ठूला बैंकले साना बैंक खान सक्दैनन्, मर्जर नै समाधान होइनः सेञ्चुरी बैंकका सीइओ गौतमको बिचार



बिजनेशमा ठूला माछाले साना माछा खान्छ भनिए पनि कुनैपनि संस्था सानो ठूलो हुँदैमा टिक्न सक्ने र नसक्ने भन्ने हुँदैन । यो सिद्दान्त बैंकिङ क्षेत्रमा पनि लागू हुन्छ ।

भारतकै उदाहारण हेरौं । एसबिआई बैंक सबैभन्दा ठूलो बैंक हो । दोस्रो बैंकभन्दा उ धेरै अघि छ । त्यहाँ विदेशी बैंक पनि छन् । साना बैंक पनि छन् । निजी क्षेत्रका बैंक पनि छन् । सबै टिकिरहेकै छन् । बिजनेश गरेर नाफा कमाइरहेकै छन् ।

अमेरिकाकै उदाहारण हेरौं । सिटी बैंक त्यहाँको सबैभन्दा ठूलो बैंक हो । तर, त्यहाँ पनि अन्य बैंकहरु टिकिरहेकै छन् ।

बैंकिङबाट बाहिर गएर नेपालकै उदाहारण हेरौं । भाटभाटेनी सुपरमार्केट देशकै ठूलो डिपार्टमेन्ट स्टोर हो । बिगमार्ट, सेल्लबेरी लगायत पनि चलिरहेकै छन् । मध्यमस्तरका र साना स्तरका किराना पसल पनि चलिरहेकै छन् । र, नाङ्लो पसल पनि चलिरहेकै छन् ।

होटेलकै उदाहारण हेरौं । ठमेलतिर ४ कोठे होटेल पनि चलिरहेकै छन् । ३ तारे, ५ तारे होटेल पनि थपिइरहेका छन् । र, चलिरहेका छन् ।

बजारले मर्जरका लागि दबाब सिर्जना गरेको छ भन्ने मलाई लाग्दैन । अहिले मर्जरको इस्यू बजारको भन्दा पनि रेगुलेटरको हो ।

सबैका आ-आफ्नै ग्राहक हुन्छन् । र, ब्यवसाय चल्छ । जुनदिन ग्राहक नै आउँदैनन् । त्यसदिन मात्रै व्यवसाय बन्द हुने हो । आकारका आधारमा होइन ।

पूँजीकै आधारमा बैंक चल्न नसक्ने भन्ने पनि हुँदैन । केही वर्ष अघिसम्म मात्रै २ अर्ब चुक्ता पुँजी भएका बैंक थिए । तर, कुनैपनि डुबेका थिएनन् । अहिले चुक्ता पुँजी ८ अर्ब छ, भोलि २० अर्ब पुग्ला ।

बासलको सिद्दान्त अनुसार राष्ट्र बैंकले कोर क्यापिटलको १० गुणाभन्दा बढी कर्जा प्रवाह गर्न नपाइने भनेको छ । यसको अर्थ के हो भने पुँजीको आकारका आधारमा बैंकहरुले कर्जा विस्तार गर्नसक्ने क्षमता राख्छन् । ठूलो पुँजी भएकाले धेरै र सानो पुँजी भएकाले थोरै कर्जा दिन सक्छन् ।

सेञ्चुरी बैंकले मर्जरको ढोका खुल्ला राखेको छ । र, विभिन्न संस्थाहरुसँग विभिन्न चरणमा मर्जरका लागि कुराकानी पनि गरिरहेको छ । तर, कंक्रिट निष्कर्शमा भने पुग्न सकिएको छैन ।

राष्ट्र बैंकले अहिले फोर्सफुल्ली मर्जर गराउन खोजेको छैन । भोलिका दिनमा फोर्स मर्जर गरायो भने जुनसुकै बैंक मर्जरमा नगई सुख छैन । राष्ट्र बैंकको निर्देशन बैंकले नमान्ने भन्ने प्रश्नै हुँदैन ।

यद्यपि फोर्स मर्जर केही असहज हुनसक्ला । स्वतस्फूर्त मर्जरको नीति भइरहेको अवस्थामा मर्जरमा जानैपर्छ भन्ने छैन । आवश्यकता अनुसार मर्जर गर्ने हो । वा, म सानो पुँजी राखेर सानो आकारको व्यवसाय गर्छु भन्न पाइन्छ ।

सबैभन्दा पहिला आजको हाम्रो वित्तीय क्षेत्रको समस्या के हो भनेर पहिचान गर्नुपर्छ । र, त्यसअनुसार नीति नियम बनाएर अघि बढ्दा राम्रो परिणाम आउँछ । आजको हाम्रो वित्तीय क्षेत्रमा देखिएको समस्या मर्जरले समाधान गर्छ कि गर्दैन भनेर अध्ययन अनुसन्धान गर्न जरुरी छ ।

मेरो बिचारमा तरललता अभाव र बैंकको संख्याबीच तादम्यता छैन । बैंकहरु धेरै भएका कारण तरलताको समस्या आएको होइन । २७ वटा बैंकलाई मर्जर गरेर एउटा मात्रै बैंक बनाउने हो भने पर्याप्त तरलता हुन्छ ? अहँ हुँदैन ।

केही समयभित्र सेञ्चुरीको साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्दैछ । आगामी दिनमा बैंकलाई कसरी अघि बढाउने रु मर्जरमा जाने कि नजाने रु भनेर नयाँ सञ्चालक समितिलाई साधारणसभाले म्यान्डेट दिन्छ । र, सोही म्यान्डेट अनुसार सेञ्चुरी बैंक अघि बढ्छ ।

बजारले मर्जरका लागि दबाब सिर्जना गरेको छ भन्ने मलाई लाग्दैन । अहिले मर्जरको इस्यू बजारको भन्दा पनि रेगुलेटरको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई मर्जरमा जाउ भनिरहेको छ । अहिलेसम्म ग्लोवल आइएमइ र जनता बैंकबीच मात्रै मर्ज भएको छ । सबैले छलफल गरिरहेका भएपनि अहिलेसम्म परिणाम आउन सकेको छैन । बैंकहरु पर्ख र हेरकै अवस्थामा छन् ।

सेञ्चुरी बैंकको बारेमा कुरा गर्ने हो भने हामी मर्जरका लागि छलफल गरिरहेका छौं । ८/१० वटा बैंकसँग छलफल भयो । तर, पछिल्ला केही महिना एग्रेसिभ छलफलमा छैनौं । कारण हाम्रो एकजना सञ्चालकले राजिनामा दिनुभएको छ । र, केही समयभित्र साधारणसभाले नयाँ सञ्चालक समिति चयन गर्दैछ । आगामी दिनमा बैंकलाई कसरी अघि बढाउने ? मर्जरमा जाने कि नजाने ? भनेर नयाँ सञ्चालक समितिलाई साधारणसभाले म्यान्डेट दिन्छ । र, सोही म्यान्डेट अनुसार सेञ्चुरी बैंक अघि बढ्छ ।

मर्जरको प्रक्रिया अघि नबढ्नुमा केही खास कारणहरु छन् । सञ्चालक को हुने, सञ्चालक समितिमा कस्तो सहभागिता हुने, सीइओ को हुने, विभागीय प्रमुखहरुको समायोजन कसरी गर्ने, बैंकको नाम के रहने ? जस्ता प्रश्नहरुमा अल्झिएको हुन्छ । र, अर्को कुरा के हो भने मर्जर पछि मेरो होल्डिङ घट्छ भन्ने विषयले पनि अवरोध सिर्जना गरेको हुनसक्छ भन्ने मलाई लाग्छ ।

उदाहारणका लागि कुनै व्यक्ति वा उसको परिवारले कुनै एउटा बैंकमा १५ प्रतिशत होल्ड गर्छ । त्यो बैंक अर्को वाणिज्य बैंकसँग मर्ज भयो भने उसको होल्डिङ ६ देखि ९ प्रतिशत मात्रै हुन्छ । होल्डिङ कम भएपछि आफूले सञ्चालक पठाउन सकिँदैन भन्ने डरले पनि मर्जर प्रभावकारीरुपमा अघि बढ्न नसकेको हुनसक्छ । (कुराकानीमा आधारित)


पुष्प दुलाल