डिसेम्बरमा आयोजना सक्न निकै कठिन छः भैरहवा विमानस्थलका प्रमुख प्रवेश अधिकारी



सरकारले राष्ट्रिय गौरवको आयोजना अन्तर्गत भैरहवास्थित गौतम बुद्ध विमानस्थल आगामी डिसेम्बरसम्ममा सकेर सन् २०२० को मार्च महिनाबाट अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य लिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले आफूले यस आयोजनालाई प्राथमिकतामा राखेको भन्दै बारम्बार समयमा आयोजनाको काम सम्पन्न हुने बताउँदै आएका छन् । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी आयोजनाको काममा तीव्रता दिएको मन्त्री भट्टराईले दाबी गर्दै आएका छन् । यसै सन्दर्भमा क्लिकमाण्डू डटकमले भैरहवास्थित आयोजनास्थलमै पुगेर आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीसँग आयोजनाको प्रगतिबारे जानकारी लिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश ।

गौतम बुद्ध विमानस्थल निर्माणको काम डिसेम्बरमा सकिन्छ भनेर पर्यटनमन्त्रीले बारम्बार भनिरहनु भएको छ । के छ अहिलेको अवस्था ?

आजका दिनदेखि हामीसँग ३ महिनाको समय छ । यसबीचमा दशैं, तिहार जस्ता चाडपर्व पनि छन् । त्यसभन्दा पनि मुख्य कुरा हामीसँग काम गर्ने समय निकै कम छ ।

समयमै काम पूरा गर्नका लागि निर्धारित समयमा आयोजनाको काम सक्न निकै कठीन छ । अहिले ८० प्रतिशतभन्दा बढी काम भइसकेको छ । मुख्य २ वटा कुरा के भने पहिलो सबै उपकरणहरु आइसकेका छैनन् । केही भन्सारमा आइसकेका छन्, केही उपकरणहरु बाटोमा छन् भने केही उपकरणहरु उतै नै छन् ।

जुन सामानहरु पानी जहाजबाट आउँदैछन ती सामानहरु समयमा ल्याउनका लागि गाह्रो भइरहेको छ । त्यसबाहेक ती सामानहरु भन्सारमा आइसक्दा पनि समस्या सिर्जना भएको छ । जस्तो कि सामानहरु नयाँ भएकाले कति भन्सार लगाउने भन्ने निर्णय नहुँदा भनेकै समयमा भन्सारबाट सामानहरु आएका छैनन । त्यसबाहेक अहिले मौसमले पनि साथ दिएको छैन । लगातार पानी परिरहेकाले काम गर्न गाह्रो भएको छ ।

कस्ता समानहरु आउँन बाँकी छ ? र, सामानहरु कहाँबाट ल्याउनु पर्ने हो ?

कम्यूनिकेशन सम्बन्धि उपकरणहरु यूरोप र अमेरिका लगायतका देशबाट ल्याउनुपर्ने हो । त्यसबाहेक केही सामान्य सामानहरु छिमेकी मुलुकबाट आउँदैछन् । ब्यागेज ह्यान्डिलिङ सिस्टमको डीएचएस र लिफ्टको सामानहरु सिंगापुरबाट आउँछ । ती देशबाट आउने सामानहरु कुनै प्रडक्सनको चरणमै छन भने केही आउँदैछन् । त्यसबाहेक चीनबाट ल्याउनुपर्ने केही सामानहरु हामीले ल्याइसकेका छौं । जस्तै, सेन्ट्रल एसी र लाइटको सामानहरु चीनबाट ल्याएर अहिलेकाम भइरहेको छ । अहिले एसीको काम भइरहेको छ । र, धावनमार्गको लाइटको काम पनि अहिले भइरहेको छ ।

तीन महिनाको समयमा काम पूरा गर्न सकिने अवस्था कत्तिको छ ?

यो वर्ष असोजमा आएर मनसुन फेरि सक्रिय भएकाले काम गर्न गाह्रो भएको हो । अहिले साइटमा गाडी लैजान पनि गाह्रो भइरहेको छ । वर्षाका कारणले असारदेखि नै केही कामहरु रोकिँदै गएको थियो अहिले फेरि रोकिने अवस्था आयो । त्यसबाहेक उपकरणहरु आइपुग्न ढिला हुने हो भने काम तोकिएको समयमा पूरा हुन्छ भनेर भन्न सकिने अवस्था छैन । काम पूरा गर्नका लागि निकै चुनौतीपूर्ण छ ।

हामीलाई कँही कतै एक दिन पनि काममा ढिलाइ भयो भने समयमा काम सक्न गाह्रो हुन्छ । किन भने अहिले हामीसँग एक दिनको पनि अतिरिक्त समय छैन । अहिले उपकरणसँगका सम्बन्धित कामहरु नै बढी भएकाले मन्त्रालयका पदाधिकारीहरुसँग समवन्य भइरहेको छ । सिभिल निर्माणतर्फको काम डिर्पाचरतिरको छाना हाल्ने काम भइरहेको छ ।

र, कार पार्किङको काम पनि बाँकी छ । यसका लागि हामीले मनसुन अगाडि नै झाडी सफा गरेर काम सुरु गरेका थियौं तर त्यतिबेलामा सामग्री नहुँदा काम गर्न सकिएन । पछि मनसुन सुरु भएपछि काम गर्न सकिएन । अहिले त्यही काम बाँकी छ । अहिले कामलाई तीव्रता दिनका लागि दाङदेखि भरतपुरसम्मबाट सामग्रीहरु ल्याएर काम गरिरहेका छौं ।

प्रशासनिक काम गर्नसक्ने अवस्था कहिलेदेखि रहन्छ ?

अहिले धेरै काम सकिएको छ । दशैंसम्ममा हामीले कुर्सी राखेर प्रशासनिक काम सुरु गर्न सक्छौं । तर अन्य प्राविधिक काम अझै बाँकी छ । हाम्रो योजना यो वर्षको अन्तिममा काम सकेर सन् २०२० को पहिलो क्वाटरमा सेवा सुरु गर्ने लक्ष्य लिएका हौं ।

जग्गा मुअब्जामा अहिले कस्तो प्रगति भइरहेको छ ?

आजका दिनसम्ममा ३ अर्ब रुपैयाँ जतिको मुआब्जा बाँकी छ । हामीले एक वर्षको अवधिमा धेरैलाई जग्गाको मुअब्जा दिइसकेका छौं । अहिले लालपूर्जा नहुनेहरुको हकमा केही समय लम्बिएको हो । अहिले आजका दिनमा लालपूर्जा आउँछ भने तत्कालै मुआब्जा दिनका लागि हामीलाई समस्या छैन । त्यसबाहेक अझै हामीलाई अतिरिक्त जमिन अन्तर्गत ४० बिघा जति जमिन आवश्यक छ । त्यस क्षेत्रमा केही आवासीय जग्गा समेत पर्ने भएकाले अहिले त्यसमा समस्या छ । तर अधिकांश जग्गा प्राप्ती र मुअब्जाको समस्या समाधान भइसकेको छ ।


पुष्प दुलाल