सुरुङमार्गको प्रभावः टोखामा जग्गाको भाउ छोइनसक्नू ! यसरी आकासियो



काठमाडौं । दशैं सकिएको ४ दिनपछि चिनियाँ राष्ट्रपति सी चिनफिङ राजधानी काठमाडौं ओर्लिए । सन् १९९६ यता २३ वर्षपछि पहिलोपटक भएको महत्वपूर्ण भ्रमणका केही खास एजेन्डा थिए ।

चिनियाँ पक्षका एजेन्डा परिचित नै थिए । तर नेपालको एजेन्डा भने केही सपना जस्ता त केही यथार्थ जस्ता थिए । जसमा कनेक्टिभिटीका औजारका लागि रेल र सुरुङमार्ग नेपालको प्राथमिकतामा थिए ।

रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारीले केरुङ-काठमाडौं-लुम्बिनी जोड्ने रेलको माग गरिन् । सो रेलमार्ग विगत लामो समयदेखि नेपालको राजनीतिक बजारको गरम मसला नै थियो ।

यद्यपि रेलको त्यो सपना तत्काल पूरा नहुने जस्तो देखिए पनि कनेक्टिभिटीको अर्को विकल्प सुरुङमार्गको भने सम्भावना साकार हुने चीनले संकेत दियो । जसका लागि सम्झौता पनि भयो ।

शिवपुरी राष्ट्रिय निकुञ्जको पहाड छेडेर करिब ६ किलोमिटरको सुरुङ बनाउने सम्झौता आफैमा महत्वपूर्ण थियो ।

चीनदेखि काठमाडौं जोड्न राजधानीको उत्तरी क्षेत्रमा अवस्थित १५०० वर्ष पुरानो टोखा प्रवेश मार्ग हुने भयो । ऐतिहासिक टोखामा चीन जोड्नका लागि प्रवेशद्वार खोलिने भयो । जसले टोखालाई भविष्यको महत्वपूर्ण क्षेत्रका रुपमा लिन थालियो ।

उक्त सम्झौता चीनसँगको नाका जोड्ने सुरुङमार्ग मुलुकको लागि मात्रै नभइ टोखा र यसका आसपासका क्षेत्रका लागि समेत महत्वपूर्ण विकास थियो ।

लिच्छवीकालमा सुरु भएको टोखा प्रचुर मात्रामा ऊखु उत्पादन हुने क्षेत्र हो ।

नेवारी समूदायको बाहुल्यता रहेको यस बस्तीमा तत्कालिन समयमा मिठाइका रुपमा चाकु अत्यधिक उत्पादन हुन्थ्यो । जसको प्रसंग टोखाको नामसँग जोडिएको छ ।


नेवारी भाषामा ‘टु’ अर्थात ऊखु र ‘ख्याँ’ अर्थात् मैदान भन्ने अर्थ हुन्छ । ‘टुख्या’ नाम अपभ्रंश हुँदै टोखा भएको मान्यता छ । एक समय टोखा क्षेत्र प्रचुर मात्रामा ऊखु उत्पादन हुन्थ्यो । जसबाट प्रशस्त मात्रामा चाकु उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उत्पादन हुन्थ्यो ।

प्रस्तावित सुरुङमार्गको प्रवेशद्वार टोखा नगरपालिका वडा नं १ झोरस्थित नर्जेको कुलो र गेलालबारीको खोल्सामा पर्छ ।

यो सामाखुसीदेखि झण्डै ६ किलोमिटरको दूरीमा छ । सुरुङमार्गले अहिले पहाड उक्लेर तल झर्दा २ घण्टाको समयलाई ८/१० मिनेटमै ल्याइदिनेछ । त्यस्तै, पहाडी बाटोमा गुड्दा हुने जोखिमलाई कम गर्नेछ ।

चिनियाँ राष्ट्रिपति सीको भ्रमणपछि चर्चामा आएको यो सुरुङमार्ग र त्यसले टोखामा पार्ने प्रभावका विषयमा क्लिकमाण्डूको टिम स्थलगत रिपोर्टिङमा गयो ।

शनिबार हामी पुग्दा स्थानीयबासीको मुहारमा देखिएको खुसीले सुरुङमार्गलाई स्वागत गरेको देखिन्थ्यो । हामी नगरपालिकाका १ र २ वडाका विभिन्न ठाउँमा घुम्यौं ।

पञ्चेटारदेखि झोर जाने मूल सडकसँगै जोडिएको एक चियापसलमा २ जना स्थानीय देखेपछि हामी रोकियौं ।

२ कप दुध चिया अर्डरसँगै कुराकानी सुरु गर्यौं । अनि भन्यौं- ‘दाईहरु नमस्कार है, आरामै हुनुहुन्छ नि ?’

नमस्कारको जवाफ आएपछि हामीले सुरुङमार्गको कुराबाट बहस सुरु गर्यौं ।

आफू बसेको ठाँउबाट उत्तरतर्फ हात देखाउँदै एक स्थानीयले जोसिँदै भने, ‘ऊ त्यो माथि झोरमा हो, नर्जेको कुलो र गेलालबारी भन्ने ठाँउ छ हो त्यसैको खोल्साबाट पहाड छेड्ने हो । अहिले काम सुरु हुनै आँट्यो रे भन्ने सुन्या हो ।’

‘सुरुङ बन्ने भएपछि त जग्गाको भाउ बढ्यो होला नि ?’ हामीले सोध्यौं ।

जग्गाको भाउ सुन्ने वित्तिकै एक जनाले २०५२ सालको प्रसंग निकाले ।

‘भाई मेरो घर नुवाकोट हो, ऊ त्यो डाँडाबाट हेर्दा काठमाडौं असन मात्रै देखिन्थ्यो, त्यो पनि धरहरा चिनिथ्यो, बाँकी सबै खेतैखेत । त्योबेला यो क्षेत्रमा केही रैथाने नेवार मात्रै थिए । अहिले आँखै अगाडि सुरुङमार्गबाट चीन जोडिने भयो,’ उनले सुनाए ।

ती स्थानीयले २०५२ सालमा जरंखुमा २० हजार रुपैयाँ आनामा किनेको जग्गा ६० सालमा १४ लाखमा बेचेको पनि सुनाए । २०६४ मा त्यही जग्गा आनामा ३८ हजार नाफा खाएर बेचेका थिए उनले ।

‘अहिले त्यही जग्गाको भाउ ३० लाख रुपैयाँ आना पुग्यो, हेर्नुस् त जग्गाको भाउ बढेको’ आश्चर्य मान्दै उनले भने ।

सामाखुसीदेखि ३ किलोमिटरको दूरीमा देशकै राम्रो मानिने ग्रान्डी अस्पताल छ । अस्पतालको ठ्याक्कै पछाडि छ– ग्राण्डी टावर अपार्टमेन्ट । १० वर्षअघि अर्थात् जतिबेला ग्राण्डी अस्पताल बनेको थिएन । तर, जब ९ वर्षअघि ग्राण्डी अस्पताल बन्यो, त्यसपछि टोखा जाने बाटो आसपासमा जग्गाको भाउ अकासियो ।

यसले अस्पतालभन्दा माथि चण्डेश्वरी र पञ्चेटार हुँदै झोरसम्मको बाटो र आसपासका जग्गामा त्यति धेरै प्रभाव पारेको थिएन । तर विस्तारै बस्ती विस्तार हुँदै जाँदा टोखाको पुरानो बस्तीसम्म पुग्यो । यसले त झन् भाउ बढायो । अहिले पुरानो बस्तीदेखि शिवपुरीको काखसम्म पुगेको छ ।

यहाँका अधिकांश बस्तीमा नेवारी समूदायको बाहुल्यता रहे पनि पछिल्लो समयमा बाहिरबाट बसाइ सरेर आउने मानिसहरुको संख्याले गर्दा अन्य समूदायको पनि उपस्थिति बाक्लो हुँदै गएको छ ।

राष्ट्रपति सीको भ्रमणका क्रममा भएको सम्झौताले सुरुङमार्गमार्फत् त्यस क्षेत्रको विकासको बाटो मात्रै खोलिदिएन यसले समग्र मुलुकको विकास र चीन जोड्ने नाकाका रुपमा चित्रण गरिदियो ।

प्रस्तावित सुरुङमार्गको प्रवेशद्वार टोखा नगरपालिका वडा नम्बर १ स्थित झोर झरनाको माथिल्लो भागमा पर्छ । टोखाका खेतका फाँटको ठ्याक्कै भिरोलो पहाड छेडेर चीनबाट आउने विकासलाई फगत बाटो मात्रै होइन, भारतसँग अहिले भइरहेको आयातमाथिको परनिर्भरताको विकल्प पनि हो ।

टोखा-छहरे र बेत्रावती-स्याफ्रुबेसी गरी दुई खण्डमा निर्माण हुने भनिएको सुरुङमार्गले नेपाल चीन सिमाना रसुवागढीसम्म जोड्नेछ ।

२०७२ सालको भूकम्प र त्यसपछि भारतको ६ महिना लामो नाकाबन्दीको मारमा परेको नेपालले तत्कालिन समयमा १२ वटा ट्यांकरबाट चीनबाट तेल ल्याएर भारतसँगको परनिर्भरताको विकल्प भएको स्पष्ट संकेत गरेको थियो ।

कालान्तरमा त्यसले गति लिन सकेन र यत्तिकै खड्किएको थियो । भौगोलिक हिसाबले भारतसँग काम गर्न सजिलो भए पनि विश्वमान चित्रमा ठूलो अर्थतन्त्र बोकेको विशाल चीनसँग समेत सम्बन्ध गाँस्नु आवश्यकताका आधारमा यो सुरुङमार्ग महत्वपूर्ण कनेक्टिभिटीको माध्यम हो भन्न सकिन्छ ।

यसरी बढ्यो भाउ

सुरुङमार्गको समाचार सञ्चारमाध्यममा प्राकाशित/प्रसारित भएसँगै यस क्षेत्र आसपासका जग्गाको भाउमा हलचल भइसकेको छ ।

टोखाको मुख्यबाट हुँदै झोरसम्म जाने मुख्य सडक आसपासको जग्ग्गाको भाउ अहिले यत्ति नै भन्ने छैन । टोखाको मुख्य आम्दानीको स्रोत यहाँ उत्पादन हुने कृषिजन्य उत्पादन नै हो । पर्यटकीय दृष्टिले भौडेश्वर महादेवको मन्दिर, झोर झरना, सपनतीर्थ तथा चण्डेश्वरी मन्दिर छन् ।

धार्मिक र ऐतिहासिक रुपमा पनि टोखाको महत्व छ । जसमा धापासीमा रहेका सरस्वती, बसुन्धरा देवी, गोंगबुमा रहेका मनोहर तीर्थ, महेन्द्रेश्वर महादेव मन्दिर, बीच बिनायकमा विभिन्न चाडपर्वमा जात्रा समेत हुँदै आएको छ ।

पानीको स्रोतका लागि पनि टोखा धनी छ । जहाँ विष्णुमति नदी, सांग्ले, सरस्वती तथा गहना पोखरी, गणेश पोखरी सपनतीर्थ स्नान कुण्ड छन् ।

८ वटा सामूदायिक विद्यालय रहेको यस नगरपालिकामा ७३ वटा निजी विद्यालय छन् । एउटा स्वास्थ्य केन्द्र, ४ वटा हेल्थ पोस्ट तथा ६३ वटा सहकारी संस्था सञ्चालनमा समेत रहेको नगरपालिकाको भनाइ छ ।

यसबाहेक टोखामा टोखालाई समृद्ध बनाउनका लागि सुरुङमार्ग आइसकेको छ । जसले टोखाको विकासको महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।

एक स्थानीयले भने, ‘सुरुङमार्गको समाचारसँगै जग्गाको भाउ आज एउटा छ भने भोलि अर्को भाउ हुन्छ, सुरुङमार्गपछि यस क्षेत्रको भाउ अस्थिर छ ।’

अहिले सामान्य सडक भएको उक्त क्षेत्रमा सुरुङमार्ग बनेपछि बाटो विस्तार हुने भएकाले पहिले महंगो भाउ भएका बाटो जोडिएका जग्गाको भाउ यति नै भन्ने छैन ।

ती स्थानीयले भने, ‘पहिले आनाको २० देखि २५ लाख रुपैयाँ थियो, तर अहिले बाटो फराकिलो हुने भएपछि नयाँ मापदण्ड अनुसार काटेर लिनेले नलिने र बिक्री गर्नेले मापदण्ड अनुसार जग्गा काटेर नदिने अवस्था छ, यसले बाटोले छोएका जग्गाको खरिदबिक्री सुस्ताएको छ ।’

अहिले त्यहाँको सडक ११ मिटर चौडाइको छ । बाटो फराकिलो बनाउनका लागि बाटो छेउछाउको जग्गा अधिग्रहण गर्नुपर्ने हुन्छ । त्यसैले कारोबार सुस्त भएको टोखा नगरपालिकाका प्रवक्ता बच्चराज बस्यालले बताए ।

तर बाटोबाट अलिकति भित्रको जग्गाको मूल्य भने छोइनसक्नु छ । चण्डेश्वरीका स्थानीय बुद्धिराम श्रेष्ठका अनुसार २ वर्षअघि प्रतिआना ८ लाख रुपैयाँमा किनबेच भएको जग्गा अहिले झण्डै दोब्बरले बढेर प्रतिआना १५ लाख रुपैयाँ पुगेको छ ।

सुरुङमार्गले छुने जग्गाको भाउ अकासिए पनि भोलिका दिनमा बाटोले कहाँ कसरी छुने हो भन्ने अन्योलले जग्गाको भाउ बढाउने कि स्थिर राख्ने भन्ने अन्योल जग्गा व्यापारीलाई देखिएको छ । तर अलिक पर पर्ने टोखा-२ चण्डेश्वरी क्षेत्रको जग्गाको मूल्य निकै बढेको छ ।

उक्त क्षेत्रमा ३२ फिटको बाटोमा जग्गाको मूल्य प्रतिआना न्यूनतम २५ लाख रुपैयाँ छ । मूल सडकबाट २ कित्ता पछाडिको जग्गाको मूल्य प्रतिआना २० लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

मुख्य सडकबाट झण्डै ५ मिनेट पैदल यात्रामा पुग्ने ठाँउमा जग्गाको मूल्य प्रतिआना कम्तीमा १५ लाख रुपैयाँदेखि १८ लाख रुपैयाँसम्म छ । कतिपय ठाँउमा २० फिटको बाटोका लागि नक्सा तयार भएको तर अहिले बाटो नभएको ठाँउमा प्रतिआना जग्गाको मूल्य १६ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

उक्त क्षेत्रमा पानी र बिजुली बत्तिको सहजता रहे पनि ढल निकास भने छैन । तै पनि जग्गाको मूल्य बढी नैै छ । उक्त क्षेत्रमा ४ वर्ष अघि प्रतिआना ८ लाख रुपैयाँ थियो । अहिले यहाँको मूल्य दोब्बर छ ।

यो क्षेत्रमा जग्गाको मूल्य बढनु कुनै ठोस कारण छैन । अस्वभाविक रुपमा बढेको जग्गाको भाउबारे एक स्थानीयले भने, ‘यहाँको हावापानी, सुन्दरताका कारण नै हो, राम्रो बाटो हुने हो भने काठमाडौं सहरदेखि टाढा छैन, ठाँउ शान्त छ ।’

त्यसैले टोखा क्षेत्रमा बसोबास गर्नका लागि भीआइपीहरु पनि आकर्षित हुन थालेका छन् । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल ३३ आना जग्गामा घर बनाएर टोखामा बसोबार गर्दै आएका छन् भने कांग्रेस महामन्त्री शशांक कोइरालाको घर पनि टोखामै छ ।

प्रस्तावित सुरुङमार्गको प्रवेशद्वार काठमाडौं चक्रपथ अर्थात सामाखुसी चोकबाट साढे ७ किलोमिटर उत्तरमा छ । उक्त क्षेत्रमा स्थानीय उब्जाउयोग्य खेत, केही भिरालो जग्गा र केही पातलो बस्ती छ ।

छहरे-टोखा सुरुङमार्गको निर्माण हुने स्थल नुवाकोटतर्फ भने नुवाकोटको छहरेदेखि करिब ३ किमि दक्षिण-पूर्व घट्टेखोलामा छ । यो मार्ग निर्माणका लागि प्रतिकिलोमिटर २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म लाग्ने अनुमान गरिएको छ । यसको कुल लागत करिब १२/१३ अर्ब रुपैयाँ लाग्न सक्ने आंकलन गरिएको छ ।


क्लिकमान्डु