१०% डाउनपेमेन्टमै गाडी किन्न पाउने व्यवस्था गर्नुपर्छः नाडा अध्यक्ष कृष्ण दुलाल



नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएशन (नाडा) सवारीसाधनको व्यवसाय गर्ने व्यवसायीहरुको छाता संगठन हो । नाडाले व्यवसायीहरुको हकहितका लागि सरकारसमक्ष लबिङ गर्ने र व्यवसायको प्रवद्र्धन गर्ने काम गर्दै आएको छ । नाडा व्यवसायीका शक्तिशाली संगठनहरुमध्येको एक हो । यही संगठनको अध्यक्षमा लुब्रिकेन्ट उत्पादक कृष्णप्रसाद दुलाल निर्विरोध निर्वाचित हुँदैछन् । शुक्रबार हुने नाडाको ४३औं साधारणसभाले दुलाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गर्दैछ । निर्वाचनका लागि तोकिएको समयमा उनको मात्रै उम्मेद्वारी परेको थियो । कसरी निर्विरोध हुन सफल भए ? अब के कस्ता काम गर्छन् ? भन्ने विषयमा केन्द्रित रहेर अध्यक्ष दुलालसँग क्लिकमाण्डूले गरेको कुराकानीः

समग्र अटोमोबाइल्स क्षेत्रको बिक्री घटेको छ । बिक्री बढाउन तपाईंले के कस्ता कामहरु गर्नुहुन्छ ?

अहिले अटोमोबाइल्स क्षेत्रको बिक्री घटेको छ । यसलाई स्थायीत्वमा लानुपर्छ । अहिले बजारमा माग भए पनि बिक्री हुन नसकेको स्थिति छ ।

अटो क्षेत्रमा बिक्री कम हुनुको पछाडि बैंकहरुको तरलता नै प्रमुख कारण हो । बैंकहरुले ऋण दिनासाथ यसको बिक्री बढी हुन्छ । बैंकहरुले अहिले अटोमोबाइल्स क्षेत्रमा ५० प्रतिशतभन्दा कम कर्जा अघिल्लो वर्षको भन्दा गएको छ । त्यसलाई बढाउने प्रयास मैले गर्ने छु ।

सवारीसाधन अहिले आवश्यक्ता भइसकेको छ । राज्यले यसलाई विलासी वस्तुको रुपमा लिन्छ । यो समस्यालाई कसरी हटाउने ?

समग्रमा हेर्दा अटोमोबाइल्स क्षेत्रबिना विकास सम्भव छैन । अटोमोबाइल्स क्षेत्र देशको विकासको मेरुदण्ड नै हो । यो क्षेत्रको विकासको लागि सडक र पूर्वाधार क्षेत्रको विकास हुनुपर्ने हुन्छ ।

सडक र पूर्वाधार क्षेत्रको विकास नभएको कारण यो बाधकको रुपमा देखिएको छ । सडक र पूर्वाधारको विकास भएमा अटोमोबाइल्स क्षेत्रको विकास हुन्छ । र, औद्योगिकरणतर्फ देश जान्छ । यो सबै एक अर्कामा जोडिएका छन् । अहिले सरकारले नकारात्मक रुपमा हेर्नुको पछाडि सडक बन्न सकेको छैन । बजेट खर्च भएको छैन । कसलाई दोष दिने ? कोही पनि सडक नभएको कारण दोष अटोमोबाइल्स क्षेत्रले पाएको छ ।

काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने सडक नै नयाँ बनेन । शहरमा आवश्यता हुने फ्लाइ ओभर बाहिरी चक्रपथ बन्न सकेन । पुरानो चक्रपथ पनि विस्तार समयमा हुन सकेको छैन । खोलाका करिडोरहरु बन्न सकेको छैन । सडक बन्ने हो भने नेपालमा अटोमोबाइल्स क्षेत्रको विकास आफैं हुन्छ ।

अटोमोबाइल्स क्षेत्र आवश्यक्ताको वस्तु हो । यो आफैं हुन्छ । यसको लागि सरकारले गर्नुपर्ने काम सडक पूर्वाधारको विकास हो । अटोमोबाइल्सबिना विकास निर्माण सम्भव हुन सक्दैन । पूर्वाधारमा खर्च गरेपनि देशको विकास हुने छ । सरकारले आफुले सडक बनाउन नसकेको दोष गाडी व्यवसायीलाई दिएको हो । त्यो भएपछि सडक बनाउनु पर्दैन ।

अझै पनि ९५ प्रतिशत जनसंख्यामा सवारीसाधनको पहुँच छैन । सरकारको पनि बाध्यता छ । राणाकालमा बनेका सडक छन् । कुनैपनि सडक नयाँ विस्तार भएको छैन ।

हालैमात्र लगानी बोर्डले कोरियन कम्पनी मोट्रेक्ससँग नेपालमा गाडी एसेम्बल गर्नका लागि सम्झौता गरेको छ । यसमा नाडाले विरोध गरेको थियो । अब के गर्छ ?

एसेम्बल उद्योग नेपालमा खोल्नु राम्रो कुरा हो । खुलेर नेपालमा बजार विस्तार हुने कुरा राम्रो हो । नाडाले जहिले पनि एसेम्बल उद्योगको विषयमा कुरा गरेको छ । हामीले विरोध गरेको बाहिरबाट आएको लगानीलाई बढी स्वागत गर्ने र स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्नु हुँदैन । हामीलाई समस्या जमिन तथा बजारको हो । सरकारले सहयोग गर्ने हो भने उद्योग खुल्नेमा कुनै शंका छैन । सरकारले व्यवसाय गर्नको लागि सहजिकरण नगर्ने र खाली व्यवसाय मात्र गर्ने भनेर भएन । यसको लागि सहजिकरण पनि गर्नुपर्यो ।

मोट्रक्सले खोल्नको लागि सम्झौता गर्यो नि ?

एसेम्बल उद्योग खुल्नु राम्रो कुरा हो । बजारबिना कसैले पनि उद्योग खोल्दैन । गाडी बनेपछि सडक चाहियो । नेपालमा उत्पादन भएपछि बजार विस्तार हुनुपर्यो । सडकबिना यो सम्भव छैन ।

नाडामा धेरैपछि गाडी बिक्रेता नभएर पार्टस् उद्योग चलाउने व्यक्ति अध्यक्ष भएर आउनु भएको छ । पार्टसको उद्योग नेपालमा कसरी बढाउन सकिन्छ ?

अटोमोबाइल्स क्षेत्रमा पार्टसको उद्योग खुलेपछि गाडीको एसेम्बल उद्योग हुँदै गाडीको नै उद्योग खुल्ने हो । संसारमा स्पेयर पार्टस,टायर लुम्ब्रिकेन्ट उद्योग खुल्दै गाडीमा जाने हो । अहिले भएका १० वटा लुम्ब्रिकेन्ट उद्योगले ३५ प्रतिशत बजार हिस्सा लिएको छ । जमिन उपलब्ध गराउने औद्योगिक क्षेत्र खोलौ लगानीको लागि सहज वातावरण भएमा लुम्ब्रिकेन्ट उद्योगको बजारको राम्रो सम्भावना छ । अहिले उद्योग चलाउनको लागि १० वटाभन्दा बढी मन्त्रालयमा स्वीकृति लिनुपर्ने अवस्था छ । व्यवसायिक वातावरण नभएको कारण उद्योग नखुलेको हो ।

अहिले नेपाली लुब्रिकेन्ट उद्योग सरकारले सहयोग गरेका ९० प्रतिशत बजार हिस्सा लिन सक्छन् । सरकारले मूल्यलाई नियन्त्रण मात्र गर्न खोज्न भएन । बजार आफैले मूल्यलाई नियन्त्रण गर्छ ।

अहिले केही गाडीहरु बिक्रेताबिना पनि भित्रिइरहेका छन् । महंगा गाडी भन्सारमा थन्केको अवस्था छ । नाडाले यसमा के गर्छ ?

नियमलाई मानेर व्यवसाय गर्ने हो । नाडाले सबै व्यवसायीको हक हितको रक्षा गर्ने हो । गाडीलाई मात्र होइन स्पेयर पार्टसलाई पनि ऐजेन्सीबिना दिनु हुँदैन भन्ने नाडाको पहिले पनि भनेको छ । अहिले पनि पनि भनेका छौं । गाडी मात्र होइन टायर, लुब्रिकेन्टमा पनि त्यही नियम लागु गर्नुपर्छ । ऐजेन्सी नभएर गाडी भित्राउनु हुँदैन ।

नाडा अटो शोे हरेक वर्ष हुने एउटा आकर्षण एक्स्पो हो । यसलाई झन् आकर्षक र व्यवस्थित बनाउन तपाईं के गर्नुहुन्छ ?

नाडा अटो शो केही विस्तृत हुँदैछ । यसलाई हामीले केही जोड्ने प्रयास गरेका छौ । फ्रेबुअरीमा दिल्लीमा अटो शो हुँदै छ । त्यसबाट हामीले केही सुझाव लिन्छौ । नाडाको अटो शो केही सानो भएपनि हामीले यो वर्ष नै गार्डेनलाई जोडिसकेका छौं ।

व्यक्तिगततर्फ गाडी किन्न ५० प्रतिशत डाउनपेमेन्टले असजिलो बनाएको छ । राष्ट्र बैंकले घरमा गरेजस्तो गाडीमा पनि त्यही स्किम ल्याउन सकिँदैन ?

अहिले हरेक सर्वसाधारणको आवश्यक्ता निजी सवारीसाधन भएको छ । सरकारले पहिलो काम सार्वजनिक साधनमा ध्यान दिनुपर्यो । हरेक व्यक्तिले सार्वजनिक साधन प्रयोग गर्न पाउनुपर्यो ।

५० प्रतिशत डाउनपेमेन्टको कारणले समस्या आएको छ । हामी न्यूनतम पनि १० प्रतिशत डाउनपेमेन्ट गरेर गाडी पाउनुपर्छ भन्ने माग राखेका छौं । अझ २ पाङ्ग्रेको हकमा डाउनपेमेन्ट नलिदा पनि हुन्छ ।

सरकारले बजेट खर्च गर्न सकेको छैन । सडक विस्तार गर्न सकेको छैन । सरकारले आफुले खर्च गर्न नसकेको दोष हामीलाई लगाएको हो ।

नाडाको अध्यक्षको रुपमा तपाईले के कस्ता कामहरु गर्नुहुन्छ ?

अहिले बैंकहरुले ऋण कम दिएको कारण बजार खस्केको छ । त्यसलाई बढाउनुपर्ने छ । स्वच्छ व्यवसाय बढाउनको लागि प्रेरित गर्ने छौ । करको राजस्वको मानिसहरु राखेर काम गर्ने छौ । अहिले सडक दुर्घटनाको संख्या बढेको छ । यसको मुख्य कारण लापरवाही हो । यसलाई हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत अगाडि बढाउने छौ ।

तपाई निर्विरोध अध्यक्ष चुनिन कसरी सफल हुनुभयो ?

नाडामा मा सन् २०११ मा प्रवेश गरेको हो । सौरभ ज्योति अध्यक्ष हुँदा कोषाध्यक्ष बनेर काम गर्ने मौका पाए । मैले जति जानेको काम हो त्यती काम गरे । त्यसपछि शेखर गोल्छा अध्यक्ष हुँदा कोषाध्यक्ष भएर काम गरे । त्यसपछि अन्जन श्रेष्ठको पालामा महासचिव भएर काम गरे । शम्भु दाहालको पालामा उपाध्यक्ष भएर काम गरे ।

नाडाको सदस्यको कसरी हकहित गर्नुपर्छ भन्ने मलाई ज्ञान भएको छ । देशभरका व्यवसायीको हितमा बोल्न सक्ने क्षमता विकास भएको छ । मैले विगतमा स्थानीय उद्योग वाणिज्य संघको संस्थापक भएर काम गरे । नेपाल जेसिसको पनि राष्ट्रिय अध्यक्ष भएर काम गरिसकेको तथा महासंघमा पनि कार्यकार्यरिणी सदस्य भएर काम गरे । त्यो सबै अनुभवको आधारमा मलाई भन्सार,आयकरमा काम गर्नको मन्त्रालयमा गएर काम गर्न सहज हुनेमा साथीहरुले विश्वास गर्नुभयो ।

त्यस्तै अध्यक्षमा प्रत्यासी हुने भन्नु भएका प्रकाश कपुरीजीले पनि मलाई सहयोग गरेर निर्विरोध हुने बाटो बनाइदिनु भयो । हाँलाई म विशेष रुपमा धन्यवाद् दिन चाहन्छु । जसले गर्दा निर्विरोध चुनिएपछि नाडालाई अगाडि बढाउने बाटो खुल्ला भएको छ ।


पुष्प दुलाल