गभर्नरको प्रश्नः पुँजी वृद्धि र मर्जरपछि कुन बैंकको नाफा र इफिसियन्सी घट्यो ? दिए यस्तो उदाहरण



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपालले पुँजी वृद्धि र मर्जरका कारण बैंकहरु धेरै शशक्त भएको बताएका छन् ।

कार्यकाल सकिनै लाग्दा गभर्नर डा. नेपालले आफूले लिएको नीतिले बैंकिङ क्षेत्र मजबुत भएको उदाहारणसमेत प्रस्तुत गरे ।

उनको कार्यकाल आगामी चैत ५ गतेसम्म मात्रै छ ।

पुँजी बढाउने नीति लिँदा सबैले विरोध गरेको तर अहिले त्यसले बैंकिङ क्षेत्रलाई बलियो बनाएको गभर्नरले बताए ।

२०७२ साउन पहिलो साता गभर्नर डा. नेपालले आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थाको पुँजी २ वर्षभित्र ४ देखि २५ गुणासम्मले बढाउने घोषणा गरेका थिए ।

‘मैले पुँजी बढाउने नीति लिँदा साराले मलाई खाउँला झैं गरे, ५० पटक त म आफैं प्रष्टिकरण दिन संसद गएँ, कि टाइम बढाउनू पर्छ कि त यसलाई हटाउनू पर्छ, यो नीतिले बैंक सिध्याउँछ, इफिसियन्स घट्छ, नाफा खत्तम हुन्छ भनेर उधुम मच्चाइयो,’ डा. नेपालले भने, ‘म अहिले यहाँ बैंक अफ काठमाडूको तथ्यांक हेरिरहेको छु । मर्जरपछि कर्मचारीको इफिसियनसी ८८ प्रतिशतले बढेकोछ । नाफा पनि बढेकै छ । खै कुन बैंकको नाफा र इफिसियनसी घट्यो ?’

बैंक अफ काठमाण्डूको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा लुम्बीनी बैंक र बैंक अफ काठमाण्डूको अवस्था त्यति राम्रो नभएको स्मरण गर्दै उनले भने, ‘यी दुई बैंक मर्ज भएपछि यति राम्रो इफिसियन्सी आयो । अरु बैंकहरु पनि अवस्था राम्रो छ ।’

आफ्नो कार्यकालमा झन्डै २०० वटा मर्जर तथा एक्वायरमा गएर ४५ वटा भएको पनि उनले सुनाए ।

‘राष्ट्र बैंकले कुनै नीति ल्याउँदा दीर्घकालीन हित हेरेर ल्याउँछ,’ उनले भने, ‘मर्जर र पुँजी वृद्धिको नीति त्यतिबेला अफ्ठ्यारो लागेको भएपनि अहिले त राम्रो परिणाम देखिएको छ ।’

कर्मचारीहरुको इफिसियन्सी बढोस् भनेर नै हामीले कूल कर्मचारी खर्चको ३ प्रतिशत कर्मचारीको वृद्धि विकासका लागि तालिम लगायतमा खर्च गर्नुपर्ने व्यवस्था पनि गरिसकेको उनले सुनाए ।

उनी गभर्नर भएर आउँदा १६ वटा बैंक तथा वित्तीय संस्थाहरु समस्याग्रस्त थिए । १४ वटा संस्था संञ्चालन भएर राम्रो भइसकेका छन् ।

‘कतिपय मर्जरमा गएर धेरै बलियो पनि बनिसकेका छन्, ठूल्ठूलो लगानी गर्न सक्ने भएका छन्,’ उनले भने ।

भोलिको हाम्रो चूनौति भनेको साइबर र आइटी भएको बताउँदै त्यसलाई राष्ट्र बैंकले सम्बोधन गरिरहेको जानकारी दिए ।

‘आरटीजीएस प्रणाली लागू भइसकेको छ, नेशनल पेमेन्ट गेटवे सिस्टम अघि बढाइरहेका छौं,’ उनले भने ।

नेपालमा प्रसस्तै संभावनाहरु भएको उनको भनाइ छ ।

‘नेपालमा अवसरै छैन भनेर अस्ति एउटा कार्यक्रममा एकजना भाईले मलाई प्रश्न गर्नुभयो,’ डा. नेपालले भने, ‘टूटल र पठाओहरु के हुन्, डिग्री पास गरेका भाइबहिनीले लुगा धुने काम (लाउन्ड्री) सञ्चालन गरिरहेका छन्, करोडौं रुपैयाँ कमाइरहेका छन्, यस्ता उद्यमीहरु त कति छन् कति छन् ।’

त्यसै मुलुकलाई गाली गरेर केही अवसर छैन भन्ने ? उनले प्रश्न गरे ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले पनि मर्जरपछि बैंकले उल्लेख्य प्रगति हासिल गरेको बताए ।

राष्ट्र बैंकले खोजेजस्तै मर्जर र पुँजी वृद्धिको नीतिले वित्तीय क्षेत्रको इफिसियनसी बढेको, बैंकहरु बलियो भएको बताए ।

मर्जरपछि बैंक अफ काठमाण्डूको कर्मचारीको इफिसियन्सी मर्जर अघिकोभन्दा ८८ प्रतिशत बढेको जानकारी गराए ।

‘मर्जअघि बैंक अफ काठमाण्डूको एकजना कर्मचारीले बैंकका लागि साढे १२ लाख रुपैयाँ कमाउँथ्यो भने अहिले साढे २८ लाख रुपैयाँ कमाउँछ,’ पन्तले भने, ‘हामी हाम्रा कर्मचारीप्रति गर्व गर्छौं ।’

उनले मर्जर भएलगत्तै २ वटा बैंकको नाफा जोड्दा १ अर्ब १ करोड भएको तर गत वर्ष बढेर १ अर्ब ८९ करोड नाफा गरेको तथ्यांक प्रस्तुत गरे ।

‘यो वर्ष हाम्रो नाफा २० प्रतिशतको हाराहारीमा बढ्छ,’ उनले भने ।

गभर्नरको नीति पूर्णसफल भएको कुरा बैंक अफ काठमाण्डूको केश स्टडीले पनि देखाउने उनले बताए ।

‘हिँजोका दिनमा स-साना झड्काले बैंकलाई ठूलो संकट ल्याउँथ्यो, आज ठूलै झड्का आए पनि थेग्न सक्ने बलियो भएको छ,’ उनले भने, ‘प्रत्येक वर्ष बैंक अझ बलियो बन्दै गएको छ । सेयरधनीका लागि यो खुसीको कुरा हो ।’

सीएसआरमा १ करोड

वार्षिकोत्सवका अवसरमा बीओकेले संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डू इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड सहयोग प्रदान गरेको छ ।

गभर्नर डा. नेपालले उक्त संस्थाका अध्यक्ष प्रोफेसर डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे । त्यसैगरी, बैंकले नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई पनि महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि ५ लाख रुपैयाँ बराबरको चेक प्रदान गरेको छ । सेजनका अध्यक्ष भीम गौतम र कोषाध्यक्ष हिमाल पौडेलले उक्त चेक लिए ।

वार्षिकोत्सवको अवसरमा बैंकले सरकारको कृषि क्षेत्रलाई प्राथमिकतामा राखी उत्पादकत्व र रोजगारी सृर्जना गराउने उद्देश्यलाई टेवा प्रदान गर्न ‘बीओके कृषि कर्जा’ सम्बन्धी कर्जा योजना पनि सार्वजनिक गरेकोछ ।

त्यसैगरी, २५ रुपैयाँमा खोल्न सकिने ‘सहज बचत खाता’ नामक नयाँ बचत खाता पनि सार्वजनिक गरेको छ ।

ग्राहकलाई प्रविधीको प्रयोग गर्ने बानीको बिकास गर्न प्रेरित गर्ने उद्धेश्यले बैंकको मोबाइल बैंकिङ्ग ‘बीओके स्मार्ट’मार्फत गरिने पहिलो कारोबार अन्र्तगत पहिलो टपअपप कारोबारबाट नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइल टपअपप गर्दा २५ प्रतिशत नगद फिर्ता हुने योजना समेत सार्वजनिक गरेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडको हाल १० एक्टेन्सन काउन्टर सहित देशभर ८७ शाखा र ७८ एटीएम रहेका छन् । आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासिकको अन्त्यको वित्तीय विवरण अनुसार यस बैंकले गत आवको दोश्रो त्रैमासको तुलनामा खुद नाफामा २० प्रतिशतले वृद्धि गरी ८८ करोड ३८ लाख कमाएको छ ।

यस अवधिमा बैंकको निक्षेप र कर्जामा अघिल्लो वर्षको तुलनामा क्रमशः ७.८४ प्रतिशत र ९.१४ प्रतिशतले वृद्धि भई क्रमशः ९०.११ अर्ब तथा ८२.४९ अर्ब रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु