सामाजिक सुरक्षा कोषको कर नीति संशोधन, कर तिर्न योगदानकर्ता स्वतन्त्र



काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनेलाई सरकारले कर छुटको व्यवस्था गरेको छ । आय कर नियामवालीको दशौ संशोधन २०७६ जारी गर्दै कोषमा आवद्ध हुने योगदानकर्तालाई कर तिर्न स्वतन्त्रता दिएको हो ।

आय कर नियामवाली २०५९ को नियम २१ लाईलाई संशोधन गरी योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताले कोषमा योगदान गर्दा पाँच लाख रुपैयाँ वा निजको निर्धारण योग्य आयको एक तिहाइमा जुन घटि हुन्छ, सो रकमसम्म आफ्नो करयोग्य आयबाट घटाउन सक्ने व्यवस्था गरेको छ ।

यस अघि कोषमा आवद्ध हुने योगदानकर्तालाई अनिवार्य रुपमा नै ३३ प्रतिशतको सीमा निर्धारण गरिएको थियो । सो सीमामा केही सहजता दिइएको सामाजिक सुरक्षा कोषकी प्रवक्ता रमा भट्टराईले बताईन् ।

‘यसअघिका दोहोरो करका विष अब हट्यो’ उनले भनिन् ‘अब योगदानकर्ताले आम्दानीको ३३ प्रतिशत वा ५ लाख मध्ये जुन पनि रोजेर सरकारलाई कर तिर्न पाउँछ ।’ धेरै आम्दानी भएकाहरुले आयकर ३३ प्रतिशत तिर्दा ५ लाख रुपैयाँभन्दा बढी हुन जाने र त्यस्ता योगदानकर्ताले ३३ प्रतिशतको कर सीमाभन्दा ५ लाख रुपैयाँ कर वापतको रकम सरकारलाई बुझाए हुने उनले बताईन् ।

यस अघि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले कोषमा दोहोरो कर नीति भएको भन्दै आवद्ध हुन अस्विकार गर्दै आएका थिए । सरकारले कर नीति संशोधन गरे पनि प्रभावकारी नभएको बैंकर्स संघका सीइओ अनिल शर्माको भनाई छ ।

‘संशोधित कर नीतिले १५ लाख रुपैयाँभन्दा धेरै आम्दानी हुनेलाई मात्र समेटेको छ’ उनले भने ‘कोषमा त १५ लाख रुपैयाँभन्दा थोरै आय भएकाहरु पनि आवद्ध हुनुपर्यो त्यसको पनि सीमा निर्धारण भए राम्रो हुन्थ्यो ।’ बैंकिङ क्षेत्रलाई कोषमा आवद्ध हुन कर नीतिले मात्र नभएर कोषले व्यवस्था गरेको अवकास प्रणालीमा पनि परिवर्तन गरी सरकारी र निजी क्षेत्रको कर्मचारीलाई समान प्रकारको अवकास नीति लिइनु पर्ने उनको भनाई छ । हाल बैंकिङ क्षेत्रका कर्मचारीलाई सरकारले परिवर्तन गरेको कर नीतिले कोषमा आवद्ध हुन कतिको सहज हुन्छ सोको अध्यान गरी कोषमा आवद्ध हुने नहुने निणर्य केही समय पछि मात्र गरिने शर्माको भनाई छ ।

संसोधित आयकर सम्बन्धी व्यवस्था कोषले तुरुन्तै प्रारम्भ गर्नु पर्ने संशोधित ऐनमा उल्लेख गरेको छ । जस अनुसार चैतबाट कोषमा आवद्ध हुने योगदानकर्ताले ५ लाख वा ३३ प्रतिशतमा आफु खुसी कर तिर्न पाउने कोषको प्रवक्ता भट्टराईको भनाई छ ।

हालसम्म कोषमा १२ हजार २३९ रोजगारदाताबाट १ लाख ५० हजार ३६६ जना योगदानकर्ताले ७१ करोड २६ लाख रुपैयाँ योगदान गरिसकेका छन् ।


क्लिकमान्डु