यस्तै अवस्था रहे छिट्टै व्यवसाय बन्द गर्नुपर्ने दिन आउँछः व्यवसायी दीपक मलहोत्रा



व्यवसायिक समुह आइएमएसका अध्यक्ष दीपक मलहोत्राले व्यापार व्यवसायमा संलग्न भएको ४० वर्ष पुगिसकेको छ । मोबाइल फोनदेखि घरजग्गा तथा ट्रेडिङ व्यापार हुँदै पछिल्लो समय पेमेन्ट गेटवेसम्ममा मलहोत्राले लगानी विस्तार गरेका छन् । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष तथा राष्ट्रिय व्यवसायिक पहलका कोषाध्यक्ष समेत रहेका मलहोत्रासँग क्लिकमाण्डूका लागि आशीष ज्ञवाली र पुष्प दुलालले ले गरेको कुराकानी

व्यवसायीहरु अहिले सरकारसँग डराएको गुनासो गरिरहेका छन् । तपाईं व्यवसायमा लागेको ४ दशक भयो । तपाईंको अनुभवले के भन्छ ?

अहिले व्यवसायीका लागि अन्योलको वातावरण बनेको छ । एउटा तरिकाले व्यापार व्यवसाय गरिरहेको अवस्थामा चारैतिरबाट एकैपटक धेरै नियम आए । खुल्ला भएको ठाउँमा एकैपटक चौतर्फी कडाइ हुँदा वातावरण अन्योलतामा गएको छ । हामीले नियम ल्याउँदा पनि क्रमिक रुपमा चरणवद्ध तरिकाले लागू गरौं न भनेका हौं ।

एउटा उदाहरण दिँऊ, पहिले हामीले मोबाइल फोन आयात गर्दा हामीलाई जुन ब्राण्ड र जति पनि ल्याउन सक्ने अवस्था थियो । हाम्रो बजार हेरेर त्योअनुसार अर्डर गर्ने हुन्थ्यो, त्यसपछि सरकारले आयात गर्दा संख्या अनुमान गर्न भन्यो । हामी त्यो बेला डराएका थियौं । तर यो बाध्यता भयो र संख्या अनुमान गर्न थाल्यौं । अहिले त बानी पर्न थाल्यो ।

सरकारले एकैपटक धेरै ऐन, नियम ल्याउँदा असजिलो भएको भन्न खोज्नु भएको हो ?

सरकारले यो वर्ष तलबमा प्यान अनिवार्य गर्यो । भिसिटिएसको अवधारणा आयो । बैंक र करमा एउटै विवरण राख्ने व्यवस्था ल्याइयो । यो सबै राम्रा व्यवस्था हुन् र गर्नैपर्ने पनि हो । तर चरणबद्ध गरेको भए राम्रो हुने थियो ।
त्यस्तै, व्यापार गर्नका लागि पनि २० प्रतिशत इक्विटी राख्न भनिएको छ । र, यो गलत छ । आम्दानीको ५० प्रतिशत त्यो कानूनी स्रोतबाट आउनुपर्ने व्यवस्था गरेको छ । १ लाख रुपैयाँ ऋण लिनका लागि २ लाख आम्दानी हुनुपर्ने व्यवस्था हुँदा गाडी र घर किन्न नसक्ने अवस्था आएको छ । अहिले मान्छेले ऋण लिन सक्ने अवस्था नै छैन ।

स्थिर सरकार भएपछि आर्थिक विकासमा फड्को मारिन्छ भन्ने बुझाइ थियो । योे किन भएन ?

पहिले ९ महिने सरकार हुन्थ्यो । प्रत्येक ९ महिनामा सरकार परिवर्तन हुँदा लगानीको वातावरणमा नीतिगत रुपमा स्पष्टता थिएन । त्यो हुँदा काम गर्न असजिलो भएको थियो । त्यसबेलामा हामीले स्थिर सरकार चाहिन्छ भनेका थियौं । सबै व्यापारीको भनाइ नै त्यही थियो । समयले साथ दियो । मुलुकमा दुई तिहाईको सरकार आयो । हामीले दीपावली नै मनायौ ।
त्यसपछि विदेशी लगानीकर्तालाई पनि मुलुकमा स्थिर सरकार आएको छ अब लगानीको माहोल बन्यो भन्ने सन्देश पनि पठायौं । तर अहिले एकैपटक सबै कुरा लाद्ने काम गर्यो । जसले गर्दा व्यापार गर्न गाह्रो हुने अवस्था आयो ।

हाम्रोमा उद्योग गर्न त्यसै पनि कठीन छ । अब व्यापार गर्न पनि असजिलो भएपछि देशमा व्यवसाय गर्न नसकिने अवस्था आएको हो ?

हामी धेरै व्यापारी र उद्योगीसँग कुरा गरिरहेका हुन्छौं । अहिलेको अवस्था यथावत रहने हो भने व्यापार व्यवसाय सबै बन्द गर्नुपर्ने अवस्था आउँछ । व्यापार व्यवसाय बन्द गरेर भएको पैसा बैंकमा राखेर ब्याज खाएर बस्दा हुन्छ भन्ने बुझाइ धेरै व्यवसायीमा आएको छ ।

नयाँ मान्छेले व्यापार गर्न सक्ने अवस्था छैन । २० प्रतिशत उसले इक्विटी हाल्नुपर्ने छ । १ करोडको व्यापार गर्नका लागि २० लाख रुपैयाँ उसले आफूले हाल्नुपर्छ । संसारभर १ डलरको कम्पनीले अर्बै डलरको कारोबार गर्छ । नयाँ मान्छेले कसरी व्यापार गर्न सक्छ । अब उद्योग सञ्चालन गर्न त्योभन्दा बढी लगानी चाहिन्छ । व्यवसायको शुरुवात व्यापारबाट हुन्छ । त्यो व्यापार गर्नै नसक्ने अवस्था आएको छ ।

व्यापारीलाई दायित्वबोध गराउनका लागि २० प्रतिशत इक्विटीको व्यवस्था लागू गरिएको भन्ने भनाइ छ नि ?

यो गलत नीति हो । मसँग पैसा पो छैन । घरजग्गा धितो राखेर बैंकबाट ऋण लिने हो । मेरो व्यापार बिग्रेमा घरजग्गा बैंकले लिलाम गर्छ । मसँग दायित्वबोध हुन्छ नै । त्यसैले २० प्रतिशत इक्विटीको नीति गलत छ ।

तपाईंहरुजस्तो ठूलो व्यापारी घरानालाई पनि बैंकबाट ऋण पाउन मुस्किल भएको हो र ?

अहिले व्यापार गर्नका लागि हामीलाई पनि गाह्रो छ । ऋण लिनलाई पनि मुस्किल अवस्था छ । अझ नयाँले त व्यापार गर्नै सक्दैन ।

सरकारले अहिले आर्थिक विकास कै एजेण्डा बनाएको छ । प्रधानमन्त्री विकास गर्न नै लाग्नु भएको छ । त्यो हुँदा नै व्यवसायी डराउनुपर्ने अवस्था किन आएको होला ?

नयाँ सरकार आयो । प्रधानमन्त्रीज्यूको नारा ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ पनि छ । प्रधानमन्त्रीले विकासका लागि यो दृष्टिकोण राख्नु भएकोमा हामी पनि खुसी छौं ।
अहिले सरकारलाई व्यवसायीलाई गाह्रो भएको महसुस भए अनुसार उहाँहरुको बोलीमा केही परिवर्तन भएको छ । सरकारसँग बढी ठोकिने भनेको अर्थमन्त्री हो । अर्थमन्त्री अर्थतन्त्रको बारेमा बुझेको व्यक्ति हुनुहुन्छ । उहाँकै कुरा पनि पछिल्लो समय लचक भएका छन् ।
हामी अहिलेपनि रेमिट्यान्समा भर परेर बसेका छौ । आज रेमिट्यान्स नहँदो त देश कस्तो हुन्थ्यो होला ? हामी गृहयुद्धमा जाने थियौं । रेमिटेन्सले हाम्रो बानी बिग्रेको छ । अबको २० वर्षपछि देश कस्तो बनाउने भन्नेमा हामीले सोचेकै छैनौं ।

देश बनाउँछु भनेर जेल परेका, युद्ध नै लडेका नेताहरुले यो नसोचेका होलान् त ?
मलाई सिंहदरबारमा कुर्सी नै त्यस्तो हो कि जस्तो पनि लाग्छ । कुर्सीमा बसेपछि भाषा नै फरक हुन्छ कि जस्तो लाग्न थालेको छ । देशलाई सम्बृद्ध बनाउन नदिनका लागि कुनै शक्तिले काम गरेको छ कि जस्तो लाग्छ । जुन कुरा बाहिर बसेर भने पनिभित्र बसेर गर्न नसक्ने कुरा देखिन्छ ।

सरकार आएको २ वर्ष हुनथाल्यो । व्यवसायीको दृष्टिमा कामका हिसाबममा सरकार पास भयो कि फेल ?

अहिले अझै सरकारको समीक्षा गर्ने अवस्थामा पुगिसकेका छैनौं । सरकार पास पनि भएको छैन फेल पनि भएको छैन । वातावरण अझै बिग्रेको छैन । सरकार आफैले पछिल्ला दिनमा व्यवसायीक वातावरण बिग्रेको महसुस गरेको छ । अहिले नै सरकार फेल भयो भन्ने अवस्था छैन ।

तपाइं राज्यशक्तिसँग नजिक भएर फाइदा लिनुहुन्छ भन्ने छ । तपाईंलाई गाह्रो हुने अवस्था आउँछ र ?

म राज्यशिक्तसँग नजिक भएर काम लिने गरेको भए यो असन्तुष्टिको कुरा गर्ने थिएन होला । म एउटा व्यापारी हो । व्यापार गर्ने सिलसिलामा आफ्नो काम छिटो होस् भन्नका लागि समन्वयन राख्नुपर्ने हुन्छ । अलिकति बढी नजिक भएँ हुँला । म राज्यसत्तासँग नजिक भएर के काम गरेको छु ।

मैले सामसुङ मोबाइल ल्याएर बिक्री गरे । त्यसका लागि नजिक हुनुपर्ने अवस्था छैन । घरजग्गाको व्यापार पनि छ । उद्योग खासै छैन । यसबाहेक टेण्डरमा ‘लो बिडिङ’ गरेरै काम गरेको हो । कानूनको नजिक रहेर नै मैले त्यो पाएको हो । राज्यसत्तासँग नजिक भएर मैले पाएको होइन ।

म आफ्नो कामसँग सरोकार राख्ने हो । मेरो बारेमा गलत खालको सन्देश बाहिर गएको छ । मान्छेको आफ्नो बानी हुन्छ । म चेम्बरमा उपाध्यक्ष छु । पछि माथि जाने सोच छ । मलाई पैसा कमाउने सोचले कसैसँग नजिक हुनु परेको छैन ।

तपाई व्यवसायिक संस्थाको मात्र राजनीति गर्ने वा राजनीतिक दलमै लागेर राजनीति गर्ने सोच के हो ?

मैले १२/१५ वर्ष अगाडि राजनीति गर्ने सोच आएको थियो । मलाई अहिले राजनीतिमा जाने कुनैपनि सोच आएको छैन । मैले देखेको छु । बेग्लै सेक्टरबाट राजनीतिमा छिरेर सफल हुन सजिलो छैन ।
राजनीतिमा जान्नका लागि रगतमा राजनीति हुनुपर्छ । म व्यापार, व्यवसाय गर्ने मान्छे । राजनीतिमा जाने भने व्यापार गुमाउनु हो । त्यसलाई तिलाञ्जली दिएर जान सकिँदैन । त्यसपछि जुन सेक्टरबाट जन्मेर हुर्केर आए त्यसैमा फोकस गर्नुपर्छ । म चेम्बरमा उपाध्यक्ष छु, एनबिआइमा कोषाध्यक्ष छु, घरजग्गा व्यवसायी संघमा सदस्य छु । व्यवसायिक संस्था बाहेक राजनीतिक दलमा जाने सोच छैन ।

तपाई घरजग्गा व्यापारमा पनि संलग्न हुनुहुन्छ । अहिले त्यसमा के संकट देखिएको हो ?

जग्गामा कित्ताकाँटमा रोक लगाउने काम अघिल्लो सरकारले गरेको हो । घर सबैलाई चाहिन्छ । कित्ताकाँटको वातावरण सहज गर्नका लागि घरजग्गा व्यवसायी संघबाट गएर भन्यौ । मन्त्रीज्यूसँग बस्यौ । उहाँले कित्ताकाँट खोल्दिने काम पनि गर्नुभयो । तर स्थानीय तहमा । जसले गर्दा अहिले समस्या छ ।

घरजग्गा भनेको मान्छेको आधारभूत आवश्यकता हो । अलिकति पैसा कमाएपछि घरजग्गा किन्ने हो । यो बैंकको सेयर जस्तो होइन । यसको मूल्य जहिले पनि बढ्छ । केही समयलाई मूल्य नबढे पनि भाउ घट्दैन ।
नेपालमा धेरैजसो मान्छेले आफ्नो जगेडा पैसा जग्गामा लगाउने गर्छन् । बीचमा केही समूदायले पैसा पनि कमाए । हाम्रो देशमा कुरा काट्ने जमात छ । कसैले राम्रो गरेको देख्न नसक्ने प्रवृति छ । घरजग्गा व्यवसायी सबैलाई भूमाफिया भने ।

घरको कुरा गर्दा आम्दानी देखाउनुपर्ने अवस्था छ । भूखण्डीकरण नीति ५/६ वर्षदेखि परिभाषित गर्नुपर्ने हुन्छ । सरकारले त्यो काम चाँडो गर्न सकेको छैन । मेरो जग्गा कृषियोग्य जग्गा हो । म त्यसलाई घडेरीको रुपमा बेच्न चाहन्छु । तर यो कृषियोग्य भनेर प्रमाणित गरेमा म त्यसमा खेती नै गर्छु । यो नीति छिटो कार्यान्वयनमा आउनुपर्यो ।

तपाईंहरुले अपार्टमेन्ट पनि बनाउनुभयो । यसमा के समस्या देखिएको हो ?

नेपालमा भूकम्प आउनुभन्दा अगाडि जति पनि हाइराइज अपार्टमेन्ट बनाएँ । सबै सर परेको छैन । भूकम्प गएपछि अपार्टमेन्टमा डरको माहोल बनेको पक्कै हो । धेरैलाई अग्लो घरमा भन्दा सानो घरमा बस्दा बढी सुरक्षित भइन्छ भन्ने महशुस पनि भयो ।

त्योबेला अपार्टमेन्टको बिक्री रोकिएको छैन । म आफू पनि आफैले बनाएको १८ तलाको अपार्टमेन्टमा बस्छु । बस्नुको कारण अपार्टमेन्ट बलियो छ । ज्यानको माया मलाई पनि छ । भूकम्पले कत्ति पनि असर नगरेको अपार्टमेन्टमा हाम्रो पनि पर्छ ।
कसैले नयाँ प्रोजेक्ट शुरु गर्दा बिक्री भएको छ । अहिले पानीपोखरीमा हाउजिङ बनाउन थालेको भन्ने सुनेको छु । अपार्टमेन्टको क्रेज बिस्तारै आउन थालेको छ । नेपालमा हाउजिङ कहिल्लै फ्लप हुँदैन ।

फेरि पनि अपार्टमेन्ट बनाउने सोचमा हुनुहुुन्छ कि हुनुहुन्न ?

अहिले तत्काल छैन । केही समयपछि जाने सोचमा भने छौ ।

व्यापारमा लागेको व्यक्ति घरजग्गामा लाग्नुभयो । पछिल्लो समय डिजिटल पेमेन्टमा किन प्रवेश गर्नुभयो ?

संसारभर पेपरलेस इकोनोमीको कुरा आइरहेको छ । नेपालमा पनि जाऊ भन्ने सोच आयो र सेलपे ल्यायौं । लाइसेन्सको आवेदन दिएको ३ वर्ष अगाडि नै हो । लाइसेन्स पाउनै दुईवर्ष लाग्यो ।
सरकारले पनि डिजिटल पेमेन्टलाई बढाउने नीति लिएको छ । १० प्रतिशत भ्याट उपभोक्ताले फिर्ता पाउने नीति आएको छ । यसले प्रणालीमा कारोबारको रेकर्ड हुन्छ । त्यसमा जानुको कारण हामीले अनलाइन सपिङ साइट ‘स्मार्ट डोको’ भन्ने छ । यसलाई पनि अगाडि बढाउन सेल पे ल्याएका हौं । मिल्दोजुल्दो व्यापार भएकाले यसलाई अगाडि बढाउन खोजिएको हो ।

तर यसमा सरकारको नीतिलाई केही दोष दिनुपर्छ । नेपालमा बैंकहरुको संख्या यति धेरै बढ्यो । अहिले मर्जरमा जानका लागि दबाब दिएको छ । पेमेन्ट कम्पनी ७ वटाले लाइसेन्स पाएका छन् । आजमात्रै मलाई एउटा व्यक्तिले लाइसेन्स हामीले पायौं तपाईहरुसँग मिलेर काम गरौं भनेको अवस्था छ । त्यसले गर्दा व्यापार गर्छु भनेर आएका शुरुका व्यापारीलाई संरक्षण गर्नुपर्छ ।

एउटा डिमार्टमेन्ट स्टोरमा जति सामान छ त्यत्ति नै नेपालीले किन्ने हो । अर्को आयो भने त्यो व्यापार आधा घट्छ । अर्कोले लिएपछि आधा घट्यो । यसले व्यापार फस्टाउँदैन ।

यो भनेको तपाईले लिने अरुलाई आउन नदिने सिण्डिकेट भएन र ? व्यक्तिलाई व्यवसाय गर्ने अधिकार संविधानले नै दिएको छ नि ।

त्यसो हो भने किन बैंक र बीमाको लाइसेन्स रोकेको के कारणले नदिएको हो ? यो देशमा यति वटाभन्दा बढी पेमेन्ट गेटवे चाहिदैन भनेर लाइसेन्स रोक्नुपर्छ । केही व्यवसाय विशिष्टकृत हुन्छन् । त्यसका लागि सरकारले नीति बनाएर लाइसेन्स दिने र खोल्ने गर्नुपर्छ ।

भुक्तानी प्रणालीसँग जोडिएका यतिधेरै कम्पनी छन् । सेलपे चलाउन सकिन्छ जस्तो लागेको छ ?

यो समयले बताउने कुरा हो । अहिलेसम्मको अनुभवले मेरो बिजनेश प्लान मैले अहिलेसम्म तेस्रो पटक परिवर्तन गरे । अझै ४/५ वर्ष यसमै लगानी गर्ने हो ।

७/८ महिनाको अवधिमा सेलपेको ग्रोथ कस्तो छ ?

ग्रोथ छ । तर, सन्तुष्ट हुने अवस्था छैन । शुरुमा सोचेभन्दा लगानी नै थप्नुपर्ने अवस्था आयो । ५ वर्षसम्म रिर्टन नआउने भएपछि थप्नुपर्ने भयो ।

अरु सेवाप्रदायकभन्दा सेलपेको फरक विशेषता के हो ?
सेलपे वालेट होइन । सेलपेमा बैंकबाट सिधै पेमेन्ट गर्ने हो । यो रियल टाइममा पेमेन्ट गर्ने हो । पेमेन्ट वालेटबाट पनि हुन्छ बैंकिङ प्रणालीबाट पनि हुन्छ । वालेट सिस्टम मात्रै भएको भए त्यसमा पैसा डिपोजिट गर्नुपर्छ । वालेटमा डिपोजिट गर्दा मैले ब्याज पाउँदिन । तर सेलपे वालेट होइन । हामी सबै बैंकसँग आवद्द हुन खोजिरहेका छौं । त्यो बैंकको पैसा सिधा ट्रान्सफर हुन्छ । वालेटमा पैसा राख्नुपर्ने झन्झट पनि भएन ।

पानपसलमा पनि सेलपेबाट भुक्तानी हुने दिन कहिले आउँछ ?
हामीले अहिले दुईवटा काममा फोकस गरेका छौ । अहिले बैंकसँग आबद्ध भएका छौं । त्यसपछि ठूला रेष्टुराँदेखि पान पसलसम्म हाम्रो पहुँच पुर्याउने हो । सबैसँग आबद्ध हुने तयारी गरेका छौं । स्क्यान गरेर पैसा तिर्ने व्यवस्था हामी तल्लो तहसम्म पुर्याउने छौं ।

अहिले हामीले रेष्टुराँ, सिनेमा हल गरी करिब डेढसय वटामा पुगेका छौं । एप्लिलेकशन डाउनलोड गर्नेको संख्या ३५ हजार पुगिसकेको छ । अहिले सेलपे चलाउनेको संख्या १२÷१३ हजार पुगेको छ । महिनामा ५÷७ करोडको कारोबार गरेका छौं ।

तपाईको पहिलाको व्यापार भनेको मोबाइल हो, अहिले मोबाइलको व्यापार किन सुस्ताएको हो ?

मोबाइल व्यापार गर्दा ९÷१० वर्ष अगाडि १० प्रतिशत भन्सार तिर्नुपर्ने थियो भने १३ प्रतिशत भ्याट तिर्नुपर्ने थियो । त्यसले गर्दा चोरी पैठारी अत्यधिक भएको थियो । त्यसबेलामा भन्सार शुन्य गरेर ६० प्रतिशत भ्याट फिर्ता दिने नीति थियो । त्यसपछि त्यसलाई ५० हुँदै ४० प्रतिशतमा झारियो ।

तर २०७५÷७६ को बजेटबाट कुनैपनि वस्तुमा भ्याट फिर्ता नदिने घोषणा भयो । त्यसलाई पनि मानेर हामीले के भन्यौ भने, आइएमइआई नम्बर लक गर्दिनुहोस् हामीसँग १० प्रतिशत भन्सार पनि लिनुहोस् भन्यौ ।
गाडीमा आज २४० प्रतिशत भन्सार तिनुपर्छ । हामीलाई भ्याट फिर्ता नदिने र आइएमइआई नम्बर लागू गर्छौ भनेर आश्वासन पनि दिनुभयो । बजेटमा अन्तशुल्क समेत ५ प्रतिशत लाग्यो ।
त्यसपछि बजारमा चोरी पैठारीका मोबाइल आए । अहिले ४० प्रतिशत कारोबार नै चोरी पैठारीले हुने गरेको छ । हाम्रो बजार सुस्ताउनुको कारण चोरी पैठारी नै हो । ३ महिनामा गर्ने भनिएको लक अहिलेसम्म भएको छैन । त्यो भयो भने कारोबार पनि बढ्छ सरकारले राजस्व समेत पाउँछ ।

आइएमएस ग्रुपले स्टार्टअप अन्तर्गत नयाँ उद्यमी जम्माउनका लागि कस्तो योजना बनाएको छ ?
अहिले हाम्रोमा सबैभन्दा ठूलो समस्या दक्ष जनशक्ति विदेश पलायन नै हो । खाडीदेखि युरोप अमेरिकामा दक्ष जनशक्ति पलायन भएको छ ।
अहिले म र मेरो छोराले विदेशबाट फर्केर नेपालमा उद्योग व्यवसाय गर्नुपर्छ भनेर आफ्नो तर्फबाट क्याम्पेन गरेका छौ । आज देशको अवस्था खराब भएपनि भोलि राम्रो हुन्छ भन्ने हो । हामीले संस्थागत नगरेपनि व्यक्तिगत रुपमा गरेको अवस्था छ ।

४० वर्षदेखि व्यवसायमा लागेको व्यक्ति । व्यवसायमा सफल हुन के गर्नेपर्ने रहेछ ?

सबैभन्दा चुस्त हुनका लागि वित्तीय अवस्था राम्रो हुनुपर्छ । आफ्नो पूँजी हुनुपर्छ त्यसपछि बैंकसँगको रिलेशन राम्रो हुनुपर्छ । व्यवस्थापन राम्रो छैन भने जस्तोसुकै व्यापार गरेपनि राम्रो हुँदैन ।
अर्को सुत्र भनेको मैले आफैले पनि केही व्यवसायिक निर्णय गलत गरेको छु । मोबाइल फोनको व्यापारमा म सफल भएँ । म यो क्षेत्रमा फोकस गरेको भए मोबाइल व्यवसायलाई अझै अगाडि बढाउन सक्ने थिए ।
यहाँ के हुन्छ भने एउटा व्यापारमा सफल भएपछि अरु व्यवासयका प्रपोजल आउँन थाल्छन् । एउटा व्यवसायमा कमाएको पैसा अर्कोमा प्रवेश गर्नासाथ फरक तरिका अपनाउनु पर्ने रहेछ । जुन व्यवसायमा फोकस गरेको हो त्यहीमा फोकस गर्न सुझाव दिन्छु । भाटभटेनीको उदाहरण हेर्नुहोस् । एउटा मात्रै व्यापार गर्दा कसरी सफल हुन सकिन्छ सिक्न सकिन्छ ।

तपाईको नयाँ व्यवसाय के ल्याउन खोज्नु भएको छ ?

मेरो पुरानो व्यवसाय मोबाइल कै हो । त्योभन्दा बाहेक अहिले हामीले कृषिमा काम गर्न खोजेका छौ । पूर्वाधारको काम सकिएको छ । कृषि बाहेक होटल क्षेत्रमा पनि प्रवेश गर्दैछौं । जलविद्युतमा प्रवेश गरेका छौ ।


क्लिकमान्डु