यी हुन् ऋणको ब्याज बढाउने १० वाणिज्य बैंक, कसले कति बढाए ?



काठमाडौं । नाफा सुरक्षित गर्न वाणिज्य बैंकहरुले महिनैपिच्छे धमाधम कर्जाको ब्याजदर बढाइरहेका छन् । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमध्ये १० वटाले १ महिनामै बेसरेट परिवर्तन गरी कर्जाको ब्याजदर बढाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत भनेको नै कर्जा लगानीबाट प्राप्त हुने ब्याज आम्दानी हो । बैंक तथा वित्तीय संस्थाहरुले बेसरेटलाई आधार बनाएर कर्जा लगानी गर्छन् ।

कर्जाको प्रकारअनुसार बैंकहरुले बेसरेटभन्दा केही प्रतिशत प्रिमियम थप गरी कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ । बेसरेटभन्दा तल रहेर बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई कर्जा प्रवाह गर्दैनन् ।

कर्जाको प्रकारअनुसार फरक–फरक ब्याजदर तोकिए पनि प्रवाहित कर्जाको ब्याजदरभन्दा बैंकहरुको बेसरेट परिवर्तनले कर्जाको ब्याजदरमा हेरफेर हुन्छ ।

प्रायजसो बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा बेसरेट परिवर्तन गर्दछन् । तर उच्च नाफा कमाउन केही बैंकहरु माहिनैपिच्छे बेसरेट परिवर्तन गरिरहेका छन् ।

१६ वटा वाणिज्य बैंकले मासिकरुपमा नै बेसरेट परिवर्तन गरिरहेका छन् । जसमा १० वटा वाणिज्य बैंकले पुस मसान्तको भन्दा बेसरेट बढाएका छन् भने ६ वटा वाणिज्य बैंकले घटाएका छन् ।

११ वटा वाणिज्य बैंकहरुले भने पुस मसान्तमा परिवर्तन भएको बेसरेटलाई नै आधार बनाएर हालसम्म कर्जा लगानी गरिरहेको छन् ।

पछिल्लो महिना बेसरेट बढाउनेमा कृषि विकास बैंक, मेगा बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, कुमारी बैंक र सिभिल बैंक रहेका छन् । साथै राष्ट्रिय वाणिज्य बैंक, एनएमबी बैंक, नविल बैंक र सेन्चुरी बैंकले पनि पुस मसान्तको भन्दा बेसरेट बढाएर कर्जा लगानी गरेका हुन् ।

महिनापच्छिे उच्च बेसरेट हेरफेर गर्नेमा सरकारी बैंक कृषि विकास बैंक रहेको छ । बैंकले पुस मसान्तमा कायम गरिएको बेसरेटमा ०.९८ प्रतिशत वृद्धि गरेको छ ।

गत पुसमा बैंकको बेसरेट १०.१७ प्रतिशत थियो भने हाल ११.१५ प्रतिशत बेसरेट कायम गरी सोहीको आधारमा कर्जा प्रवाह गरिरहेको छ ।

यसैगरी महिनैपिच्चे उच्च बेसरेट बढाउनेमा मेगा बैंक दोस्रो नम्बरमा रहेको छ । बैंकले पुस मसान्तको ९.७६ प्रतिशत बेसरेटमा ०.२२ प्रतिशत थप गरी हाल ९.९८ कायम गरी कर्जा लगानी गरिरहेको छ ।

सानिमा बैंक महिनैपिच्चे बेसरेट बढाएर कर्जा लगानी गर्ने बैंकहरुको तेस्रो नम्बरमा छ । बैंकले गत पुस मसान्तको बेसरेटमा ०.१४ प्रतिशत थप गरी हाल ९.४३ प्रतिशत बेसरेटको आधारमा कर्जा वितरण गरिरहेको छ । बैंकको पुस मसान्तमा वेसरेट ९.२९ प्रतिशत थियो ।

यस्तै, पुस मसान्तमा कायम गरिएको बेसरेटमा सिटिजन्स बैंकले ०.०८ प्रतिशत, कुमारी बैंकले ०.०७ प्रतिशत, सिभिल बैंकले ०.०६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ०.०४ प्रतिशत, एनएमबी बैंकले ०.०३ प्रतिशत, नविल बैंकले ०.०२ प्रतिशत र सेन्चुरी बैंकले ०.०१ प्रतिशत थप गरेर कर्जा लगानी गरेको छ ।


क्लिकमान्डु