फास्ट ट्रयाकमा बिनियोजित बजेटको आधा रकम पनि खर्च नहुने



काठमाडौं । रक्षा मन्त्रालयका सचिव रश्मीराज पाण्डेले काठमाडौं– तराई÷मधेश द्रुतमार्गका लागि सरकारले चालु आर्थिक वर्षमा छुट्याइएको बजेटमा ८ अर्ब रुपैयाँ खर्च गर्न सक्ने बताएका छन् ।

विकास तथा प्रविधि समितिको आयोजनाका कार्यप्रगति तथा आगामी कार्ययोजनाको बैठकमा सचिव पाण्डेले यस्तो जानकारी गराएका हुन ।

चालु आवको उक्त आयोजनाको लागि सरकारले १५ अर्ब २३ करोड रुपैयाँ विनियोजन गरेको थियो । उक्त रकममा ७ अर्बको हाराहारीमा मात्रै खर्च हुने र बाँकी रकम खर्च गर्न नसकिने बताए ।

उनका अनुसार गत आवमा पनि १४ अर्ब ७० करोडमा ५ अर्ब मात्रै खर्च भएको थियो । चालु आवमा डिपीआरको काम भदौबाट मात्रै शुरु भएकाले विनियोजित बजेट सक्ने गरी काम हुन नसकेको हो ।

आर्थिक वर्ष २०८०÷८१ मा सम्पन्न हुन्छ भनेको उक्त आयोजना २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषदको निर्णयअनुसार नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मा पाएको छ ।

उक्त आयोजना सम्पन्न गर्नका लागि ५५.५ किलोमिटर सडक, ६.४१ किलोमिटर सुरुङ र १०.५९ किलोमिटर सडक निर्माण गर्नुपर्ने छ ।

३ वटा सुरुङ मार्गमा महादेव डाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किलोमिटर सुरुङमार्ग बनाउने उल्लेख छ ।

बैठकमा आयोजना निर्देशनालयका अध्यक्ष शरद गिरीले नेपाली सेवा आर्थिक मामिलामा शुन्य सहनशिलता अनपाउने हुँदा आयोजना निर्माणमा समय निकै लाग्ने बताए ।

उनका अनुसार कन्सल्ट्यान्ट समयमा नै नआएको, डीपीआर भदौमा मात्रै पास भएको कारण चालु आवको बजेट अनुसारको काम हुन नसकेको हो ।

आयोजनाले अब १२९ वटा रुख काट्न बाँकी रहेको बताए । एउटा रुख काटेबापत २५ वटा विरुवा रोप्नुपर्ने भएकाले अहिलेसम्म ५ हजार विरुवा रोपेको र बाँकी १ लाख १० हजार विरुवा रोप्न ठाँउ नपाएको बताए ।

१३५ हेक्टर जमिनमा २ लाख १६ हजार वटा वृक्षारोपण गर्ने सेनाको योजना रहेको छ ।

यस्तै आयोजनाको लागि अझै ८११ रोपनी जग्गा अधिग्रहण गर्न पनि बाँकी रहेको छ । आयोजनाको लागि १५ हजार ४१६ रोपनीमा १४ हजार ६०५ रोपनी मात्रै जग्गा अधिग्रहण गरिएको छ । जसमा खोकनामा ३.३२ किलोमिटर जग्गा अधिग्रहणमा धेरै नै समय लागेको बताइएको छ ।

नयाँ प्रस्तावित डिपीआर अनुसार निर्माणको चरणमा ७६.२ किलोमिटर हुने भनेपनि त्यसको पुनः सर्भेगर्दा आयोजनाको लम्बाइ घटेर ७२.५ किलोमिटर रहेको छ । उक्त आयोजना निर्माण भएपनि १ घन्टा २ मिनेटमा निजगढ पुगिने छ ।

४ लेनको सडकमा त्यसको चौडाइ पहाडमा २५ मिटर र तराइमा २७ मिटर हुने छ । उक्त सडकमा ८७ वटा पुल रहेकोमा विशेष प्रकृतिको १६ वटा रहेका छन् ।


क्लिकमान्डु