अवैतानिक महावाणिज्य दूतको नाममा अवैधानिक काम, मूल्यांकन नहुँदा राम्रा काम ओझेलमा



काठमाडौं । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरी सन् २०१२ देखि २०१८ सम्म माल्दिभ्सका लागि अवैतानिक महावाणिज्य दूत थिए । उनी अहिले सर्बियाका लागि अवैतानिक महावाणिज्य दूत हुन् ।

माल्दिभ्सको अवैतानिक महावाणिज्य दूत भने अहिले निर्वाणका भाई राहुल चौधरी भएका छन् । चौधरी ग्रुपको माल्दिभ्समा होटल क्षेत्रमा लगानी छ भने सर्बियामा वाइवाइ चाउचाउको उद्योग छ ।

चौधरी समूहले लगानी गर्नका लागि सहज वातावरण बनाउन महावाणिज्य दूत बने उनी।

यो एउटा उदाहरण मात्र हो । सरकारले महावाणिज्य दूतको विषयमा मूल्यांकन गर्न नसक्दा देशको भन्दा महावाणिज्य दूत बनेर व्यक्तिगत फाइदा लिने व्यवसायीको संख्या बढ्न थालेको छ ।

सरकार व्यवसायीको प्रभावमा हुँदा राम्रोसँग काम गरिरहेका महावाणिज्य दूतको काम नै ओझेलमा परेको छ ।

अझ कोरोना भाइरसको संकटको बेला किग्रिस्थानका महावाणिज्य दूत समेत रहेका शंकर ग्रुपका शुलभ अग्रवाल थर्मल गनको कालोबजारीमा आरोपमा पक्राउ परे । उनी थर्मल गन महंगो मूल्यमा बिक्री गर्नका लागि निलो नम्बर प्लेटको गाडी लिएर हिँडेका आफै थिए ।

सुलभका भाइ साहिल अग्रवाल ३५ लाख जनसंख्या भएको बोस्निया एण्ड हर्जगोभिनाका महावाणिज्य दूत छन् । युरोपको सानो देश बोस्नियासँग नेपालको न त ठूलो व्यापार छ न त लगानी नै आएको छ । पर्यटकको संख्या पनि निकै कम छ ।

२०६३ सालपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरला र परराष्ट्रमन्त्री सहाना प्रधानले सरकारले अवैतानिक महावाणिज्य दूतलाई निलो नम्बर प्लेटको गाडी त्यो देशको झण्डा हल्लाउदै चढ्ने दिने, विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न दिने तथा सिंहदरबार प्रवेशमा त्यही परिचयपत्रको आधारमा प्रवेश पाउने निर्णय गरेको थियो ।

त्यसपछि व्यवसायिक घरानामा महावाणिज्य दूत बन्ने प्रतिस्पर्धा नै चलेको थियो ।

कतिसम्म भने गैरआवासीय नेपाली संघ (एनआरएनए) स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका भीम उदास नेपाल फर्केपछि जोर्डनका अवैतानिक महावाणिज्य दूतको रुपमा काम गरे । अहिले उनी नेपालका लागि म्यानमारको राजदूत छन् ।

व्यवसायी विनय श्रेष्ठ नेपालमा ब्राजिलको दुतावास नखोल्दासम्म ब्राजिलको महावाणिज्य दूत थिए । अहिले उनी कोलम्बियाको महावाणिज्य दूत छन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकारी उच्च राजनीतिक दबाबको कारण अवैतनिक महावाणिज्य दूतहरुको कामको मूल्यांकन हुन नसक्दा यसमा बिकृति देखिएको बताउँछन् ।

‘आर्थिक कुटनीति बढाउने काम गर्नुपर्ने अवैतानिक महावाणिज्य दूत पद व्यवसायीहरुको आफ्नो प्रतिष्ठा बढाउने मात्र केन्दिीत भयो,’ ती अधिकारीले भने ।

परराष्ट्र मन्त्रालयले अहिलेसम्म नेपालमा रहेका अवैतानिक महावाणिज्य दूतहरुको कामको मूल्यांकन नै गरेको छैन । सम्बन्धित देशले अनुमति दिएपछि नेपाल सरकारले स्वीकृति दिएपछि मात्र अवैतानिक महावाणिज्य दूत बन्न पाउने व्यवस्था गरेको छ ।

सुलभ अग्रवाल कालोबजारी गर्दा गर्दै रंगे हात पक्राउ परेपछि सरकारले महावाणिज्य दूतलाई दिँदै आएको निलो नम्बर प्लेटको गाडीमा हिड्ने सुविधा खारेज गरेको छ ।

सुलभ अग्रवालको अवैतानिक महावाणिज्य दूत पद नै खारेज भएको छ । यो कालोबजारीको पक्राउ गरेको हुँदा सुलभका लागि भने सम्भवतः अवैतानिक महावाणिज्य दूत बन्ने बाटो भने सधैका लागि बन्द भएको छ ।

आर्थिक कुटनीतिको क्षेत्रमा पैरवी गर्ने संस्था एशियन इन्स्टिच्युट अफ डिप्लोमेसी इन्टरनेशनल अफयेर (एआईडीआईए)का प्रमुख सुनिल केसी सरकारले अवैतानिक महावाणिज्य दूतको मूल्यांकन गर्न नसक्दा बिकृति बढेको बताउँछन् ।

‘अवैतानिक महावाणिज्य दूतको रुपमा आर्थिक कुटनीति बढाउनेहरु छन्, कति नामका लागि मात्र भएका छन्, सरकारले सबैलाई एउटै बास्केटमा राख्दा समस्या देखिएको हो,’ उनले भने ।

नेपालमा सबै देशका दूतावासहरु स्थापना गर्न सम्भव छैन । यस्तोमा ती देशहरुले नेपालमा महावाणिज्य दूत नियुक्त गर्छन् ।

व्यापार र पर्यटन नै पहिलो सर्त हुनुपर्नेमा व्यवसायिक दबाबको कारण अवैतनिक महावाणिज्य दूतमा नियुक्ती हुँदा प्रभावकारी तरिकाले आर्थिक कुटनीतिको काम अगाडि बढ्न नसकेको केसीको विश्लेषण छ ।

‘अवैतनिक महावाणिज्य दूतको मात्र होइन, सरकारले आफैले पठाएका राजदूतको समेत मूल्यांकन गर्नुपर्छ, यस्तो अवस्थामा सहयोग जुटाउन नसक्नेको राजदूतको पनि काम हुँदैन,’ उनले थपे ।

अवैतनिक महावाणिज्य दूत समेत रहेका सुलभ अग्रवाल कालोबजारीमा पक्राउ गरेपछि सरकारलाई यसको मूल्यांकन गर्न दबाब भने बढेको छ ।

यद्यपि व्यवसायिक घरानाको पकडमा रहेको अवैतानिक महावाणिज्य दूतहरुको मूल्यांकन गर्र्नेमा शंका भने कायमै छ ।


क्लिकमान्डु