कोरोनाको राहत प्याकेजले बैंकमा एक दिनमा नै ३३ अर्ब रुपैयाँ तरलता थपियो



काठमाडौं । बैंकहरुमा ९४ अर्ब रुपैयाँ लगानी योग्य रकम अर्थात  तरलता पुगेको छ । राष्ट्र बैंकले आइतबार अनिवार्य नगद मौज्दात (सिआरआर) सहुलियत दिएपछि बैंकहरुमा एक दिनमा नै ३३ अर्ब रुपैयाँ तरलता थपिएको हो । आइतबारसम्म बैंकहरुमा ६१ अर्ब रुपैयाँ तरतता थियो ।

केन्द्रिय बैंकले आइतबार कोरोना भाइरसको प्रभावलाई सहजिकरण गर्न निर्देशन जारी गर्दै इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कायम गर्नुपर्ने अनिर्वाय नगद मौज्दात कुल निक्षेपको ३ प्रतिशतमात्र कायम गर्नु पर्ने व्यवस्था गरेको थियो ।

कुल निक्षेपबाट राष्ट्र बैंकमा राख्नु पर्ने नगद मौज्दातको सीमा घटेको कारणले बैंकहरुमा अधिक तरलता भएको राष्ट्र बैंकका प्रवक्ता गुणाकार भट्टले बताए ।

‘साउनयता सबैभन्दा बढी बैंकहरुमा तरलता आज छ,’ उनले क्लिकमाण्डूसँग भने ‘सिआरआरमा छुट पाएपछि बैंकहरुमा अधिक तरलता भएको हो ।’ तलरता बढेपछि अन्तर बैंक कारोबार समेत नभएको उनले जानकारी दिए ।

गत साउन मसान्तमा बैंकहरुमा ५८ अर्ब रुपैयाँ बैंकहरुमा तरलता रहेकोमा पुस मसान्तमा १८ अर्ब ४७ करोड रुपैयाँ तरलता रहेको थियो । माघ १ गतेदेखि बैंकहरुमा तरलता अभाव भएपछि राष्ट्र बैंकले विभिन्न चरणमा रिपो जारी गर्दै बजारमा तरलता प्रवाह गर्दै आएको थियो ।
यस बीचमा बैंकहरुमा तरलता अभावको कारण अन्तर बैंक कारोबार बढेर यसको ब्याजदर ५ प्रतिशतभन्दा माथि पुगेको थियो । फागुन २० गतेसम्म बैंकहरुमा तरलता दवाबमा नै रहेको प्रवक्ता भट्टको भनाइ छ ।

‘माघयता तरलता अभाब भएको कारण अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा माथि साढे ५ प्रतिशत माथि पुगेको थियो,’ उनले भने ‘तरलता सहज नहुदाँ फागुन २८ गतेसम्म अन्तर बैंक ब्याजदर ४ प्रतिशतको हाराहारीमा थियो ।’ फागुन मसान्तपछि बजारमा ५० अर्ब रुपैयाँभन्दा माथि नै तरलता छ ।’ तरलता सहज भएको कारण चैत १३ गतेदेखि अन्तर बैंक कारोबार नै नभएको उनले जानकारी दिए ।

राष्ट्र बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको कारणले उत्पन्न असहज परिस्थितीलाई ध्यानमा राख्दै राष्ट्र बैंक ऐन २०५८ को दफा ७९ दिएको अधिकारको प्रयोग गरी सो निर्देशन जारी गरिएको राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।

बैंक तथा वित्तीय संस्थामा कुल ३५ खर्ब निक्षेप छ भने कर्जा ३३ अर्ब रहेको छ ।


क्लिकमान्डु