सञ्चालकको विवादले डुब्यो भैरवकुण्ड हाइड्रो, ४० करोड तिर्न नसकेपछि बैंकको लिलामी प्रक्रियामा



काठमाडौं । सञ्चालकहरुको विवादका कारण बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेपछि भैरवकुण्ड हाइड्रोपावर लिमिटेड लिलामी हुने भएको छ ।

यसअघि गत पुस १६ गते पनि लगानीकर्ता बैंकहरुले ३५ दिनभित्र ऋण तिर्न आउन भन्दै सूचना प्रकाशित गरेका थिए ।

बिहिबार प्रकाशित सूचनामा आगामी १५ दिन भित्र आयोजना लिलामी हुने उल्लेख छ ।

सिन्धुपाल्चोकको लार्चामा सञ्चालन भएको भैरवकुण्ड हाइड्रोपावर लिमिटेडले ३ मगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।

जुरेको पहिरो, भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोसीमा आएको बाढीका कारण क्षति पुगेको परियोजना पुनर्निर्माण सम्पन्न भएपछि पुनः सञ्चालनमा आएको थियो ।

सो आयोजनालाई सानिमा बैंकको अगुवाईमा बैंक अफ कमाठमाडौं, एनएमबी बैंक, एनआइसिएशिया बैंक र मञ्जुश्री फाइनान्स र ग्लोबल आइएमईले करिब ४० करोड रुपैयाँ ऋण लगानी गरेका छन

पुस भन्दा पहिले पनि बैंकहरुले ३५ दिने सूचना सार्वजनिक गरेपछि जलविद्युत् कम्पनीका सञ्चालकहरुले थारै ऋण तिरेका थिए । पटक पटक ताकेता गर्दा समेत ऋण तिर्न नआएकाले पुनः सूचना प्रकाशित गरिएको एक बैंकका उच्च अधिकारीले जानकारी दिएका थिए । अति ने भएपछि आयोजना नै लिलामी गर्न लागिएको बैंकहरुले जनाएका छन् ।

‘एउटै सञ्चालकसँग सबै ऋण तिर्नसक्ने हैसियत छ तर उहाँहरुबीचको द्धन्द्धले समस्या उत्पन्न भएको हो र लिलामी गर्नुपर्ने अवस्थामा आएको हो ’ बैंक स्रोतले भन्यो ।

बैंकका ती अधिकारीका अनुसार पटक पटक ऋण तिर्न आउन आगा्रह गर्दा समेत सञ्चालकहरु तयार नभएपछि पुनः ३५ दिने सूचना सार्वजनिक गरी ऋण तिर्न आउन भनिएको थियो । सो अवधिमा समेत ऋण तिर्न अटेर गरेपछि लिलामीको सूचना प्रकाशित गरिएको हो ।

सानिमा बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाको सहवित्तीयकरणमा कर्जा लिएकामा सहभागी बैंकलाई समय समयमा तिर्न बुझाउनुपर्ने साँवा, व्याज, किस्ता आदि रकम नतिरी, नबुझाई ऋण कर्जा सम्बन्धी शर्त उल्लंघन गरेको र बैंकबाट बारम्बार मौखिक तथा लिखित ताकेता गर्दा समेत ऋण बुझाउन नआएकाले ३५ दिनभित्र ऋण तिर्न आउन भनिएको थियो । बिहिबार प्रकाशित सूचना अनुसार पटक पटक ताकेता गर्दा समेत आयोजनाले कुनै सुनुवाई नगरेको उल्लेख छ ।

सूचनालाई वेवास्था गरिएमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कर्जा सूचना केन्द्रको कालो सूचीमा राखिने समेत स्पष्ट पारिएको छ । कर्जाको सुरक्षणका लागि बैंकका धितो रहेको परियोजनालगायत चल अचल सम्पत्ति समेत लिलाम हुने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कम्पनी रजिष्ट्रारको कार्यालयमा सो कम्पनी २०५९÷६० मा दर्ता भएको र केन्द्रीय कार्यालय कमलपोखरीमा रहेको छ ।

बैंकबाट ऋण लिदा सो जलविद्युत् कम्पनीले साविक तातोपानी गाविसका विभिन्न कित्ता जग्गा र सो जग्गामा रहेको ३ मेगावाट क्षमताको आयोजना , सम्पूर्ण घर तथा टहरा, सोमा जडान भएको प्लान्ट, उपकरण , मेशिनरी तथा चल अचल सम्पत्ति धितो राखेको छ । बैंकले सो आयोजना २३ जना सञ्चालकलाई समते कालोसूचीमा राखिने जनाएको छ ।

त्यसमा सिन्धुपाल्चोकमा अर्जुनबहादुर थापा, डोरबहादुर भण्डाराी, साङ्बु शेर्पा, नरेशलाल श्रेष्ठ, ज्ञानेन्द्रप्रसाद मल्ली, सुरेश श्रेष्ठ, राजेश श्रेष्ठ, विष्णुबहादुर खत्री, अमृतकुमार खडका, कमलकुमार श्रेष्ठ, सिताराम बस्नेत, रामकाजी पौडेल, चन्द्रबहादुर शेर्पा, श्यामबहादुर श्रेष्ठ, श्यामबहादुर श्रेष्ठ, केदारबहादुर थापा, बच्च्ु पौडेल, साङदोर्जे शेर्पा, अनिलभक्त श्रेष्ठ, सुधिरप्रसाद तिम्सिना, विषण्ुबहादुर श्रेष्ठ, दुर्गाबहादुर श्रेष्ठ, शिवमराम श्रेष्ठ, मुकुन्दप्रसाद तिमिल्सिनालाई ३५ दिन भित्र ऋण तिर्न आउन यसअघि आग्रह गरिएको थियो । बिहिबारको सूचनामा समेत ती व्यक्तिहरुको नाम समेत समावेश छ ।

विपदका कारण विभिन्न समयमा प्रशारण रोकिएको सो हाइड्रोपावरको उत्पादित विद्युत् ३४ किमि ३३ केभीए ट्रान्समिसन लाइनमार्फत लामोसाँगु सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

हाइड्रोपावरमा पब्लिकको जारी पुँजी ६५ करोड रुपैयाँ रहेको छ । कम्पनीले ३१ करोड ८३ लाख २८ हजार रुपैयाँ बराबर सर्वसाधारणलाई सेयर निस्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयबासीलाई ६ करोड ५० लाखको सेयर निस्कासन गर्ने तयारी समेत गरेको थियो ।

जिल्लाका स्थानीयलाई छुट्याइसकेपछि ५० लाख ६६ हजारको कर्मचारी र ५ प्रतिशत १ करोड २६ लाख ६६ हजार ४ सय सामाजिक सुरक्षा कोषका लागि र २३ करोड ५५ लाख ९५ हजार १ सय रुपैयाँको सर्वसाधारणलाई वितरण गरिने सार्वजनिक रुपमा जानकारी आएको थियो ।

सेयर निस्काशन गर्न बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटललाई नियुक्ति गरिसकिएको थियो । कम्पनीको वार्षिक विद्युत् बिक्रीवापतको आम्दानी ९ करोड ७० लाख छ ।


पुष्प दुलाल