पुराना कर्मचारीका कारण सरकारी बैंकलाई कुपोषण लाग्यो: अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी बैंक तथा वित्तीय संस्थाका कर्मचारी, युनियन र बैंकका पुराना कर्मचारीले गर्दा संस्था कुपोषणका शिकार भएको बताएका छन् ।

मंगलबार कृषि विकास बैंकको ५३औं वार्षिकोत्सवमा बोल्दै कृषि विकास बैंकलगायतका अन्य सरकारी बैंक तथा वित्तीय संस्थाका कर्मचारीले नयाँ कर्मचारी नियुक्त गर्नै नदिने प्रवृति संस्थाको प्रगतिमा बाधक बनेको बताएका छन् ।

‘सरकारी वित्तीय संस्थाका पुराना कर्मचारीले नयाँको आवेदन खुलाउन खोज्दा मुद्दा मामिला गर्ने गर्छन, यस्तो प्रवृतिले संस्थालाई कुपोषण नै लाग्छ,’ उनले भने ।

उनले जुनसुकै संस्थामा पनि नयाँ–नयाँ सोच, अनुभव र नयाँ प्रविधिको ज्ञान भएको कर्मचारी भित्र्याउन आवश्यक रहेको बताए ।

सबै तहमा ५० प्रतिशत नयाँ कर्मचारी भित्र्याउन र बाँकी आन्तरिक बढुवामार्फत् पूरा गर्न सकिने समेत बताए । साथै नयाँ कर्मचारी ल्याउँदा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बैंकिङ व्यवसाय र प्रविधिको अनुभव लिएको कर्मचारी ल्याउन सके संस्थाको प्रगति तीव्र गतिमा हुने समेत मन्त्री खतिवडाको भनाइ छ ।

सरकारी र निजी क्षेत्रका बैंकमा तीव्र प्रतिष्पर्धा भइरहेको अवस्थामा सरकारी बैंकमा पनि नयाँ सक्षम कर्मचारी ल्याएर राम्रो बनाउनु पर्ने उनले बताए ।

खतिवडाले कृषि विकास बैंकलाई सुझाव दिँदै कृषि विकास बैंक वाणिज्य बैंक भएर वित्तीय क्षेत्रमा कारोबार गर्दा स्थापनाकालको उद्देश्य बिर्सिन नहुने बताए ।

‘कृषि विकास बैंकले आफ्नो जग, विरासत र स्थापनाकालको उद्देश्य बिर्सिन हुँदैन, उनले भने ‘ बैंक आज पनि साना किसानको बैंक हो त्यसैले ठूला परियोजनाभन्दा साना लगानीलाई प्राथमिकता दिनपर्छ ।’

निजी क्षेत्रका वाणिज्य बैंकले साना कर्जाका ग्राहकलाई नपत्याउने र कर्जा नै नदिने हुँदा कृषि विकास बैंकबाट त्यो प्रकारको कार्य नगर्न उनले निर्देशन दिए ।

कृषि विकास बैंकले उत्पादन, प्रशोधन र बजारीकरण सबै क्षेत्रमा समान तवरले लगानी गरेर सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउने सपनालाई सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सरकारले सरकारी बैंकलाई मात्रै सहयोग गरेको भनेर गुनासो आएको भन्दै उनले सरकारले आफ्ना वित्तीय योजना सरकारी बैंकमार्फत् नै पूरा गर्ने र सरकारी बैंकले नाफा कमाएर सरकारले पाउने हुँदा सरकारले यी बैंक तथा वित्तीय सस्थालाई पहिलो प्राथमिकतामा राखेको स्पष्ट पारे ।

सरकारी बैंकको पनि पुँजी बढेर १५ अर्ब रुपैयाँभन्दा बढी भएकाले बैंकले २÷३ अर्ब नाफा कमाउनु सामान्य भएको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले बैंक तथा वित्तीय संस्थालाई कर्मचारीका हरेक गतिविधिको निगरानी गर्न निर्देशन दिए । उनले पछिल्लो समय बैंक कै कर्मचारीको मिलोमतोमा बैंकिङ अपराध भइरहेको भन्दै बैंकको रिस्क म्यानेजमेन्टमा बढी चनाखो हुनु पर्ने उनले बताए ।

‘बोराका बोरा बैंकको चेक भेटिने, किर्ते हस्ताक्षर गरेर पैसा लुटिएको घटना बैंकिङ क्षेत्रका लागि लज्जास्पद कुरा हो, उनले भने, ‘यस्ता घटना बैंककै कर्मचारीको मिलोमतो नभइ हुँदैन्,’ ।

उनले एउटा कुहिएको आलुले बोराभित्रका सबै आलु कुहाए जस्तै गरी कर्मचारीको ठूलो जमातमा पनि त्यस्ता कर्मचारीले बिगार्छन् भन्दै त्यस्ता नैतिकता कुहिएका कर्मचारीलाई संस्थाले पहिचान गरी निलम्बन नगरे राष्ट्र बैंकले नै छानबिन गरी कठ्घरामा संस्था र कर्मचारीलाई नै उभ्याउने उनले बताए ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले ५३ वर्षको यात्रामा कृषि विकास बैंक एउटा सबल र सक्षम बैंकका रुपमा स्थापित भएको बताए ।

‘हालसम्मको यात्रामा बैंक ग्रामीण तथा कृषि क्षेत्रको विकासका लागि सरल र सुलभ कृषि कर्जामा विस्तारमा केन्द्रित रहेको छ,’ उनले भने, ‘अब बैंक ग्रामीण क्षेत्रमा प्रविधिमैत्री बैंकिङ कारोबार विस्तार गर्छ’ ।

बैंकले २०४१ सालमा नेपालमा पहिलोपटक कम्प्युटरमैत्री बैंकिङ, सीमित सेवा निक्षेप कारोबार, कर्जा तथा जमानत, फ्याक्स कारोबारसहितको बैंकको रुपमा स्थापित भइ बैंकको शाखा सञ्जाल र साना किसान विकास आयोजनामार्फत् कृषि तथा कृषि क्षेत्रसँग आबद्ध क्षेत्र मूल्य शृंखलामा लगानी गर्दैै आएको उनले जानकारी दिए ।

सरकारको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर रहेको कृषि विकास बैंकमा अधिकांश कृषकहरु सेयरधनी छन् । बैंकको करिब १२ लाख निक्षेपकर्ता, करिब १ लाख ४५ हजार ऋणी, ६ हजार इन्टरनेट सेवाग्राही, २ लाख ६२ हजार मोबाइल बैंकिङका उपभोक्ता, ८१ हजार भिसा डेबिट कार्ड प्रयोगकर्ता छन् ।

त्यस्तै, बैंकले ट्रेड फाइनान्स, एसी, फरेक्स, डिम्याट, सिआश्वा, आईपीएस, गोएएमएल जस्ता सेवासमेत प्रदान गर्दै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सरकारको ‘सबै नेपालीको बचत खाता, खोलौं बैंक खाता’ अन्तर्गत ५२ हजारभन्दा बढी जनताको खाता खोल्न सफल भएको बताए ।

बैंकले ५३औं साधारणसभामा ३० प्रतिशत लाभांश उपलब्ध गराएको छ । साथै आगामी वर्षमा पनि यसलाई निरन्तरता दिन आफूहरुको प्रयास रहने उपाध्यायले बताए ।

बैंकको निक्षेप गत वर्ष पुस महिनाको तुलनामा यो वर्षको सोही अवधिमा १५.४४ प्रतिशत बढेर १ खर्ब २७ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा १०.२३ प्रतिशतले बढेर १ खर्ब १७ अर्ब रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा सोही अवधिमा १०.३१ प्रतिशतले कमी आई ०.८२ प्रतिशत कायम भएको छ ।


क्लिकमान्डु