डा. चिरञ्जीबी नेपाललाई बैंकिङ क्षेत्रले चाहेर पनि भूल्न सक्दैनः बैंकर्स संघका अध्यक्ष भुवन दाहाल
राष्ट्र बैंकको तथ्यांक हेर्दा मुलुकमा वित्तीय पहुँच ६१ प्रतिशतमा पुगेको छ । यो ५ वर्षमा भएको राम्रो प्रगति हो । बैंकमा खाता खोल्नेको संख्या ३ करोड ११ लाख पुगेको छ । र, यो बैंक, विकास बैंक र फाइनान्स कम्पनीको मात्रै हो । यसमा लघुवित्त संस्थाको खाता जोडिएको छैन ।
यो आर्थिक वर्षमै ४० लाखजति नयाँ खाता खुलेको छ । डुब्लिकेसनलाई हटाउने हो भने झण्डै ७० प्रतिशत जनसंख्या वित्तीय पहुँचमा पुगेको छ । सँधै एकतिहाईमा वित्तीय पहुँच पुग्नु भनेको राम्रो कुरा हो । जसले गर्दा बैंकमा पहुँच नहुनेको संख्या कम भइसकेको छ ।
निक्षेप जीडीपी अनुपात हेर्ने हो भने दक्षिण एशियामा सबैभन्दा बढी देखिन्छ । यसले बैंकमा व्यक्तिहरु निर्भर रहेको देखियो । ७५३ वटा स्थानीय तहमा ७४५ वटा स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । अब असारसम्म बाँकी स्थानीय तहमा पनि पुग्ने छ ।
वित्तीय क्षेत्र रणनीतिमा २०७८ असार मसान्तसम्ममा निक्षेप जीडीपी अनुपात एक सय प्रतिशत पुर्याउने र ऋणको अनुपात ८० प्रतिशत पुर्याउने भनेको थियो । टार्गेट अनुसार राम्रो भएको छ । अहिले वाणिज्य बैंकको नै शाखा नै गाउँमा पुगेको छ ।
अबको बाटो बैंक बिग बैंकबाट क्लिक बैंकमा जाने हो । पेमेन्ट सिस्टमलाई सुरक्षित बनाउने काम यसअघिका गभर्नर डा. युवराज खतिवडाको पालामा भएको थियो । त्यसलाई नयाँ उचाइमा पुर्याउने काम अहिलेका गभर्नर चिरन्जिवी नेपालले गर्नुभयो । विभाग नै खोल्नुभयो । तर राष्ट्र बैंकमा विभागीय प्रमुख छिटो परिवर्तनले भने रफ्तारले काम अगाडि बढ्न सकेन ।
भुक्तानी प्रणालीमा गभर्नर चिरन्जिवी नेपालको पालामा नयाँ क्रान्ति नै शुरु भयो । आरटीजीएस होस् या क्लियरिङ हाउसबाट हुने कामहोस् त्यसलाई राम्रो शुरुवात भन्नुपर्छ । ।
उहाँले ५ वर्षेको कार्यकालमा कुनैपनि अंहकार देखाउनु भएन । सहजिकरण गरेर नै वित्तीय क्षेत्रलाई अगाडि बढाउनुभयो । तर पहिले निजी क्षेत्रमैत्री भनेर जसरी चिनाउनु भएको थियो त्यो अनुसार काम भएन भन्ने कि भन्ने हाम्रो बुझाइ छ । नियामक निकायले काम गर्ने आफ्ना बाध्यता पनि हुन्छन् । स्प्रेडदरको गणनाविधि परिवर्तन हुन्छ कि भन्ने हाम्रो अपेक्षा थियो । त्यो भएन ।
बैंकासुरेन्समा केही बैंकले गल्ती गरेका थिए । तर त्यसलाई पूर्णरुपमा रोक्नु हुँदैनथ्यो । मर्जर तथा एक्विजेशनमा अर्काे ५ वर्षमा ठूलो सफलता भएको भएको छ । नीतिगत रुपमा युवराज खतिवडा गभर्नर हुँदा त्यो शुरु भएको थियो । काम पनि शुरु भएको थियो । त्यसलाई थप अगाडि बढाउने काम यो ५ वर्षमा भएको छ ।
चुक्ता पूँजीको नीति लिएर आउँदा हामीलाई नै के गरेको होला ? यो सम्भव छैन जस्तो लागेको थियो । तोकिएको अवधीभित्रमा चुक्ता पूँजी बढ्यो । जसले गर्दा बैंकहरु सवल पनि भए ।
चिरञ्जीबी सरले मर्जरमा पनि माहोल बनाउनुभयो । ग्लोबल र जनता बैंकको मर्जर सफल भयो भने अरु धेरै बैंकहरु मर्जरमा जानेछन् । बैंकहरुलाई मर्जरमा बजारको पनि दबाब छ ।
अर्को उपभोक्ताको संरक्षणमा पनि धेरै काम भएको छ । चिरन्जिवी सरले बेसरेट अनुसार नै ब्याजदर निर्धारण हुने नीति बनेको छ । पहिले बैंकहरुको बेसरेट घटे पनि ऋणको ब्याजदर घटाउन मुस्किल पर्ने थियो । बेसरेट अनुसार ऋणको ब्याजदर घट्ने काम यो ५ वर्षमा भयो ।
अर्को सफलता भनेको समस्याग्रस्त संस्थाको व्यवस्थापन हो । साना संस्था थिए । जसमा निक्षेपकर्ताले आफूले राखेको पैसा फिर्ता पाउन सकेका थिएनन् । त्यस संस्थामा नयाँ लगानीकर्ता आए । संस्थाहरु मर्ज भए ।
डा. नेपालको कार्यकलमा दर्जनौं राम्रा र सुधारका कामहरु भएका छन् । त्यसैले पूर्वगर्भरकोरुपमा बैंकिङ क्षेत्रले डा. चिरञ्जीबी नेपाललाई चाहेर पनि कहिल्यै पनि भूल्न सक्दैन ।
अब आउने गभर्नरलाई मुख्यरुपमा देखिने चुनौती प्रविधिले देखाउने चुनौती हो । प्रविधिले बैंकिङलाई जसरी क्लिकमय बनाएको छ । त्यो अनुसार चुनौती पनि थपिएको छ । अब आउने गभर्नरले जोड दिनुपर्ने नै लेस क्यास इकोनोमिलाई बढाउनका लागि क्लिक बैंकिङमा नै जोड दिनुपर्छ । जसले कारोबारमा पारदर्शीता आउने छ ।
अर्को अब आउने गभर्नरले गर्नुपर्ने काम बैंकिङ कसुर तथा सजाय ऐनको कारण अहिले बैंकहरुमा काम गर्न नसक्ने वातावरण सिर्जना भएको छ । बिओकेको केसमा अजय श्रेष्ठ पक्राउ परेपछि त्यो वातावरण सिर्जना भएको छ । यो डरको वातारण बैंकिङ क्षेत्रमा हटाउनको लागि अब आउने गभर्नरले पहल गर्नुपर्छ । (कुराकानीमा आधारित)