ठूला विदेशी लगानीकर्ताको अविश्वास कायमै, सानाको भने आकर्षण बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो साढे ४ महिनामा विदेशी लगानीमा ठूला लगानीमा कमी आएको छ । अधिकांश चिनियाँ विदेशी लगानीको प्रतिवद्धता आएकोमा ठूला लगानीकर्ता अघिल्लो आवको सोही अवधिको तुलनामा आधाभन्दा कम देखिएको छ ।

उद्योग विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७५÷७६ मा साउन १ गतेदेखि मंसिर २० गतेसम्म ठूलो लगानीका लागि ५ वटा कम्पनीमार्फत ३ लाख ३२ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको थियो । जसमा ३ वटा कम्पनी भारतबाट, र सिंगापुर र दक्षिण कोरियाबाट एक–एक वटा कम्पनीमार्फत् विदेशी लगानीको प्रतिवद्धता आएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा ३ वटा कम्पनीबाट ठूला लगानी अन्तर्गत जम्मा १ अर्ब २५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

गत वर्ष सोही अवधिमा निर्माण सामग्री, होटल तथा रेष्टुराँ, सिमेन्ट तथा क्लिङकर उद्योगका लागि विदेशी लगानीको प्रतिबद्धता आएको थियो भने चालु आवको सोही अवधिमा होटल तथा रेष्टुँरा र सिमेन्ट उत्पादनका लागि विदेशी लगानी आएको छ ।

चालु आर्थिक वर्षमा हालसम्म १२५ वटा कम्पनीले विदेशी लगानीको प्रतिबद्धता जनाएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । जसमा सबैभन्दा बढी पर्यटन क्षेत्रतर्फ होटल तथा रेष्टुराँ क्षेत्रमा भित्रिएको छ ।

त्यस्तै, सबैभन्दा बढी विदेशी लगानीको प्रतिवद्धता मझौला उद्योगमा आएको छ । जसमा ५५ वटा कम्पनीले ११ अर्ब ५९ करोड ३० लाख रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता जनाएका छन् । त्यस्तै, साना उद्योगमा ६७ वटा कम्पनीमार्फत् ६ अर्ब ५८ करोड २० लाख रुपैयाँको विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

चालु आवमा हालसम्म सबैभन्दा बढी पर्यटन र सेवामुलक क्षेत्रमा विदेशी लगानीको प्रतिवद्धता आएको छ । जसमध्ये पर्यटनमा ७ अर्ब ५२ करोड रुपैयाँ र सेवामुलक क्षेत्रमा ५ अर्ब ९९ करोड ६९ लाख रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

त्यस्तै, सूचना तथा प्रविधिको क्षेत्रमा ३ अर्ब ९० करोड, उत्पादनमुलक क्षेत्रमा १ अर्ब ८० करोड ८ लाख रुपैयाँ र कृषि क्षेत्रमा २० करोड रुपैयाँको लगानीको प्रतिवद्धता आएको छ ।

विदेशी लगानीमा ठूला लगानीकर्ता आकर्षित नहुनुमा स्थानीय तहमा हुने अवरोध तथा सरकारको प्रक्रियामा समस्या रहेको नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य भरतराज आचार्य बताउँछन् ।

‘मुख्य कुरा लगानीकर्ताले नाफा देख्छन तर हामीकहाँ स्थानीय तहमा हुने सर्वसाधारणको तहमा हुने अवरोधको भय अझै पनि विदेशी ठूला लगानीकर्ता कहाँ छ’ आचार्यले भने ।

उनका अनुसार स्थानीय तहमा कुनै ठूलो प्रोजेक्ट निर्माण हुने अवस्था आयो भने सबैभन्दा पहिले स्थानीयहरु अधिकार खोज्छन तर कर्तव्य के हो बुझ्दैनन्, स्थानीय तहमा अझै पनि आर्थिक स्रोतको परिचालन र यसले पार्ने सकारात्मक प्रभावका बारेमा बुझेको पाइँदैन् ।

त्यसका साथै ठूला आयोजनामा विदेशी लगानी ल्याउने सरकारको नीति र प्रक्रियामा पनि केही त्रुटीहरु छन् ।

चीनबाट लगानीको ओइरो

चालु आर्थिक वर्षमा विदेशी लगानीको प्रतिवद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ । कुल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिवद्धता जनाएका छन् । चालु आवमा १२५ वटा कम्पनीमध्ये उद्योग विभागमा दर्ता भए अनुसार कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फ १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ ।

त्यसबाहेक अष्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड १० लाख, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड, क्यानडाबाट ५० करोड, दक्षिण कोरियाबाट १५ करोड, पोल्याण्डबाट १५ करोड विदेशी लगानीको प्रतिवद्धता आएको छ ।

चीनबाट लगानी ओइरिएको कारण विश्लेषण गर्दै आचार्य चीनका लागि बजार चाहिएको र त्यसका लागि नेपाल उपयुक्त बजार भएको बताउँछन् । उनका अनुुसार चीनका लागि अहिले बजार चाहिएको छ, नेपालमा चीनका लागि स्वार्थका दृष्टिले पनि लगानी बढाएको हुन सक्छ ।

‘चीनले लगानी मात्रै गर्दैन, उसको लगानीमा स्वार्थ पनि गाँसिएको हुन्छ, साथै आफ्नै प्रविधि र ह्युमन रिसोर्स पनि हुने भएकाले लगानी बढेको हुन सक्छ’ उनले भने । साथै, पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले पनि त्यहाँका लगानीकर्तामा राम्रो छाप परेको हुन सक्छ ।

पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु विशेष गरी पर्यटनमा होटल तथा रेष्टुराँ तथा सूचना प्रविधि तथा उत्पादनमुलुक क्षेत्रमा लगानी गर्न बढी खोजिरहेका छन् । वर्षेनी चिनियाँ पर्यटक बढीरहेको र तीनै पर्यटकलाई नेपालमा आकर्षित गर्नका लागि चिनियाँ लगानीकर्ता नेपालमा आकर्षित भएको जानकारहरु बताउँछन् ।


क्लिकमान्डु