जनतामा भ्रम छर्न युनियन लाइफ इन्स्योरेन्सको गंभीर बदमासी, रमिते बन्यो बीमा समिति




काठमाडौं । पछिल्लो समय देशमा एउटा प्रवृत्ति झाँगिदै गएको छ- कुनै व्यक्ति वा संस्थाले गरेको गंभीर गल्ती पनि माफी मागेपछि छुट दिने ।

बालुवाटारको सरकारी जग्गा किनेका नेकपा महासचिव विष्णु पौडेलका छोरा नविनले सरकारका नाममा फिर्ता गर्ने घोषणा गरेपछि उनीमाथि सरकारले कारबाही गरेन । बाटुलावार जग्गा प्रकरणमा १७५ जनामाथि अख्त्यिारले मुद्दा दायर गर्यो ।

तर, नेकपा महासचिवका छोरा नविनलाई उन्मुक्ति दियो । सरकारको यो लज्जास्पद निर्णयमाथि सर्वसाधारणको आलोचना भइरहेकै बेला सरकारको अर्को निकायले यस्तै निर्णय गरेको छ ।

स्थापनाकालदेखि नियामक निकाय बीमा समितिदेखि आम मानिसलाई झुक्याउन युनियन लाइफ इन्स्योरेन्सले गंभीर गल्ती गर्दा पनि बीमा समिति रमिते बनेर बसेको छ ।

युनियन लाइफले कुल आम्दानी १२ करोड २४ लाख ३७ हजार २३ रुपैयाँ र खर्च १० करोड १४ लाख ५५ हजार २४८ देखाएको छ । आम्दानी र खर्च करीब उस्तै रहेको कम्पनीले नाफा भने २२ करोड ३८ लाख ९२ हजार २ सय ७१ रुपैयाँ भएको भन्दै केहीदिन अघि वित्तीय  विवरण सार्वजनिक गरेको थियो ।

नाफा घाटाको हिसाबै गर्न नजानेका मान्छेहरु कम्पनीको व्यवस्थापनमा भएर यस्तो भएको पनि हुनसक्छ । तर, लाखौं रुपैयाँ तलबभत्ता लिएर बसेको सीइओ र उच्च व्यवस्थापनहरुले यति कुरा बुझेनन् भनेर पत्याउन सकिँदैन ।

जानकारहरुका अनुसार कम्पनीले आम मानिसलाई भ्रम छर्दै आफू बलियो छु भनेर देखाउन यस्तो हर्कत गरेको हो । त्यसो त युनियन लाइफले संकलन गरेको बीमाशूल्क पनि अस्वाभाविभक भयो भनेर बेला बेला चर्चा चल्ने गरेको छ । यस विषयमा पनि सरोकारवाला निकायले छानविन गर्ला नै ।

तर, कम्पनीले मंगलबार मात्रै बीमा समितिको निर्देशन अनुसार सच्याउँदै ७ करोड ७३ लाख ८३ हजार रुपैयाँ मात्रै नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले गत आर्थिक वर्षदेखि नै वास्तविक नाफाभन्दा बढी नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेर झुटो विवरण सार्वजनिक गरिरहेको छ ।

यो कुरा पनि बीमा समितिले नै थाहा पायो । कम्पनीलाई प्रष्टिकरण पनि सोध्यो । युनियन लाइफले गल्ती स्वीकार गर्यो । बीमा समितिले सच्याएर अर्को वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दियो । कम्पनीलेअर्को वित्तीय विवरण पनि सार्वजनिक गरिसकेको छ ।

तर, यस्तो गंभीर गल्ती गर्ने कम्पनीलाई कारबाही गर्नुको साटो सरकारले विष्णु पौडेलका छोराले जग्गा फिर्ता गरेर त्यसैले मुद्दा दायर गरेनौं भने जसरी नै युनियन लाइफलाई बीमा समितिले माफी दिएको छ ।

‘पहिलोपटक गल्ती गरेकाले गंभीर प्रकृतिको गल्ती भएपनि सच्याएर विवरण छाप्दैमा समितिले माफी दिनु हुँदैन थियो,’ बीमा समितिकै एक कर्मचारीले भने, ‘यस्तै हो भने त कुनैपनि चोरले चोरेको सामान फिर्ता गर्यो भने माफी दिने कानून नै बनाए भैगो नि ।’

युनियन लाइफलाई समितिका अहिलेका अध्यक्ष चिरञ्जीबी चापागाईंले नै लाइसेन्स दिएका हुन् । कम्पनीले २०७४ असार २० गतेबाट कारोबार शुरु गरेको हो ।

कम्पनीको अधिकृत पुँजी २ अर्ब १५ करोड र जारी तथा चुक्ता पुँजी २ अर्ब १५ करोड रहेकोमा सो पुँजीमध्ये ७० प्रतिशतले हुने १ अर्ब ५० करोड ५० लाख संस्थापक समूहको रहेको छ भने बाँकी ३० प्रतिशतले हुने ६४ करोड ५० लाख सर्वसाधारण समूहका लागि छुट्याइएको छ ।

कुनैपनि कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्नका लागि सञ्चालनमा आएर एक आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरी सोको रेटिङ गराएको हुन पर्दछ ।

कम्पनीको रेटिङका लागि क्रेडिट रेटिङ कम्पनीले कारोबार र त्यसको नाफा/नोक्सानी लगायतका अन्य विवरणको एकमुष्ट प्रविधिक विषलेश्ण गरेर रेटिङको नम्बर दिने गरेको छ । साथै रेटिङ कम्पनी रेटिङ गरेको कम्पनी कुन स्थानमा र त्यस कम्पनीमा लगानीको जोखिम कतिसम्म हुन्छ भनेर स्पष्ट बनाएको हुन्छ ।

आइपीओ जारी गर्नुभन्दा अगाडि बीमा कम्पनीले बीमा समितिबाट स्वीकृत गराएर धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति लिएर आइपीओ जारी गर्नुपर्ने प्रावधान रहेको छ । नकारात्मक रेटिङ भएका कम्पनीलाई लगानीकर्ता विश्वास गर्दैनन् । र, त्यो कम्पनीको आइपीओ बिक्री हुन गाह्रो हुन्छ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनी सञ्चालनमा आएको हाल साढे २ वर्ष बितिसकेको छ । यसबीचमा कम्पनीले ८ वटा त्रैमासिक र २ वटा वार्षिक वित्तीय विवरण सार्वजनिक गरिसकेको छ । जसमा कम्पनीले राम्रो रेटिङ हासिल गरी आइपीओ बिक्री गर्न आव २०७४/७५ को चौथो त्रैमासिक वित्तीय विवरणदेखि बदमासी गर्न थालेको हो ।

बीमा समितिका अनुसार बीमा कम्पनीले सार्वजनिक गर्ने वार्षिक र त्रैमासिक वित्तीय विवरणमा ठूलो अन्तर छ । वार्षिक वित्तीय विवरणमा कम्पनीहरुले आयव्यायको विवरणमा समायोजित आयकरलाई पनि जोड्नु पर्ने भएपनि त्रैमासिक विवरणमा त्यो गर्न पाइँदैन । समायोजित आयकर भनेको आम्दानीमा तिर्नको लागि छुट्याइएको कर बापतको रकम हो ।

आम्दानी वापतको कर तिरिसकेको भएमा त्यो खर्चमा देखाइन्छ । त्यस प्रकारको कर तिर्न बाँकी रकम कम्पनीमा नै भएमा त्यसलाई आम्दानीमा देखाउन मिल्दैन । तर युनियन लाइफले भने त्यस प्रकारको करलाई आम्दानी मानेर वित्तीय विवरण प्रकाशित गरिहेको छ ।

कम्पनी सञ्चालन आएको पहिलो वर्षको पहिलो त्रैमास २०७४/७५ को वित्तीय विवरण सार्वजनिक गर्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड, जगेडा कोषमा ५ करोड थियो । साथै सो त्रैमासमा कम्पनीको खुद नाफा ३ करोड ८० लाख रुपैयाँ थियो । सो समयमा कम्पनीले ४ सय ८३ बीमा लेखबाट २ करोड १४ लाख ५८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनीले आव २०७४/७५ को पहिलो, दोस्रो र तेस्रो त्रैमासको वित्तीय सार्वजनिक गर्दा आयकरको विवरण समावेश गरेको छैन । तर सोही आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा भने आयकरलाई आम्दानीमा जोडेर खुद नाफा बढाएर वित्तीय विवरण सार्वजनिक गरेको थियो ।

कम्पनीले आव २०७४/७५ को दोस्रो त्रैमासमा ५ करोड ४८ लाख रुपैयाँ र तेस्रो त्रैमासमा ७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको थियो । यी विरणमा कम्पनीले आयकर राखेको छैन ।

तर कम्पनीले उक्त आवको चौथो त्रैमासदेखि चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दा समायोजित आयकरलाई वित्तीय विवरणमा राखी आम्दानी मानेर खुद नाफामा वृद्धि गरिएको तथ्यांक सार्वजनिक गरिरहेको छ ।

यसरी कम्पनीले समायोजित आयकरलाई आम्दानीमा देखाउँदा वास्तविक खुद नाफाभन्दा बढी तथ्यांकिय नाफा बढी हुन्छ । सो अवधिमा कम्पनीले ४३ लाख ८० हजार रुपैयाँ आयकर समेत जोडेर ९ करोड ३५ लाख ९० लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको थियो । कम्पनीको सो अवधिको वास्तविक नाफा ९ करोड १ लाख रुपैयाँ मात्र हो ।

यसैगरी, कम्पनीले गत आव २०७५/६६ को पहिलो त्रैमासमा ३ लाख ७२ हजार रुपैयाँ आयकर समेतको ३ करोड ६७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय सार्वजनिक गरेको थियो । सो आवको दोस्रो त्रैमासमा २३ लाख ८३ हजार रुपैयाँ आयकर सहित ६ करोड १६ लाख ८९ हजार रुपैयाँ, तेस्रो त्रैमासमा २० लाख ३९ हजार रुपैयाँ आयकर सहितको १० करोड ६० लाख ४४ हजार रुपैयाँ र चौथो त्रैमासमा २० लाख ६१ हजार रुपैयाँ आयकर सहितको ९ करोड ९३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरिसकेको छ ।

कम्पनीले चालू आवको पहिलो त्रैमासमा ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ आयकरलाई आम्दानीमा जोडेर १० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरेको थियो । जबकि सो अवधिमा कम्पनीको वास्तविक नाफा भनेको आयकरदेखि बाहेकको ५ करोड ५६ लाख ५७ हजार रुपैयाँ मात्र हो ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सञ्चालनमा रहेका सबै बीमा कम्पनी सार्वजनिक गरिसकेका छन् । युनियन लाइफ इन्स्योरेन्सले पनि गत साता नै दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको थियो ।

कम्पनीले विवरण प्रकाशित गर्दा पुरानै शैलीमा १४ करोड ६५ लाख ११ हजार रुपैयाँ समायोजित समेत जोडेर २२ करोड ३८ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको तथ्यांक सार्वजनिक गरको थियो । जसमा कम्पनीले नाफा नोक्सानी हिसाबमा आम्दानी तर्फ आय व्ययको हिसाबबाट सरेको ५ करोड ५० लाख ४८ हजार, लगानी कर्जा तथा अन्यबाटको आय ६ करोड ७३ लाख ८८ हजार रुपैयाँ देखाएको छ ।

साथै व्यवस्थापन खर्च ३ करोड ४२ लाख ३३ हजार, नोक्सानीको लागि व्यवस्थामा २८ हजार, कर्मचारी बोनस व्यवस्थामा ८० लाख १८ हजार रुपैयाँ र समायोजित आयकरका लागि १४ करोड ६५ लाख ११ हजार रुपैयाँ छुट्याएको तथ्यांक सार्वजनिक गरेको थियो ।

कम्पनीले समायोजित आयकरलाई आम्दानी मानेर तथ्यांकमा खुद नाफा वृद्धि गरेर वित्तीय विवरण सार्वजनिक गरिसकेपछि बीमा समितिको नजर कम्पनीको वित्तीय विवरणमा पर्यो ।

बीमा समितिले युनियन लाईफ इन्स्योरेस कम्पनीको वित्तीय विवरणबारे लिखित जवाफ सहित स्पष्टीकरण माग गरेपछि कम्पनीले स्पष्टीकरण समितिलाई बुझाएको र सच्याएर पुनः वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दियो ।

समितिको निर्देशनपछि कम्पनीले परिमार्जित वित्तीय विवरण भनेर मंगलबारमात्रै सार्वजनिक गर्यो । जसमा कम्पनीले नाफा नोक्सानी हिसाबमा आम्दानीतर्फ पहिलेको नै विवरण राखेको छ भने व्यवस्थापन तथा खर्चमा भने ठुलो पमिाणमा परिमार्जन गरेको छ ।

परिमाजिर्त वित्तीय विवरणमा कम्पनीले व्यवस्थापन खर्चलार्ई ३ करोड ४२ लाख ३३ हजार, नोक्सानीको लागि व्यवस्थामा २८ लाख, कर्मचारी बोनस व्यवस्थामा ८० लाख १८ हजार रुपैयाँ छ ।

पुरानो तथ्यांकबाट कम्पनीले खर्चको विवरणबाट समायोजित आयकरका लागी छुट्याएको १४ करोड ६५ लाख ११ हजार रुपैयाँ हटाएर चालु आवको दोस्रो त्रैमासमा ७ करोड ७३ लाख ८३ हजार रुपैयाँ खुद नाफा गरेको तथ्यांक सार्वजनिक गरेको हो । तथ्यांकबाट आयकरको हिासाबलाई हटाउँदा अघिल्लो तथ्यांकको भन्दा कम्पनीको खुदनाफा १४ करोड ६५ लाख रुपैयाँले घटेको छ ।

कम्पनीले हालैमात्र क्रेटिड रेटिङ एजेन्सी इक्रा नेपालबाट आफ्नो कम्पनीको रेटिङ गराइ सकेको छ भने कम्पनीलाई इक्राले ४ प्लस नम्बर दिएको छ । दोस्रो वार्षिक साधारण सभाले कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ रुपैयाँको ३० प्रतिशतले हुन आउने ६५ करोड ५० कित्ता साधारण सेयर (आइपीओ) निश्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । आइपीओ निष्काशनका लागि स्वीकृतिको प्रक्रियामा हाल बीमा समितिमा छ ।

इक्रा नेपालको रेटिङमा ३ नम्बरसम्मको ग्रेडिङलाई उत्कृष्ट मानिन्छ भने ५ प्लस अर्थात् साढे ४ नम्बर सम्मको ग्रेडिङलाई लगानीकर्ताले रामै्र मानेर नै कम्पनीको आइपीओ खरिद गरिरहेका हुन्छन् । धितो पत्र बोर्डले इक्राले ५ ग्रेड दिएको जलविद्युत कम्पनीको आइपीओ निष्काशनमा रोक लगाएको छ भने ५ ग्रेड पाएका अन्य कम्पनीहरुको आइपीओ पनि खासै लगानीकर्ताले खरिद गर्दैनन् ।

युनियन लाईफ इन्स्योरेन्स कम्पनीलाई इक्रा नेपालले दिएको ४ प्लस ग्रेड भनेको ३ र ४ गे्रडिङ नम्बरको बीचको ग्रेड हो । कम्पनीको रेटिङ इक्राले कारोबार र त्यसको नाफा नोक्सानी लगायतका अन्य विवरणको एकमुष्ट प्रविधिक विषलेश्ण गरेर सो ग्रेड दिएको हो ।

विगत डेढ वर्षदेखि गलत वित्तीय विवरण प्रकाशित गरी तथ्याकिंयरुपमा बढी नाफा देखाइरहेको कम्पनीले पाएको ग्रेडको आधारमा कम्पनीको आइपीओमा लगानीकर्ताले लगानी गर्दा लगानीको प्रतिफल के हुन्छ ?

लगानीकर्ताले कम्पनीमा गरेको लगानीको जोखिम कति छ भनेर वास्तविकता कम्पनीले नियोजितरुपमा नै लुकाउँदा पनि नियामक बीमा समितिले कुनै कारबाही नगर्दा समितिमाथिको जनविश्वास टुटेको छ ।


पुष्प दुलाल