आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई सँगसँगै अघि बढाउनु पर्छः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले समाजकल्याण र दिगो विकासका लागि वित्तीय समावेशीतामा जोड दिनु पर्ने बताउँदै वित्तीय समावेशीताका लागि गैरबैंकिङ संस्थाहरु वाधक बनेको बताएका छन् ।

नेपाल राष्ट्र बैंकद्धारा  शुक्रबारआयोजित तेस्रो अन्तर्राष्ट्रिय आर्थिक तथा वित्त सम्मेलनमा दिगो आर्थिक विकासको लागि वित्तीय समावेशीता चाहिने र वित्तीय समावेशीताको विकासको लागि गैरबैकिङ संस्थाहरु नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष लगायतका वाधक बनेको उनको भनाइ छ ।

‘संस्थागत दोहोरोपन बढेर बैंकहरु गैरपरम्परागत गतिविधिहरु गर्न थालेका छन्’ उनले भने ‘केन्द्रिय बैंकको परम्परागत भूमिका अहिले आइटी कम्पनीहरुले गर्न थालेका छन् ।’

आइटी कम्पनीहरु अहिले गैरकानुनी रुपमा नै विदेशी विनीमय जारी गर्ने जस्ता कामहरु गर्न थालेको कारणले गर्दा आइटी कम्पनी र बैंकहरुको सम्बन्ध धमिलिएको उनले बताए ।

‘पछिल्लो केही वर्षयता नेपाल छायाँ बैंकिङको प्रवित्ति हाबी हुदै गएको छ,’ खतिवडाले भने ‘वाणिज्य बैंकले गर्ने काम निजी क्षेत्रका अन्य गैरबैंकिङ संस्था पनि गर्न थालेका छन् ।’

बैंकहरुले नै गैरपरम्परागत गतिविधि गर्न थालेको र त्यसको फाईदा उठाउँदै निजी क्षेत्रले हायर पर्चेज, फाइनान्सिङ, निक्षेप तथा कर्जा परिचालन गर्ने, चेक जारी गर्ने, लगायतका काम गर्दा बैंक र गैरबैकिङ संस्था छुट्याउन गाह्रो भएको उनले बताए ।

फरक-फरक नाममा बैंक तथा वित्त संस्था र गैरबैंकिङ संस्थाले एउटै काम गरिरहेको कारणले सरकार, केन्द्रिय बैंक र जनतालाई नै बैंक र गैर बैंकिङ संस्था छुट्याउन गाह्रो भएको उनको तर्क छ ।

‘बैंकिङ गतिविधि मात्र वित्तीय समावेशीकरण होइन,’ उनले भने ‘बैंक तथा वित्तीय संस्थाले यसमा भएको जोखिम व्यवस्थापन गर्दैन ।’

बीमा कम्पनीहरुले यसको जोखिम बहन नगरे बैंक तथा वित्तीय संस्था जोखिममा परेर वित्तीय समावेशीतामा उनीहरुको भुमिका फितलो देखिने उनको भनाइ छ ।

‘लघुवित्तबाट माथि उठेकाहरुलाई वाणिज्य बैंकहरुले कर्जा दिँदैनन्’ उनले भने ‘वित्तीय क्षेत्रमा ती क्षेत्र छुटेका कारण वित्तीय समावेशीतामा लघुवित्त क्षेत्र छुटिरहेका छन् ।’

वित्तीय समवेशीताको लागि ती क्षेत्रलाई समावेश गर्ने प्रयास सरकारको तर्फबाट भइरहेकोे खतिवडाले बताए ।

विकासको नाममा आर्थिक वृद्धिलाई मात्र हेर्दा मुलुकमा दिगो विकास नहुने उनको भनाइ छ ।

‘आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई समान तबरले अगाडि बढाउनु पर्छ,’ उनले भने ‘हाम्रो जोड अहिले आर्थिक वृद्धिमा मात्र भइरहेको छ, अब भने वित्तीय स्थायित्वलाई पनि जोड दिनु पर्छ ।’

आर्थिक वृद्धिको मात्र लक्ष्य प्राप्त गर्दा पछि वित्तीय स्थायित्व कायम गर्न सम्भव नहुने उनको तर्क छ ।

हाल चौतर्फी रुपमा सरकार फेल भयो भन्ने भनाइ आएको भन्दै खतिवडाले हालसम्म सरकार व्यवसाय गर्न फेल बताएका छन् ।

सरकारले व्यवसाय गर्न फेल भएपनि व्यवसायीक बजारलाई भने फेल हुन नदिने उनको भनाइ छ । जसका लागि सरकारले आन्तरिक उत्पादन वृद्धि गर्न सबै स्थानियतहमा नयाँ व्यवसायीक संस्थाहरु स्थापन र दक्ष जनशक्ति उत्पादनमा विषेशगरी काम गरेको खतिवडाले बताए ।

भूमि तथा अन्य भौतिक क्षेत्रमा गरिएको लगानीको प्रतिफल घट्ने सम्भावना हुने र ज्ञानका क्षेत्रमा गरिएको लगानीको प्रतिफल बढ्ने हुँदा नेपालले अब ज्ञानका क्षेत्रमा लगानी बढाउन आर्थिक तथा वित्तीय क्षेत्रसँग सम्बन्धीत सम्मेलनहरु गर्न बताए ।


पुष्प दुलाल