलाई उत्पादनमा परिचालन गर्नुपर्छ । राज्यले मल बीउ प्रविधि, उपकरणमा सहुलियत दिनुपर्छ’ उनले भने ‘त्यसका सहकारी संस्थाले सहयोग गर्न सक्छ ।

सरकारले भूमि बैंकको अवधारणा ल्याएको जानकारी गराए ।

‘जाँगर हुनेसँग भुमी छैन भुमी हुनेसँग जाँगर छैन’ उनले भने ‘अब जाँगर हुनेलाई भूमि दिने योजना सरकारको रहेको छ । जग्गा नहुनेले अब साँधुरिनु पर्दैन । जग्गा नहुनेलाई जग्गा उपलब्ध गराउने तर्फ सरकार अघि बढेको छ ।’

अब गाँउ गाँउमा सहकारीलाई प्रोत्साहित गर्ने उनको भनाई छ ।


क्लिकमान्डु