आइएमएफको टोलीलाई अर्थमन्त्रीको चुनौति: तपाईंहरुले भने भन्दा धेरै आर्थिक वृद्धि हुन्छ



काठमाडौं । यतिबेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को आर्टिकल फोर मिशन नेपाल आएको छ । लाउरा जस्माइलोको नेतृत्वमा ५ सदस्यीय टोली नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न आएको हो ।

टोलीले अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर डा. चिरञ्जीबी नेपाल, नेपाल उद्योग परिसंघका पदाधिकारी तथा विभिन्न मन्त्रालय र निकयसँग भेटघाट गरिसकेको छ ।

टोलीले पुस २० गते अर्थमन्त्री खतिवडा र गभर्नर नेपालसँग छुट्टाछुट्टै भेट गरेको छ । भेटघाटका क्रममा टोलीले सरकारले भनेजति आर्थिक वृद्धिदर संभव नरहेको बताएको थियो ।

सरकारले विकास खर्च गर्न नसकेका कारण आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा कम मात्रै हुने टोलीको अनुमान छ ।

‘विकास खर्च गर्न नसक्नु ठूलो समस्या भयो, के कति कारणले विकास खर्च हुन नसकेको हो यसबारे विस्तृतरुपमा जानकारी दिनुपर्यो,’ टोलीले अर्थमन्त्रीलाई आग्रह गर्यो, ‘विकास खर्चको अवस्थालाई हेर्दा वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत पनि हुन कठिन छ ।’

जवाफमा अर्थमन्त्री खतिवडाले आइएमएफले भनेभन्दा बढी आर्थिक वृद्धिदर गरेर देखाउने बताए ।

‘तपाईंहरुले पोहोर साल पनि निकै कम मात्रै आर्थिक वृद्धिदर हुन्छ भन्ने प्रक्षेपण गर्नुभयो, हामीले तपाईंहरुको प्रक्षेपणभन्दा धेरै गर्यौं, यो वर्ष पनि तपाईंहरुको प्रक्षेपणभन्दा धेरै निकै धेरै आर्थिक वृद्धिदर हुन्छ,’ खतिवडाले भने ।

आइएमफएको टोली र खतिवडाबीच करिब आधाघन्टा छलफल भएको थियो । यो मिशनको ओपनिङ छलफल हो ।

छलफलमा मन्त्री खतिवडाले खासै बोलेनन् । सुनिमात्रै रहे ।

आइएमएफको टोलीले रियल सेक्टरको विस्तार ठीकै भएको देखिएको बताएको थियो । बैंकिङ क्षेत्रको कर्जा विस्तार अलि कम गर्न टोलीले सुझाब दिएको थियो । नेपाली बैंकहरुको खराब कर्जामा आइएमएफको टोलीले यसपटक पनि शंका गरेको छ ।

‘इभरग्रिनिङको समस्याले जुनसुकै दिन पनि बैंकिङ क्षेत्रमा संकट उत्पन्न गर्न सक्छ,’ टोलीले सुझाएको थियो ।

टोलीले के कस्ता विषयमा अध्ययन गर्न लागिएको हो भनेर अर्थमन्त्रीलाई जानकारी गराएको थियो ।

त्यसैगरी, वित्तीय संघीयताको विषयमा पनि के कस्ता काम भइरहेका छन् भनेर चासो व्यक्त गरेको थियो । यो चासोमा अर्थमन्त्रीले सरकारले काम गरिरहेको बताएका थिए ।

अर्थमन्त्रीलाई भेट्नुभन्दा पहिला टोलीले गभर्नरलाई भेटेको थियो । गभर्नरसँग भने टोलीले वित्तीय स्थायित्वका विषयमा बढी चासो व्यक्त गरेको थियो ।

गभर्नर नेपालले वित्तीय स्थायित्व कायम गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई धमाधम मर्जरमा लगिएको बताए । र, आगामी दिनमा मर्जरको परिणाम झनै राम्रो देखिने जानकारी दिए ।

टोलीले नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग पनि २४ गते घेटघाट गरेको छ । उद्योगीहरुले बैंकको चर्को ब्याजदर र छिटोछिटो परिवर्तन भएका राज्यका नीतिका कारण ब्यापार व्यवसाय गर्नसक्ने अवस्था नरहेको बताए ।

उद्योगीहरुले कर्जा पाउन समस्या रहेको बताए । आइएमएफको मिशनले कर्जा विस्तार बढी भएको भन्दै कम गर्न सुझाब दिएको भन्दै व्यवसायीहरुले गुनासो गरेका थिए ।

‘तपाईंहरु आएर कर्जा विस्तार बढी भयो भन्दै कम गर्न सुझाब दिनुहुन्छ, हामीलाई यहाँ ऋण नपाएर ब्यापार व्यवसाय गर्न गाह्रो भइरहेको छ,’ उद्योगीको भनाई थियो ।

टोलीले उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग पनि भेट गर्दैछ । आगामी माग २ गतेसम्म टोलीले अध्ययन गर्छ । माघ २ गते पनि अर्थमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रत्येक वर्ष आइएमफको टोलीले स्थलगत अध्ययन गरी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । टोलीले तयार पारेको रिपोर्ट आइएमएफको सञ्चालक समितिले पारित गरेपछि मात्रै सार्वजनिक हुन्छ । रिपोर्टमा समस्या र कमी कमजोरीहरु औँल्याउँदै सुधारका लागि सुझाब पनि दिइएको हुन्छ । र, ती सुझाब कार्यान्वयन गर्न दबाब पनि दिने गर्छ ।


पुष्प दुलाल