पूर्वअर्थमन्त्री महतको नयाँ किताबः उदारवादका कमजोरी लुकाउन खोजेको हो कि नदेखाउन ?: निशान्त खनालको समीक्षा



डा. राम शरण महत नेपाली अर्थतन्त्रले चाहे पनि भुल्न नसक्ने नाम हो । सन् ९०को दशकमा प्रजातन्त्रको पुनर्बहाली पछि नेपालले लिएको उदारवादी आर्थिक नीतिका एक प्रमुख डिजाइनर रहेका उनलाई नै खुला बजार र अर्थनीतिका जस अपजस दिने गरिएको छ । पहिलो पटक सन् १९९४ मा अर्थमन्त्री भएका महतले, त्यसपछि बिभिन्न सरकारमा रही हालसम्म ६ पटक नेपालको अर्थतन्त्रको बागडोर सम्हालिसकेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, परराष्ट्रमन्त्रीलगायतका अन्य धेरै पदमा रहेर समेत काम गरिसकेका छन् ।

सन् २००५ मा आफ्नो पहिलो पुस्तक इन डिफेन्स अफ डेमोक्रेसीमार्फत १९९० पछि नेपालले लिएका नवउदारवादी आर्थिक नीति, नेपालको प्रजातान्त्रिक आन्दोलन र बृहत् अर्थतन्त्रमा त्यसको प्रभाव लगायतका बिषयमा लेखिसकेका यी पुर्वअर्थमन्त्रीले आफ्नो ‘फुर्सदको समय’ सदुपयोग गरेको भन्दै पछिल्लो समय नयाँ पुस्तक, ट्रायल्स, ट्रेमर्स एन्ड होप,द पोलिटिकल इकोनोमी अफ कन्टेम्पोररी नेपाल २०१९ सार्वजनिक गरेका छन् ।

नेपालको अर्थराजनीतिसँग जोडिएका बिभिन्न बिषयहरु यस पुस्तकका १२ अध्यायमा समेटिएको छ । केही अपवाद छोड्ने हो भने पुस्तक पढ्दै गर्दा यो पुस्तक सबैभन्दा धेरै पटक अर्थमन्त्री भएको, कुनै राजनीतिक दलको व्यक्तिले लेखेको नभई, कुनै स्वतन्त्र आर्थिक विश्लेषक वा अर्थशास्त्रको प्राध्यापकले लेखेका हो जस्तो लाग्छ । पुस्तक पढ्दै गर्दा के यसका लेखक नेपालमा सर्बाधिक अर्थमन्त्री भएका ब्यक्ति हुन् ? भन्ने प्रश्न आउनसक्छ । किनभने यो पुस्तकले बृहत अर्थतन्त्रका बिभिन्न विषयमा यथेष्ट तथ्यांक र जानकारीहरु त दिएको छ ।

तर सुक्ष्मरुपमा प्रभाव पार्ने नीतिगत बिषयहरुमा भने लेखक खासै खुल्न सकेका छैनन् ।

आफ्नो पहिलो पुस्तक इन डिफेन्स अफ डेमोक्रेसीमा लेखकले तत्कालिन अर्थ राजनीतिक परिवेश, नवउदारवादी अर्थ नीति लगायतका बिषयमा आफ्नो र आफ्नो पार्टीले लिएका नीतिगत निर्णयको स्वामित्व लिएका लेखकले त्यसयता झन् धेरै पटक अर्थ मन्त्रालयको नेतृत्व गरेका छन् ।

पुस्तक: ट्रायल्स ट्रेमर्स एन्ड होप, द पोलिटिकल इकोनोमी अफ कन्टेम्पोरेरी नेपाल

लेखकः रामशरण महत
प्रकाशकः एड्रोइट पब्लिसर्स
पृष्ठः २४२
मूल्यः रु.१२७२

तर यस पुस्तकमा सन् २००५ यताका नीतिगत निर्णयहरु, आर्थिक बिकासका योजना, भूमण्डलीकरणसँगै भएको अर्थ राजनीतिक बदलाब नेपालमा त्यसको प्रभाव उनी आफैंले लिएका नीतिगत निर्णय लगायतका बिषयमा लेखकले अपनत्व लिएका छैनन् । सन् १९९० देखि २०१९ सम्म आइपुग्दा नेपालको अर्थतन्त्रले धेरै खुड्किला पार गरेको छ । त्यस यताकाका विकासक्रमका बारे लेखकले चर्चा त गरेका छन् । तर समीक्षात्मक भने भएका छैनन् ।

नेपालको नवउदारबाद तर्फको यात्राम के कस्ता कुराहरुले काम गरे के कस्ता कमीकमजोरीहरु रहे भनेर विश्लेषण गर्न सक्ने एक प्रमुख पात्रकारुपमा महतले यो अवसर भने यस पुस्तकमा गुमाएका छन् । आशा गरौँ उनका अन्य पुस्तकमा यी बिषय पढ्न पाइने छ ।

पुस्तकको पहिलो अध्यायमा परिवर्तित विश्वमा समाजवादी चिन्तनका बारेमा लेखेका छन्, उनका बिचारमा २१औं शताब्दीमा समाजवादी चिन्तनको पुनर्मूल्यांकन गर्नु जरुरी छ । अबको समाजवादको मूल चरित्र राजनीतिक र आर्थिक लोकतन्त्र हो । र, समाजवाद बजार अर्थतन्त्रको विपक्ष होइन भन्ने बिषयमा लेखकले यथेष्ट बिबेचना गरेका छन् । योसँगै जोडेर उनले पुस्तकको दोश्रो अध्याय बिपी कोइराला, समाजबाद र नेपाली कांग्रेसमा, लेखकले बीपीको समाजवादी चिन्तन र नेपाली कांग्रेसले लिएको नवउदारवादी नीतिको औचित्य पुष्टि गर्न खोजेका छन् ।

पुस्तकको तेश्रो अध्याय आर्थिक सुधार र त्यसको प्रभावमा भने लेखक समीक्षात्मक भएका छैनन् । सन् ९०को दशक पछि नेपालको अर्थतन्त्रमा सुधार त भएकै छन् । तर के ती सुधार पर्याप्त थिए, माओबादी जनयुद्ध बाहेक अर्थतन्त्रलाई अन्य के कस्ता कारकहरुले दबाए भन्ने बिषयमा लेखक खुलेका छैनन् । यो उनलाई आत्मालोचना गर्ने अवसर पनि थियो ।

माओबादी जनयुद्ध, संबिधान लेखन, भूकम्प पश्चातको पुनर्निर्माण लगायतका बिषयमा आफ्नो राजनीतिक भूमिका र योगदान प्रष्ट लेखेका लेखकले बैदेशिक सहायता, अर्थतन्त्रको वर्तमान अवस्था, विप्रेषण अर्थतन्त्रमा त्यसको योगदान र दीगो विकास जस्ता विषयमा भने स्वतन्त्र रुपमा विश्लेषण गरेका छन् । यी बिषयहरुमा उनका नीतिगत र राजनीतिक सल्लाह सुझावहरु महत्वपूर्ण हुने थिए । बृहत् अर्थतन्त्रमा, अर्थराजनीति र राजनीतिको कस्तो अन्तरसम्बन्ध रहन्छ भन्ने विषयमा यो पुस्तकले चर्चा गरेको छैन ।
नेपाली अर्थतन्त्रमा खासै चर्चा नगरिएको, डच डिजिज सिन्ड्रोमलाइ लेखकले रेमिट्यान्ससँग जोडेर प्रस्तुत गरका छन्, नेपालको वर्तमान अर्थतन्त्र हेर्दै गर्दा बिभिन्न क्षेत्रमा डच डिजिजको अध्ययन र विश्लेषण गरिनु अत्यावश्यक छ ।

पुस्तकको अन्तिम अध्यायमा लेखकले नेपालको अवको बाटोका बिषयमा चर्चा गरेका छन् । उनले उठाएका बिषयहरु जस्तै, वित्तीय संघीयता, पूर्वाधार, मानव विकास, सुशासन अबको नेपालका लागि महत्वपूर्ण बिषयहरु हुन् । यी क्षेत्रहरुमा हुने राजनीतिक हस्तक्षेप, मिलेमतो, इत्यादी कसरि बिकाशका बाधक हुन् भनेर चर्चा त गरेका छन्, तर आफु पदमा रहँदा आफु र आफ्नो पार्टीले किन यस्ता बिषयलाई दुरुत्साहन गरिएन भनेर चाहीँ लेखकले लेखेका छैनन् ।

नेपालको पछिल्लो अर्थराजनीतिक विकास क्रम, संबिधान लेखन देखि भूकम्प सम्मका बिषयहरु समेटेर लेखिएको यो पुस्तक आफ्नो मूल मर्म भन्दा केही बाहिर गए पनि पछिल्लो दशकका आर्थिक उपलब्धिहरु देखाउन भने सफल भएको छ ।

यस पुस्तकको सवाल पक्ष्य यसमा प्रस्तुत गरिएको तथ्यांक र तिनको प्रस्तुति हो । पुस्तकका सम्पूर्ण अध्यायमा लेखकले सान्दर्भिक रहेका नेपाली र बिश्वब्यापी तथ्यांकहरूलाइ उचित विश्लेषणका साथ प्रस्तुत गरेका छन् । नेपालको अर्थतन्त्रको सुक्ष्म रुप बुझ्नका लागि यो पुस्तक एक महत्वपूर्ण श्रोत हो ।

तर शिर्षकमा भनिए जस्तै पुस्तकले ट्रायल्स र ट्रेमर्सको कुरा त गर्छ । तर होप (आशा)भने त्यति भेटिँदैन । लेखकले भने जस्तै दलगत स्वार्थ र संकीर्णता त्यागे मात्रै नेपालको विकास सम्भव छ, यसमा दुइमत छैन । पुस्तक पढिसक्दा आगामी दिनमा लेखक आफु र आफ्नो दलले यसलाई मनन गर्छन् होला भन्ने अपेक्षा राख्न सकिन्छ । लेखक अर्थशास्त्रका बिद्यार्थी हुन् 


पुष्प दुलाल